ईसापूर्व दोस्रो वा तेस्रो शताब्दीको भएको अनुमान

|

काभ्रे : धुलिखेल नगरपालिकामा प्राचीन किरातकालीन मूर्ति फेला परेको छ। धुलिखेल नगरपालिका-३ स्थित अरनिको राजमार्गबाट करिब तीन सय मिटर तल बतासे डाँडाको चंखुबेंसी मार्गमा रहेको कालीदेवीथानमा सो मूर्ति फेला परेको हो। यो मूर्ति प्राचीन किरातकालीन भएको अनुमान गरिएको छ।

उक्त मूर्तिबारे सत्य तथ्य पत्ता लगाउन पुरातत्व विभागलाई जानकारी गराइसकेको र विभागले अनुसन्धान गरिसकेको धुलिखेल नगरपालिकाका उपमेयर विमला कुमारी चौलागाईं (शर्मा)ले थाहाखबरलाई जानकारी दिइन्। 

केही स्थानीय विज्ञले भने मूर्तिको उत्पति भएको ठाउँबाट चोरी भएर त्यहाँ पुगेको हुन सक्ने शंका पनि गरेका छन्। जसका लागि सम्बन्धित निकायले यसबारे उचित अनुसन्धान बढाउनु पर्ने उनीहरुको भनाइ छ। पुरातत्व विभागले उचित अनुसन्धान गरेपछि मात्र त्यस मूर्तिबारे तथ्यहरु बाहिर आउने नगरपालिकाले जनाएको छ। 

‘पुरातत्व विभागबाट टोली आएर हेरि जाँची सकेको हुनाले यसबारे विभागलाई नै विस्तृत जानकारी छ,’ उपमेयर हुमागाईले भनिन्, ‘विभागबाट टोली आएर हेरेर गए पनि अहिले मूर्ति नगरपालिकाको संरक्षणमा राखिएको छ।’ 

त्यस्तै विभागबाट पुष्टि भएपछि मूर्तिलाई धुलिखेलमा बन्‍ने सङ्ग्रहालयमा राख्‍ने वा अन्यत्र कतै राख्‍ने भन्‍ने बारे निर्णय हुने उनले बताइन्। एउटै ढुंगामा कुँदिएको त्यो मूर्ति  प्रस्ट किराती महिलास्वरूपको देखिएको उनले बताइन्। 

फेलापरेको मूर्तिको दायाँ हात काटिएको छ भने कम्मरमुनिको भाग छैन। मूर्तिको पछाडि पट्टिको भागमा पनि कलात्मक बुट्टा कोरिएका छन्। झट्ट हेर्दा विरूपाक्षको मूर्तिजस्तो देखिन्छ। 

पुरातत्वविदहरुका अनुसार यो मूर्ति किरात देवीको हो। यो एक किराती महिलासँग मिल्दोजुल्दो छ। यो मूर्ति किरातकालकै भएको पुरातत्वविद् बताउँछन्। उनीहरुका अनुसार यो मूर्ति करिब ३८ सय वर्ष पुरानो हो। 

काठमाडौँ उपत्यकामा भेटिने प्राचीन मूर्ति तथा विरूपाक्षको स्वरुपमा रहेको आर्यदेव-सूर्य मूर्तिसँगै सामिप्यता राख्‍ने यस मूर्तिको पनि गहनाहरू कतिपय समानता तथा आसनमा बसेर श्री फल-पद्म बीज बायाँ हातले बोकेको देखिने हुँदा प्राचीन किरातकालीन मूर्ति हुन सक्ने मूर्तिसम्बन्धी जानकारहरुको अनुमान छ। 

वरिष्ठ पुरातत्वविद् उद्धवप्रसाद आचार्यले त मूर्ति दुई हजार वर्ष भन्दा पुरानो हुनसक्ने दाबी नै गरे। उनले मूर्ति ईसापूर्व दोस्रो वा तेस्रो शताब्दीको हुन सक्ने अनुमान गरेका छन्। 

‘मुखाकृति, शारीरिक बनावट जस्ता विशेषताले यसको उत्पति आदिम काल कै देखाउँछ भने यो किरातकालीन मूर्तिसँग मिल्दो देखिन्छ,’ उनले भने, ‘पाटन दरबार क्षेत्रमा रहेका किरातकालीन मूर्ति र धुलिखेलमा भेटिएको मूर्तिमा केही मिल्दोजुल्दा छ। तर यसबारे थाहा पाउन वास्तविक मूर्ति भेटिएको ठाउँमा खोज तथा अनुसन्धान गरी त्यहाँबाट प्राप्त हुने अवशेषको ल्याव टेस्टबाट मात्रै पुष्टि गर्न सकिन्छ।’ 

शिल्पकलाको यो अनुपम अंश भेटिएसँगै स्थानीय पुरातत्वविद्हरू र सम्पदा संरक्षणवादीहरू उत्साहित बनेका छन्। 

त्यस्तै पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले नेपालमै पहिलो पटक जनजाति-मूलबासी अनुहारकी देवी अर्थात् मूर्ति भेटिएको दाबी नै गरे। उनले पनि मूर्ति किरातकालकै हुन सक्नेमा दुई मत नरहेको बताए। 

कसरी भेटियो मूर्ति

पनौती र बनेपा नगरपालिकाको बीच (धनेश्वर क्षेत्र)मा बाटो बनाउने क्रममा ढलानका लागि नदिजन्य सामग्री चाहिने भयो। त्यसका लागि रोशी खोलाको किनार पनौती भालेश्वर मन्दिर आसपास रहेको ढुंगा खानीबाट ढुङ्गा ढुवानी गरी धनेश्वरमा ल्याएर झार्ने क्रममा मूर्ति फेला परेको हो। 

मूर्ति फेला परेपछि गाडी चालकले फाल्न लागेका तर धुलिखेल-३ निवासी स्थानीय शेरबहादुर तामाङले उक्त मूर्तिलाई लगेर घरमा राखेका थिए। उनका अनुसार उक्त मूर्ति ४-५ वर्षदेखि घरमा त्यतिकै बेवारिस अवस्थामा थियो।

तर केही समय धुलिखेल-३ स्थित चंखुबेंसी मार्गमा बाटो बनाउने क्रममा सडक छेउमा रहेको कालीदेवीथानको मन्दिर भत्कियो। त्यसपछि उक्त मन्दिरमा कहाँबाट मूर्ति ल्याएर राख्‍ने भन्ने कुरा उठ्यो। सो क्रममा ती तामाङले आफूसँग भएको यस मूर्तिबारे कुरा गरे। उनले घरमा बेवास्ता गरी राखिएको हुँदा मन्दिरमा राख्‍न उपयुक्त भएको बताए। उनले मन्दिरमा मूर्ति ल्याएर राखे।

त्यसपछि मन्दिरमा दर्शन गर्ने, मूर्तिसँगै फोटो खिचेर फेसबुकमा राख्‍ने, टिकटकमा भिडियो बनाएर हाल्नेहरूबाट ‘एक कान दुई कान’ हुँदै सबैतिर हल्ला भयो। 

सबैतिर यो मूर्तिको चर्चा बढेपछि र सबैले ऐतिहासिक भनेपछि मात्र तामाङ यसबारे गम्भीर भए। ‘मलाई यसबारे केही थाहा थिएन, यो त एउटा मूर्ति आकारको ढुंगा मात्रै हो भन्‍ने लागेको थियो,’ उनले भने, ‘मूर्ति कालीदेवीथानमा राखेपछि सबैले पुरानो प्राचीनकालको मूर्ति भएको बताउन थाले।’तामाङका भान्जा तथा गाडी चालकले यो मूर्ति पहिलो पटक भेटेका थिए। 

मूर्ति नगरपालिकालाई हस्तान्तरण

हल्लाखल्ला बीच धुलिखेल नगरपालिकाले पनि यसबारे थाहा पायो। त्यसपछि नगरपालिकाले मूर्ति प्राचीन समयको हुन सक्ने भएकाले अध्ययन तथा अनुसन्धानसँगै संरक्षणका लागि नगरपालिकामा बुझाउन अनुरोध गर्‍यो। 

नगरपालिकाको अनुरोधसँगै वडा सदस्य हिरा लामालगायत स्थानीयले कालीदेवीथानबाट मूर्ति निकाली नगरपालिकालाई दिए। हाल नगरपालिकामै यो मूर्ति राखिएको छ। 

के भन्छन्, अनुसन्धान टोली प्रमुख ?

मूर्तिबारे प्रारम्भिक अध्ययन भने भएको छ। किरातकालमा भएका मूर्तिसँग यसको स्वरुप मिल्दोजुल्दो भएको अध्ययनले बताएको छ। 

साथै पुरातत्व विभागको सङ्ग्रहालयमा भएको किरातकलीन मूर्तिसँग यो धेरै मिल्ने भए पनि यसको समयबारे पुष्टि भइ नसकेको पुरातत्व विभागका शाखा अधिकृत तथा पुरातत्व विभाग भक्तपुर सङ्ग्रहालय प्रमुख मोहन लामा बताउँछन्। उनी यस मूर्तिको अध्ययन तथा अनुसन्धान टोली प्रमुखसमेत हुन्।

‘पुरातत्व विभागको प्रमुखले मलाई मूर्तिबारे अध्ययन तथा अनुसन्धान गर्न आदेश दिएपछि मेरो नेतृत्वको टोली काभ्रे पुगेर मूर्ति हेर्‍यौँ र सफा गर्‍यौँ, किरातकलीन नै हो भन्‍ने देखिन्छ,’ प्रमुख लामाले भने, ‘मूर्ति भेट्टाएका शेरबहादुर तामाङका अनुसार रोशीको ढुङ्गा खानी भएको क्षेत्रमा पनि पुगेर त्यस ठाउँको अवलोकन तथा अनुसन्धानका लागि पुगेका थियौँ। तर ढुंगा खानीले त्यस आसपासको भूगोलको वास्तविक स्वरुप नै परिवर्तन हुने गरी धेरै गहिरोसम्म खनिसकेको हुँदा मूर्ति कुन क्षेत्रमा थियो भन्‍ने अनुमान गर्न कठिन छ, यथेष्ट विवरण संकलन गर्न सकिरहेका छैनौँ।’

रोशी खोलाको किनारमा प्राचीन मन्दिर रहेकोले त्यस क्षेत्रबाट भेटिएको पनि हुन सक्ने लामाले बताए। ढुंगा खानी रोशीको शिर तथा फुल्चोकी डाँडाको फेदीमा पर्छ। 

अनुसन्धान टोली प्रमुख लामाले स्थलगत रुपमा गरेको प्रतिवेदन पुरातत्व विभागमा पेस गरिसकेको जानकारी दिए। ‘तुलनात्मक अनुसन्धान गर्दा राष्ट्रिय सङ्ग्रहालयमा रहेका अर्गनरेसनको मूर्तिसँग धैरै मिल्ने भएकाले प्रतिवेदनमा पहिलो-दोस्रो शताब्दीको हुन सक्ने भनेर उल्लेख गरेर विभागमा बुझाएका छौं,’ उनले बताए। 

विभागले प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेलाई प्राचीन समयको मूर्ति भेटिएको र त्यसको संरक्षण र व्यवस्थापनका लागि पुरातत्व विभागमा हस्तान्तरण लागि पत्राचारसमेत गरेको छ। 

जिल्ला प्रशासन कार्यालय काभ्रेले नगरपालिकासँग समन्वय गरेर पठाउने वा जिल्लाको ऐतिहासिक सम्पत्ति मानेर नगरपालिकाले राख्‍ने बारे जे सल्लाह हुन्छ त्यसमै भर पर्ने लामाले बताए। 

पुरातत्व विभागले यस मूर्तिलाई आठौँ शताब्दीको पनि हुनसक्ने अनुमान पनि गरेको छ। मूर्तिबारे थप अध्ययन भइरहेको छ। 

पाँचखालमा भेटिएको थियो स्तम्भ र सिक्का 

जिल्लाको पाँचखाल नगरपालिका-१३ स्थित तेमालबेँसीस्थित सुनकोसी नदी तथा झिकु खोलाको दोभानमा प्राचीन किरातकालीन अवशेष (स्तम्भ) फेला परेको थियो।

पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य सचिव श्रीकृष्ण धिमालले २०७६ असोज दोस्रो साता भारतीय पुरातत्व विभागका दुईजना खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले खोज अनुसन्धानका क्रममा भेटाएको उक्त स्तम्भ किरातकालीन रहेको बताए। 

पछिल्लो समय काभ्रेका विभिन्‍न क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन्। जसमध्ये धुलिखेलमा पनि प्राचीन किरातकालीन अनुमान गरिएको मूर्ति भेटिएको हो। 

पाँचखालको किरातकालीन स्तम्भ काभ्रेमा पहिलोपटक भेटिएको स्तम्भ मानिन्छ। विज्ञहरुले स्तम्भमा किरात धर्मावलम्बीले पूजा गर्दा बनाउने चित्रको आकृतिका साथै धार्मिक ग्रन्थहरूमा उल्लेखित विवरण भेटिएको बताएका छन्। सुनकोसी नदी उत्पतिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोसी नदी र झिकुखोलाको दोभान तेमालबेँसी नै रहेको बताइन्छ। 

त्यस्तै यसअघि पाँचखाल-७ स्थित श्रीराम पाटीमा लिच्छविकालीन संरचनाको भग्नावशेष तथा सामग्री, पाँचखाल-६ स्थित महाँकाल मन्दिरमा सबैभन्दा सानो सिक्का (जाभा) भेटिएको थियो। 

पुरातत्व विभागको एक टोलीले करिब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा पर्खालको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुंगाको खल, शिवलिंग, २४ इञ्चको ढुंगेगारो लगाएको कोठा, ढुंगेधारा भेटिएको थियो। 

रानीपोखरी भनिएको स्थानमा जमीनमुनि माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको थियो। त्यसैगरी भेटिएको चाँदीको मुद्रा विश्वकै सानो मानिएको छ।

पाँचखाल नगरपालिका-६ स्थित सम्पदा अध्ययनका क्रममा भेटिएको सिक्का पनि नेपालकै पुरानो सिक्का मानिएको छ। उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ। अर्को पाटामा सिंहको चित्र रहेको समितिका सदस्य सचिव धिमालले जानकारी दिए। 

खोज अनुसन्धानका क्रममा पाँचखाल क्षेत्रमा प्राचीनकालका भग्नावशेष एवं सामग्री भेटिन थालेपछि समिति तथा पाँचखालका बासिन्दाले  वि.सं. ५६० (संवत् ४२५) मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नगरपालिका-९ पलान्चोकमा स्थापित पलान्चोक भगवती मन्दिरस्थित  ऐतिहासिक क्षेत्रको अनुसन्धान गरी संरक्षणको माग गर्दै पुरातत्व विभागमा निवेदन दिएको छ। 

इतिहास हेर्दा

काठमाडौँ उपत्यकापछि बनेपा, धुलिखेल, पाँचखाल लगायतका ठाउँमा विभिन्‍न शासनकालमा केही वर्ष राज्य गरेको प्रमाण भेटिन्छ। 

त्यसपछि वल्लो किरात सुनुवारहरूले भोटेकोशीदेखि दुधकोशीसम्म राज्य गरेको थिए। विज्ञहरुको भनाई अनुसार सन् १७६८ पछि पृथ्वीनारायण शाहले सुनुवारको कोइच राजसँग लडाई नगरी मुखिया पद दिने सम्झौता गरेपछि वल्लो किरात सबै नेपाल राज्यमा समावेस गरिएको थियो।

माझ किरात राईहरूको राज्य थियो भने पल्लो किरात  लिम्बुहरुले राज्य गरेको थिए। लिम्बुहरुसँग भने धेरै समयसम्म लडाईं भएपछि लिम्बुहरुको सेन र पृथ्वीनारायण शाह र सेन दुवै पक्षका धेरै क्षति भएपछि लिम्बुहरुसँग सुब्बा पद सम्झौता गरि पल्लो किरात लिम्बुवान पनि नेपाल राज्यसँग जोडिन पुगेको इतिहास भेटिन्छ। 

नेपालको प्राचीन तथा ऐतिहासिक र राजनीतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किरात कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.