|

बागलुङ : विद्यालय खुलेको भए बालबालिका बिहान–बेलुकी गृहकार्यमा व्यस्त हुन्थे। दिउँसो विद्यालय खुल्ने भएकोले त्यहीँ रमाउँथे। कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण बालबालिका अहिले घर–घरमा छन्। 

घरमा बस्दा पढाईमा समस्या भएको छ। कतिपयमा पढ्ने बानी हटिरहेको छ। तर, ग्रामीण क्षेत्रका बालबालिकाले भने काम पनि सिकेका छन्। घरभित्र र बाहिरको काममा अभिभावकलाई सघाउनु  र सिक्नु बालबालिकाको रोजाइमा परेको छ। 

‘समयमा खाना खुवाएर विद्यालय पठाएपछि मात्रै घरको काम गर्नुपर्थ्यो, अहिले घरको काममा पनि सघाएका छन्,’ ढोरपाटन नगरपालिका–९ की फुलमाया पुनले भनिन्, ‘आलु खन्ने, कोदो गोड्ने र तरकारी खोज्ने काममा पनि सघाएका छन्।’ विद्यालय नखुल्दा पढाई भने बिग्रेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। 

शहरी क्षेत्रमा अनलाइन कक्षा पनि चलेको छ। तर, भरपर्दो बिजुली र इन्टरनेट नपुगेको ग्रामीण क्षेत्रमा यसरी पढ्न संभव छैन। इन्टरनेट अभावले विद्यालय चलाउन समस्या परेको ज्ञानोदय माविका प्रअ यामबहादुर कायत बताउँछन्। केही टोलमा शिक्षक पुगेर बालबालिकालाई किताब वितरण गरेपछि गृहकार्य दिने र नबुझेको बुझाउने गरी पढाई भने भएको उनले बताए। नियमित पढाइजस्तो नभएको र भीड जम्मा गर्नु पनि खतरा भएकोले टोलमा पढाउने काम पनि नगरेको उनको भनाई छ।

किसानले लगाएको तरकारी बारीमा भने बालबालिकाले सघाएका छन्। तरकारी टिप्ने र ओसार्ने काममा साथ पाएको ढोरपाटन नगरपालिका–५ का सोमबहादुर पुनले बताए। ‘पशु चरन, घाँस दाउराजस्ता काम पनि सिकाउन सकिएको छ,’ पुनले भने, ‘लकडाउन बालबालिकालाई अभिभावकसँगै खेल्ने, रमाउने अवसर भने बनेको छ।’ 

पढाई बिग्रेकोले सधैँ विद्यालय बन्द हुने पक्षमा सहमत नभएपनि बेला-बेला लामो छुट्टी दिएर अभिभावकको काममा सघाउने व्यवस्था गर्नुपर्ने उनले बताए। यसरी अभिभावकको काममा सघाउने व्यवस्था गर्दा बालबालिकामा परिपक्वपन बढेको देखिएको उनले अनुभव गरेका छन्‌। सदरमुकाम र सहरी क्षेत्रका बालबालिका भने मोबाइल हेर्नेमा बढी अभ्यस्त भएका छन्। अभिभावकहरूले बालबालिकाको विद्यालय नखुलेकोले मोबाइलमा र टिभीमा मात्र एकोहोरो भैरहेको टिप्पणी गरेका छन्।

देशैभरी एउटै समस्या भएकाले पढाइको मूल्यांकन पनि उनीहरुले गर्ने क्रियाकलाप तथा प्रयोगात्मक अभ्यासबाट समेत गरिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्याय बताउँछन्। बालबालिकालाई कक्षा कोठामा पढाउने एउटा विधिबाहेक टोलमा शिक्षा दिने, अभिभावकको काम सिकाउने विधिले पनि फाइदा पुग्ने उनको भनाई छ। 

मूल्यांकनमा नैतिक शिक्षा, मेहनत गर्ने बानी र पढाइसमेत जोडियो भने बालबालिका सामाजिक बन्न सक्ने उनले जानकारी दिए। अंकमात्रै दिने विधिले बालबालिकाले काम र अभिभावकलाई साथ दिन बिर्सन थालेको अभिभावकहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.