नगर प्रमुख जिसी भन्छन्, अब फरक मोडलबाट जान्छौँ

|

पर्वत : कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायमा बढेपछि भदौ ३ गतेबाट निषेधाज्ञा लागू गरिएको कास्की जिल्लामा शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा सकिँदै छ। अहिलेसम्मको अवस्थामा निषेधाज्ञाले काम गरेको भए पनि अब भने निषेधाज्ञा थप नगर्ने सल्लाह भएको छ।

पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले निषेधाज्ञा नै समस्याको समाधान नभएकोले निषेधाज्ञा सकिए पनि थप नगर्ने भनी सल्लाह भएको बताए। ‘अब थप नगर्ने भन्ने कुरा भएको छ।

बरु फरक मोडलबाट जाने हो हाम्रो योजना छ। निषेधाज्ञा थप्दैमा संक्रमणबाट जोगिन्छ भन्ने पनि होइन।’ उनले भने, ‘जहाँ संक्रमितहरू भेटिन्छन्, जहाँ समुदायमा संक्रमण रहेको पाइन्छ, जहाँ मानिसहरू बढी हेलमेल र भिडभाड गर्छन् त्यो ठाउँलाई विशेष नियन्त्रणमा राखेर जानुपर्छ भन्ने हो।’ ग्यारेज तथा मोटरसाइकल वर्कसप, बैङ्क, सहकारी लगायतका स्थानमा सङ्क्रमितहरू भेटिएको भए पनि अहिले भने ती ठाउँमा शून्य सङ्क्रमण रहेकोले अब निषेधाज्ञालाई नै उत्तम विकल्प बनाउन नहुने उनको भनाइ छ।

मुख्‍यमन्त्री निषेधाज्ञाको विपक्षमा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कास्कीमा निषेधाज्ञा लागू गर्नुपूर्व विभिन्न कार्यक्रमहरूमा लकडाउन गर्नै नहुने बताउँदै आएका थिए। तर, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पक्षमा बोलेपछि कास्कीमा निषेधाज्ञा लागू भएको थियो। यही कारण भदौ २ गतेबाट लागू हुने भनिएको निषेधाज्ञा मुख्यमन्त्रीका कारण १ दिन ढिला गरी ३ गतेबाट लागू भएको हो।

यही प्रसङ्गमा मुख्यमन्त्रीका कारण निषेधाज्ञा नथप्ने पक्षमा पुग्नुभएको हो? भन्ने प्रश्नको जवाफमा नगर प्रमुख जिसीले मुख्यमन्त्रीका कारण नभई जनताको आवश्यकताको आधारमा निषेधाज्ञा थप नगर्ने सल्लाह भएको बताए। ‘मुख्यमन्त्रीका कारण अब नथप्ने भन्ने सल्लाह भएको होइन। हामीले अवस्थाअनुसार काम गर्ने हो।’ उनले भने, ‘निषेधाज्ञा लगाएको बेलामा पनि त पोखरामा सङ्क्रमितहरू बढेकै थिए, मान्छेले खान नपाउने अवस्था भइसक्यो।’

सार्वजनिक यातायात २० गतेसम्म सञ्चालन नगर्ने र ट्याक्सीलाई जोर र बिजोर प्रणालीको आधारमा चल्न दिने कि भन्ने पक्षमा आफूहरू पुगेको मेयर जिसीको भनाई छ। विद्यालय, धार्मिक स्थल, रेस्टुरेन्ट, अन्तर जिल्ला यात्रा लगायतको विषयमा भने सङ्घीय सरकारले गरेको निर्णयअनुसार नै नियम लागू हुने उनले जानकारी दिए।

पोखरामा निषेधाज्ञा लागू भएकोमा मुख्यमन्त्री गुरुङ त असन्तुष्ट थिए नै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पनि यसको विरोध गरेका थिए। कास्कीमा दोस्रोपटक ५ दिनका लागि निषेधाज्ञा थप भएको दिन भदौ ७ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेर मन्त्री गुरुङले लकडाउन गर्नेहरू मूर्ख भएको बताएका थिए। उनले स्ट्याटसमा ‘हाँगामा बसेर रूखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बच्न खोज्नेहरू एकै हुन्।’ भनी लेखेका थिए।

गण्डकीमा दैनिक ३८ करोड घाटाको अनुमान

उनका अनुसार गण्डकी प्रदेशमा दैनिक ८० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। एक दिन सबै उद्योग धन्दा, कलकारखाना, व्यापार, व्यवसाय तथा विकास निर्माणका काम ठप्प हुँदा अर्थात् आम हडताल या विगतको लकडाउन वा अहिलेको कर्फ्यु (निषेधाज्ञा) लागू हुँदा करिब ३८ करोड रुपैयाँ घाटा लाग्छ। यस हिसाबले सात दिन बन्द हुँदा २ अर्ब ६६ करोड रुपैयाँ घाटा लाग्छ।

आर्थिक विकासको हिसाबले यो आँकडा अत्यन्त भयावह अवस्था भएको र यस्तो अवस्था लामो समय रहिरहने हो भने सानो आकारको राष्ट्रिय अर्थतन्त्रले धेरै समय धान्न नसक्ने भनी उनले आफ्नो लेखमा उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.