|

मनाङ : गरे के हुँदैन भनेझैं एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्धिमा लैजान सक्छ। यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ। जसको प्रतिफल मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ।

हिउँ परेपछि मनाङकाे जनजीवन कष्टकर हुन्छ। आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेलाई भने घरभित्रै थन्क्याउँछ, बेसी झर्न बाध्य बनाउँछ। ३५१९ मिटरको उचाइमा रहेको याे जिल्ला सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ।

गोराहरु उकालो लागे,पर्यटन फस्टायो। तर प्रकृतिले दिएको चिसोलाई ‘क्यास’ गर्नबाट मनाङ चुकिरह्यो। छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ,आलु,फापरजस्ता अन्नबालीमा निर्भर रह्यो।

सर्पमा बिख र मान्छेमा इख चाहिन्छ भन्छन्। १ राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैं मनाङमा केही गर्न चाहे। उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे। करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुस्साहस नै थियो।

परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत बनाउन उनीहरुले एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरे। ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइयो। २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार रुपैयाँ भाडा तिर्ने गरी लिजमा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका संघीय सांसद रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सियो।

मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो। बिरुवाहरु इटाली र सर्वियाबाट ल्याइएको थियो। ‘हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले खेती भइरहेको छ, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भने,‘अहिलेसम्म ३० करोड लगानी भएको छ, हाम्रो ८ जनाकै परिवार यही फार्ममा संलग्न छौँ।’

उनका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले २ करोड २४ लाख अनुदान दिएको थियो। प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ। बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए।

अहिले स्याउ हरियै छ। करिब साढे २ महिनापछि स्याउ पाक्छ, फार्मका रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन्। केही बिरुवा यही वर्ष थपिएको छ। ‘यो पटक ६ सय टन उत्पादन होला’, मूल्यचाहिँ गुणस्तरअनुसार लिने हो’, व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भने, ‘बजारको समस्या छैन। कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ।’ स्याउ त सबै ठाउँमा फल्छ।

विश्व बजारमा निर्यातको सपना पालेका युवराजहरुले २ हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई उनीहरुले ‘हिमालयन फ्रेस’ को नाममा ब्राण्डिङ गरिरहेका छन्। मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनीहरुले ठानेका छन्। 

यो स्याउ फार्म एसियाकै ठूलो हो। फार्ममा प्रत्यक्ष २६-२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २२-२४ जनाले पनि काम पाउने युवराज बताउँछन्। फार्म संचालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ।

गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुमनुब्रीमा सुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो। फार्म दक्षिण एसियाकै ठूलो र नमुना हो।मनाङ एग्रोले अर्को वर्ष २१ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.