|

दमक (झापा) : झापाको कमल गाउँपालिकामा ५ दिनदेखि निषेधाज्ञा लगाइएको छ। त्यसअघि गाउँपालिकाले पटक-पटक लकडाउन पनि गर्दै आएको हो। समुदायमा रहेका तथा ट्राभल हिष्ट्री नभएका वडा नं. ३ का एक वृद्धमा कोरोना संक्रमण देखिए पछि गाउँपालिकाले लकडाउन गरि कोरोना नियन्त्रणको प्रयास थाल्यो।

हाल जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा जारी गरेको छ। तर पनि कोरोनाका संक्रमित भेटिने क्रम घटेको छैन। बाहिर आएका वा क्वारेन्टाइनमा रहेकामा मात्र होइन, स्थानीय व्यक्तिहरुमा नै संक्रमण दर झनै बढेपछि अहिले सर्वसाधारण त्रसित भएका छन्‌। 

कमल गाउँपालिकासँगै रहेको दमक नगरपालिकामा पनि दुई सातायता लकडाउन छ। पहिलो पटक गरिएको भन्दा अहिलेको लकडाउन प्रभावकारी देखिएको छ। सर्वसाधारणको आउ–जाउ निकै घटेको छ। दमक उद्योग वाणिज्य संघले पनि उद्योग, व्यापार सञ्चालन नगर्न गरेको आह्वान व्यवसायीले मानेका छन्। तर पनि संक्रमण रोकिएको छैन। 

एक दिनमै १५ संक्रमित

दमकमा समुदाय स्तरमै कोरोना झन्‌ फैलिएको छ। बुधबारमात्र दमकमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो।

गत भदौ ५ गते पठाइएका स्वाबमध्ये उनीहरुमा संक्रमण देखिएको हो। होम क्वारेन्टाइनमा बसेका, शंकास्पद बिरामी, एम्बुलेन्स चालक, अग्रपंक्तिमा रहेका कर्मचारी र कन्ट्याक्ट ट्रेसिङको आधारमा जम्मा २०९ जना व्यक्तिको स्वाब जम्मा गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो। रिपोर्ट अनुसार ती मध्ये १५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरूमा होम क्वारेन्टाइनका २ जना, शंकास्पद बिरामी १ जना, स्थानीय औषधी व्यवसायी २ जना र अग्रपंक्तिमा रहेका कर्मचारी ४ जना रहेका छन्‌। यस्तै, लघुवित्त संस्थामा काम गर्ने २ जना, नेपाल दुरसञ्चार दमकका १ जना र स्थानीय समुदायका ६ जनामा पनि कोरोना पुष्टि भएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताएकी छन्। 

संक्रमण जित्ने पनि बढ्दैछन्

​पछिल्लो समय कोरोना संक्रमण तीव्र बन्दै गएको दमकमा संक्रमितहरु उपचारपछि निको भएर आउनेको संख्या समेत बढ्दैछन्। दमकका कुल संक्रमितमध्ये आधाभन्दा धेरै उपचार पछि निको भएका छन्।

बुधबार पनि दमकका ६ जनाले कोरोनालाई जितेर घर फर्किएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार पछिल्लो पटक जनपद प्रहरी तीन जनासहित ६ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन्। 

दमकमा हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ४१ पुगेको छ। पछिल्लो पटक थपिएका १५ सहित ८१ जना संक्रमितमध्ये ६ महिला र ३५ पुरुष गरी ४१ जना उपचार पछि निको भएर घर फर्किएका भट्टराईले बताए।

छोरा आउँदै गर्दा आमा संक्रमित

झापाकै दक्षिण सीमावर्ती गौरीगन्ज गाउँपालिकामा कोरोना संक्रमण जितेर घर आउँदै गरेका व्यक्तिकी आमालाई संक्रमण देखिएको छ। गौरीगन्ज गाउँपालिका वार्ड नं. ६ बस्ने ५४ वर्षीया ती महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।

गाउँपालिकाले पीसीआर परीक्षणका लागि पहिलो चरणमा समुदायस्तरमा ७४ जनाको स्वाब संकलन गरेको थियो। स्वाब संकलन गरिएकाहरूमध्ये एक महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य शाखा गौरीगाउँका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन्।

संक्रमित महिला यसअघि गौरीगन्ज गाउँपालिका वार्ड नं. ६ बस्ने ३० वर्षीय कोरोना संक्रमित पुरुषकी आमा हुन्। ती पुरुष कोरोना जितेर घर आउने क्रममा थिए।
गौरीगन्ज गाउँपालिकामा समेत समुदायमा कोरोना फैलिएपछि लकडाउन गरिएको छ। तर, लकडाउनकै बीचमा समेत संक्रमण दर बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.