बंगलादेशमा २ र नेपालमा ११ जना पढ्दै

|
नगरपालिकाको छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पत्र दिइँदै

मुगु : जिल्लाको एक मात्र नगरपालिकाका छायाँनाथ-रारा नगरपालिकाले दुई जना अति विपन्‍न दलित तथा जेहनदार विद्यार्थीलाई डाक्टर पढाउँदै आएको छ। ​

नगरपालिका भित्रका अति विपन्‍न दलित तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत दुईजनालाई बंगलादेशमा डाक्टर र ११ जनालाई नेपालमै अध्ययनमा सहयोग गर्दै आएको हो।

नगरपालिको आर्थिक सहयोगमा नगरपालिका भित्र बसोबास गर्ने अति विपन्‍न, पिछडिएका, एक महिला, दलित समुदायका जेहनदार १३ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत वर्षेनी सहयोग गदै आएको छ।

हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्रमा सुधार तथा पहुँचका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको नगर प्रमुख हरिजंग शाहीले बताए। ‘आर्थिक वर्ष २०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढाएका छौँ,’ शाहीले भने। 

उच्च शिक्षा पढ्न नसक्ने नगरपालिका भित्रका विपन्‍न, दलित, गरिव तथा जेहनदार, पछाडि पारिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गरिँदै आएको नगरपालिकाले जनाएको छ। छात्रवृत्ति कार्यक्रममा छनोट भएका दुई जना बंगलादेशमा डाक्टर पढे भने अन्यले नेपालमै इन्जिनियर, सिए लगायतका विषय अध्ययन गरे।

आर्थिक वर्ष २०७६/७७ मा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तता दिइएको थियो। नौ लाख रकम विनियोजन गरी १३ जनालाई छात्रवृत्ति सहयोग गरिएको नगर प्रमुख शाहीको भनाई छ।​उनीहरुको पढाई खर्चमा राहतस्वरुप  पहिलो वर्ष २०७४/७५ मा आठ लाख रुपैयाँ, २०७६/७७ मा १० प्रतिशत वृद्धि गरी १० लाख रुपैयाँ र २०७६/७७ मा नौ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। 

विनियोजित रकममध्ये  बङ्गलादेशमा एमबिबिएस डेन्टल डाक्टर तेस्रो बर्षमा पढ्दै आएका छायाँनाथ-रारा नगरपालिका वडा नं ५ का  देवीकृष्ण विकलाई ३ लाख, त्यस्तै बङ्गलादेशमा एमबिबिएस पाँचौ वर्ष पढ्दै आएका वडा नं १ की कामना मल्ललाई  एक लाख ५० हजार रुपैयाँ, सोही वडाकी समिक्षा मल्ललाई एक लाख रुपैयाँ प्रदान गरिएको छ। मल्ल भारतमा एमबीबीएस पढ्दै छिन्।  

सुर्खेत मध्यपश्चिम विश्व विद्यालयमा विई सिभिल इन्जिनियर चौथो बर्ष अध्ययनरत मनोज कुमार नेपाली लाइ ३० हजार ,बुढानिलकण्ठ प्राविधिक विद्यालय काठमाडौंमा अध्ययनरत रामकृष्ण कामीलाई ३० हजार गरी १३ जना  अति विपन्‍न दलित, जेहनदार विद्यार्थीलाई नौ लाख रकम सहयोग गरिएको नगरपालिकाले जनाएको छ।  

नगरपालिका भित्र रहेका विपन्‍न, गरिव, पिछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले यो कार्यक्रमलाई  निरन्तरता दिँदै जाने नगरप्रमुख शाहीले बताए। ​छात्रवृत्ति सहयोग ग्रहण गर्दै बङ्गलादेशमा एमबिबिएस पढ्दै आएका  देवीकृष्णका विकले  छात्रवृत्तिले आफ्नो डाक्टर बन्ने सपना पुरा गर्न सहयोग गरेको बताए।  

‘आर्थिक अवस्था नाजुक, खान लाउन नपुग्ने, ज्याला मजदुरी गर्दै आएको गरिव दलित, कम आय स्रोत भएका मान्छेको छोराले डाक्टर पढ्ने कल्पना  थिएन,’ उनी भन्छन्,‘ नगरपालिकाले सहयोग गरेर डाक्टर पढ्न पाउँदा खुसी लागेको छ।’ पढाई पुरा गरेर आफ्नै ठाउँमा सेवा गर्ने विकले बताए। विक जस्तै अन्य विद्यार्थीले पनि नगरपालिकाले यस्तो कार्यक्रमले फाइदा भएको बताएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.