यी हुन बागलुङका ८ संक्रमित

|

बागलुङ : बिहीबार बागलुङमा देखिएका आठ जना संक्रमितको गलत ठेगाना दिँदा समुदायमा सन्त्रास फैलिएको छ।

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकामा मात्रै आठ जना संक्रमित थपिएको उल्लेख गरेको थियो। तर, संक्रमितमध्ये दुई जना काठेखोला गाउँपालिका ठेगाना भएका व्यक्ति रहेको खुलेको छ। 

काठेखोला गाउँपालिकाको कार्यालयमा कार्यरत एक प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। निर्देशनालयको विज्ञप्तीमा भने उनको ठेगाना बागलुङ नगरपालिका वडा नं. ६ उल्लेख गरिएको छ।

उनी गत साउनमा व्यक्तिगत कामको शिलशिलामा काठमाडौं पुगी भदौ २ गते कार्यालय फर्किएका थिए। संक्रमण पुष्टि भएपछि गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत रहेका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए। 

त्यस्तै, काठेखोला गाउँपालिकाकै भीमसेन माविको क्वारेन्टाइनमा भारतबाट आएर बसेका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। उनको पनि निर्देशनालयले जारी गरेको विज्ञप्तीमा ठेगाना बागलुङ नगरपालिका वडा नं. १ उल्लेख गरिएको छ।

संक्रमितको ठेगाना फरक पर्दा समुदायमा त्रास फैलिने गरेको छ। बिहीबार बागलुङ नगरपालिका वडा नं. ६ मा एक जनामा संक्रमण देखिएको भन्ने खबर बाहिरिँदा वडा अध्यक्ष खिमराज सापकोटाले सामाजिक सञ्जालमार्फत कुनैपनि संक्रमित वडामा नरहेको स्पष्टिकरण नै दिएका छन्। 

त्यस्तै, बिहीबार नै बागलुङमा संक्रमण पुष्टि भएका एक जना प्रहरी जवान हुन्। उनी तालिमको लागि जिल्ला बाहिर गएर रामरेखास्थित क्वारेन्टाइनमा आएर बसेका थिए। प्रदेश सरकारअन्तर्गतको विपद् व्यवस्थापन गुल्ममा कार्यरत उनमा संक्रमण पुष्टि भएको हो। बागलुङ नगरपालिका–१० भकुण्डेका संक्रमित पुरुष केही दिन पहिला लमजुङबाट बागलुङ आएका नेपाली सेनामा कार्यरत जवानका साथी हुन्। उनमा संक्रमण पुष्टि भएपछि ती पुरुष सम्पर्कमा रहेको भन्दै जाँच गरिएको थियो।

सेनाका जवानकै परिवारका दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ। १ वर्षकी बालिका बागलुङ नगरपालिका–३ हाडेपाखाकी भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। उनकी आमामा केही दिन पहिला संक्रमण देखिएको थियो। 

बागलुङ नगरपालिका वडा नं. ८ का एक पुरुष भारतबाट आई बागलुङ बजारको एक होटलको क्वारेन्टाइनमा बसेका हुन्। उनी भारतिय सेनामा कार्यरत छन्। 

संक्रमितमध्ये बागलुङ नगरपालिका–३ गुठीका दुई दिदीबहिनी पनि हुन्। बुधबारसम्म बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ। तीमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.