जटिल अवस्थामा पनि निरन्तर सञ्‍चारकर्म

|

काठमाडौं : कोरोनाको महामारीमा देश अस्तव्यस्त बनेको छ। विभिन्‍न पेशा तथा व्यवसायमा लागेका व्यक्ति संक्रमित हुने क्रम जारी छ। कोरोनाका बिरामी उपचार गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सूचना संकलन गर्ने पत्रकारहरू कोरोना संक्रमणको जोखिममा रहेका छन्।

देशभर उल्लेख्य संख्यामा पत्रकारलाई पनि कोरोना देखिन थालेको छ। यस्तै, वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन म्यानेजरसहित ७ जना रेडियोकर्मी संक्रमित भएपछि रेडियोमा नै आइसोलेसनको व्यवस्था गरेर पत्रकारको सेवा गरिरहेको छ।

 रेडियोका अध्यक्ष गोविन्द देवकोटाले भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जना साथीहरुले परीक्षण गराउँदा ५ जना संक्रमित भेटिएको बताए।

'संक्रमित सबै साथीहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो बन्द हुने स्थितीमा पुग्यो', उनले भने, 'रेडियोका सबै साथी अस्पताल गएपछि रेडियो बन्द हुने अवस्था आयो। साथीहरुले आफूहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएकोले बरु रेडियोमा काम गर्दै रेडियोमा बस्ने बन्दोबस्त गरिदिन आग्रह गरेपछि हामीले रेडियोमा नै आइसोलेसन बनाउने निर्णय गर्यौ।'

रेडियोको मूल मर्म नै आफू जोखिममा रहेको अवस्थामा पनि संकटमा रहेको समुदायलाई सूचना दिन बन्द नगरेको उनले बताए। रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिर्पोट आएका ३ जना साथीहरु समेत होम क्‍वारेन्टाइनमा बसिरहेको उनले जानकारी दिए।

स्तरमा भयावह अवस्थामा फैलिएको छ। नागरिकलाई पलपलमा सूचनाको खाँचो छ। अप्ठ्यारो स्थितिमा संक्रमण भएका पाँच साथीहरुले रेडियोमै आइसोलेशन बनाएर रेडियो संचालन गर्ने निर्णयमा पुगेको देवकोटाले बताए।

लगातार सूचना सम्प्रेषण गरिरहेका साथीहरुलाई संक्रमित भएको सूचना पाएपछि देवकोटा आफैं पनि तनावमा छन्। तर, लक्षण नदेखिएका संक्रमित साथीहरुले आफूहरु रेडियोमा बसेर काम गर्न सक्छौ भन्‍ने विश्वास दिलाएको उनले उल्लेख गरे।

'रेडियोमा कार्यरत साथीहरु संक्रमित हुने क्रम बढ्दो अवस्थामा देखिएको छ। गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित हुनुभयो। उहाँ साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थ केयरमा भर्ना हुनुभयो । अस्पताल भर्ना भएको १२ दिनपछि उहाँ कोरोनामुक्त भएर साउन ३० घर फर्किनु भयो। उहाँ हाल घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छ', उनले भने।

साउन २८ गते रेडियोका अन्य ५ जनाले परीक्षण गराएका थिए। जसमा एकजना प्राविधिकलाई संक्रमण देखियो। तर उनको सम्पर्कमा रहेका अरु चारजनाको नेगेटिभ आयो। 

उक्त एफएम १५ जना कर्मचारी रहेका छन्। जसमध्ये अहिले ७ जना आइसोलेसनमा र ८ जना साथीहरु होम क्‍वारेन्टाइनमा बसेका छन्। बिरामी भएर आइसोलेसनमा भएर बसेकाले जटिल परिस्थितिको सामना गर्दै सूचना सम्प्रेषण गरिरहेका देवकोटाले बताए। 

'रेडियोमा आइसोलेसनमा रहनु भएका शिवनाथ यादवले समाचारका सबै बुलेटिनलाई निरन्तरता दिनु भएको छ। अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुखसहित दुईजना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा शिवनाथ हुनुहुन्छ',उनले भने, 'उहाँहरुले देखाउनु भएको साहस र हौसलाप्रति नमन गर्न चाहन्छु। संक्रमित भए पनि स्टेशन प्रमुखसहितले खेलेको भूमिकाप्रति नतमस्तक भएको छु।'

अहिले वीरगन्जको समुदायमा कोरोना आतंक छ। वीरगन्ज देशको भारततर्फ मुख्यद्वार हो। तर, सरकारले वीरगन्जलाई गम्भीर रुपमा नलिँदा देशभर भयावह स्थिति आउन थालेको देवकोटाले बताए।

'देशका विभिन्‍न क्षेत्रमा यही नाकाबाट खाद्यान्‍नदेखि अन्य सामाग्री पुग्ने गरेको छ। तर, सरकारले यसतर्फ ध्यान दिन नसक्दा देशमा नै गम्भीर संकट पर्न सक्छ', उनले भने।

वीरगन्जमा हाल दुईवटा कोभिड अस्पताल छन्। महानगरले संचालन गरेको गण्डक अस्पताल र प्रशासनले संचालन गरेको वीरगन्ज हेल्थ केयर। क्रमश: ७० र १२० आइसोलेसन कक्ष रहेका ती अस्पताल पूरै भरिएका छन्। समुदायमा कोरोना फैलिए पनि संघीय र प्रदेश सरकारले यसलाई गम्भीर रुपमा नलिँदा थप जटिलता उत्पन्‍न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.