प्रहरीले बजारबाट खेदेपछि गाउँ पस्‍न बाध्य

|

धनकुटा : उमेरले ६० नाघेका हिरालाल गन्धर्वले सारंगी रेट्दै हिडेको करिव ४७ वर्ष भएको छ। ४७ वर्ष लामो सारंगीको यात्रामा उनले यसअघि अहिले झैं जस्तो पीडा भोग्नु परेको थिएन। अहिले कोरोना भाइरसको संक्रमणको कारणले भएको लकडाउनले उनलाई निकै सकस परेको छ।

उनी अहिले धनकुटा नगरपालिका वडा नं. ५ बिहिबारे हटिया नजिकै परिवारसँगै बस्दै आएका छन्‌। ​विभिन्न हाटबजारहरुमा दैनिकजसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिरालाललाई कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनले समस्यामा पारेको हो। विभिन्न गाउँबस्ती र शहरबजारमा घुम्दै सारंगीको धुनमा जनजीवनका कथाव्यथा सुनाउने गन्धर्वहरूलाई हिँडडुल गर्नै नपाइने लकडाउन निकै महंगो बनेको छ।

गएको चैत्र ११ देखि अहिलेसम्म लकडाउन भोग्दा उनलाई दैनिक गुजारा चलाउन निकै गाह्रो परिसकेको छ‌। हिरालालको २ श्रीमती, १ छोरा, १ वुहारी र २ जना नातिनातिना गरी ७ जनाको परिवार रहेको छ। लकडाउनको पछिल्लो समय ७ जनाको परिवार धान्न निक्कै मुस्किल परेको उनको भनाई छ।

परिवारमा छोराबुहारी श्रीमती २ जना र नातिनातिना भएपनि सारंगी बजाएर गीत गाउन भने हिरालाललाई मात्र आउँछ। खाने मुख धेरै र कमाउने एक जना मात्र, त्यसमा पनि ५–६ महिना देखिको लकडाउनले गर्दा हातमुख जोड्न गाह्रो भएपछि बाध्य भएर सारंगी बोकेर उनी गाउँ पसेका छन्। शहरी क्षेत्रमा प्रहरीले सारंगी बजाउन नदिएपछि धनकुटा नगरपालिकाको ग्रामिण भेगमा सारंगी बजाउँदै दिनको ५ सय देखि १ हजार रुपैयाँसम्म संकलन गरेर परिवारको गुजारा चलाइरहेको उनी बताउँछन्‌।​​

‘लकडाउन नहुँदा दिनको ४–५ हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो, अहिले लकडाउनले गर्दा आम्दानी छैन, पेट पाल्नकै लागि भएपनि गाउँघर छिर्नु मेरो बाध्यता हो,’ उनी भन्छन, ‘बजारमा क्षेत्रमा त प्रहरीले टिकीखान दिँदैन, कतिपय स्थानमा गाउँघरका मानिसले पनि बचन लाउने गरेका छन्‌।’ रामनवमी मेला, मागी मेला, नयाँ वर्ष, हप्तै पटकको बिहीवारे हाट लगायतका विभिन्न चाडपर्वको बेला राम्रै आम्दानी हुने गरेको, तर अब कोरोनाले गर्दा परिवारको भविष्य नै अन्योलपूर्ण भएको हिरालाल बताउँछन्‌।

पुख्यौली घर भोजपुर जिल्लाको जरायोटार भए पनि उनी १३ वर्षको उमेरदेखि दाजु सुरेश गन्धर्वसँग सारंगी रेटेर गीत गाउन सिकेको बताउँछन्‌। उनी आफूलाई सारंगी रेटेर गीत गाउन जान्ने बनाउने गुरु र प्रेरणाको श्रोत उनै हाल धरानमा रहेका सुरेश गन्धर्व रहेको बताउँछन्‌।

​२०४६ सालमा पहिलो पटक भोजपुरबाट धनकुटा आएका उनी हिले नजिकैको उत्तरपानी बजारमा बसेर जीवन यापन गर्ने क्रममा ११ वर्षको छोरीको मृत्यु भए पछि बहकिएर धनकुटा–३ आत्मारामा आएर बसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.