न ट्राभल हिस्ट्री न त पर्यटकसँगको हिमचिम

|

पर्वत : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार जारी गरेको पहिलो विज्ञप्तिमा कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएका पोखरा महानगरपालिका १७ पार्दीका दुई जना पुरुषहरू नेपाल प्रहरीमा कार्यरत सिपाही हुन्। पर्यटक प्रहरीको रूपमा काम गर्दै आएका उनीहरू २८ र २९ वर्ष उमेरका छन्।

कुनै ‘ट्राभल हिस्ट्री’ नभएका उनीहरू लकडाउन लागू भएपछि पर्यटकहरूसँग पनि हिमचिममा छैनन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार लकडाउन लागू भएयता पोखरामा पर्यटकहरूको चहलपहल छैन। जसका कारण उनीहरूमा पर्यटकको माध्यमबाट कोरोना सरेको होइन।

‘उनीहरूमा सङ्क्रमण रहेको पुष्टि भएपछि बिहीबार साँझ नै आइसोलेसनमा राखिसकिएको छ। तर उनीहरूको कुनै ट्राभल हिस्ट्री नै छैन।’ उनले भने, ‘पर्यटक प्रहरी भएकोले पर्यटकको माध्यमबाट सरेको अनुमान गरौँ भने लकडाउनयता पोखरामा पर्यटकहरूका लागि खटिनुपरेको छैन।’ उनीहरूमा सङ्क्रमण कसरी पुग्यो भन्ने बारेमा खोजी भइरहेको र उनीहरूको सम्पर्कमा आएका अन्य साथीहरूको पनि ट्रेसिङको काम पनि चलिरहेको डिएसपी हमालले जानकारी दिए।

उनीहरूमा सङ्क्रमण भएको हुन सक्ने एउटा आधार भने उनीहरू बसे नजिकै रहेको सशस्त्र प्रहरीको गण हुन सक्ने कास्की प्रहरीको अनुमान छ। बीचबाट सडक गएको एकापट्टिको भागमा सशस्त्र प्रहरीको गण छ भने अर्कोतर्फ प्रहरीहरू रहने गरेका थिए।

केही दिनअघि मात्रै सशस्त्र प्रहरीको गणमा रहेका १६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार जारी राखिएको छ। पर्यटकसँग घुलमिल नभएका र ‘ट्राभल हिस्ट्री’ नभएका कारण सशस्त्र प्रहरीकै माध्यमबाट सरेको हुनसक्ने अनुमान गरिएको छ।

‘एकापट्टि सशस्त्र प्रहरी र अर्कोपट्टि ती नेपाल प्रहरी रहेका थिए। उनीहरूको बीमा परिचय थियो होला, सङ्क्रमित सशस्त्र प्रहरीसँग चिया खाजा खाए होलान्। तिनैको माध्यमबाट पनि सरेको हुन सक्छ,’ डिएसपी हमालले भने, ‘यो बेला भनेको आफैंले आफैलाई पनि ममा कोरोना छ कि भनेर शङ्का मान्ने बेला हो। नजिकको साथी नै भए पनि सामाजिक दूरी कायम गर्नुपर्छ। तर प्रहरी गणहरूमा सधैँ दूरी कायम राख्न असम्भव हुन्छ। धेरै सङ्ख्यामा कसरी मिलाउने ?’

ती दुई जना प्रहरीमा सङ्क्रमण रहेको शुक्रबार बिहानको विज्ञप्तिमा औपचारिक रूपमा जानकारी गराइएको भए पनि सङ्क्रमण रहेको बारेमा बिहीबार नै थाहा भएको थियो। सोहीअनुसार बिहीबार साँझ नै आइसोलेसनमा लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.