|

दैलेख : दैलेको मुटु मानिने नारायण नगरपालिका बजार क्षेत्रका सडक वर्षेनी कालोपत्रे (पीच) गरिन्छ। अनि, पीच गरिएको यही सडक हरेक बर्खामा आहाल बन्छ। सवारी र मानिस आउजाउ गर्न सक्दैनन्‌। 

त्यसो त नगरपालिका स्थापनाकै सन्दर्भ पनि अचम्मको छ। २४ वर्षअघि अर्थात २०५३ सालमा भौतिक पूर्वाधार नै तयार नगरी यो क्षेत्रलाई नगरपालिका घोषणा गरिएको थियो। 

नगरपालिकाका अनुसार यहाँका ११ वटै वडामा कच्ची सडक पुगेको छ। यो कच्ची सडकको कूल लम्बाई १४२ किलोमिटर छ। तर अहिलेसम्म नगरपालिकाको मुख्य भागमा जम्माजम्मी १२ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ। त्यो पनि वर्षैपिच्छे कालोपत्रे हुन्छ, बर्खामा फेरि यो खण्ड पनि कच्ची सडक नै बनिसक्छ।

​​कालोपत्रे भएको छोटो खण्डको सडक नै मर्मत-सम्भार गर्न नसकिरहेको नगरपालिकाले सडक विकासका लोकप्रिय योजना पनि अघि सारेको छ। ८ मिटर फराकिलो हुनेगरी ३५ किलोमिटरको नगर चक्रपथ बनाउनेसम्मका योजना नगरपालिकासँग छ। 

सङ्घीय संरचनापछि नगरपालिकाले अहिलेसम्म यो सडक दुई पटक कालोपत्रे गरिसकेको छ। तर, सडकको हालको अवस्था हेर्दा जिल्ला आउने जो-कोहीले पनि हालैका वर्षमा यो सडक दुई पटक कालोपत्रे गरेको सुन्दा विश्वास गर्न सक्दैनन्‌। धार्मिक पर्यटन विकासको चर्चा हुँदै गर्दा यही अस्तव्यस्त सडकका कारण पर्यटक र तीर्थयात्रीले सास्ती खेप्नु परिरहेको छ।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी खन्नु नै यहाँको सडक नटिक्नुको मुख्य कारण हो। सडकमा अहिले गाडी नै चलाउन नसकिने अवस्था छ। डोजर चालकको इन्जिनियरिङ र राजनीतिक आस्थाका कारण जनप्रतिनिधिका घर-घरमा सडक पुर्‍याउने होडबाजीका कारण नागरिकले सास्ती भोग्नु परिरहेको छ। 

ग्रामीण सडकमा खर्चिएको करोडौं रकम हरेक वर्ष बर्खे भेलले बगाउने गरेको छ। सडक र अन्य भौतिक पूर्वाधार विकासको अवस्था देख्दा स्थानीय नागरिकहरू भन्छन्‌, 'स्थानीय सरकारका जनप्रतिनिधि हुनु र नहुनुको कुनै अर्थ भएन, पहिले जस्तो अवस्था थियो-अहिले पनि त्यस्तै छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.