डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरामा निषेधाज्ञा जारी छ। जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजार क्षेत्र सुनसान देखिएको छ।
भदौ ४ गते बिहीबारदेखि लागू गरी भदौ १२ गते राति १२ बजेसम्म जिल्लालाई प्रशासनले निषेधाज्ञा जारी गरेकाे हो। मोटरसाइकल सवारमा जोर–बिजोर प्रणाली लागू गरिएको छ।
निषेधाज्ञा केही दिन फेरि थप गरिने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। ‘छिमेकी जिल्लाहरुमा संक्रमण दर बढिरहेको छ। हाम्रो जिल्लामा पनि बढ्दैछ।’ उनले भने,‘भोलिको बैठकले जारी निषेधाज्ञालाई थप गर्छ।’
स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ३१६ छ। तीमध्ये ३०५ संक्रमित डिस्चार्ज भएका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या ११ छ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा ३–३ जना तथा नवदुर्गा गाउँपालिका र अजयमेरुमा २–२ र आलिताल गाउँपालिकामा १ गरी ११ जना सक्रिय संक्रमित छन्। उनीहरुको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।