कैलालीमा निषेधाज्ञा १९ गतेसम्म जारी राख्न सिफारिस
कैलालीमा निषेधाज्ञा १९ गतेसम्म जारी राख्न सिफारिस
डडेल्धुरा : डडेल्धुरामा जारी निषेधाज्ञा आगामी भदौ १९ गतेसम्म थपिएको छ। जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को शुक्रबारको बैठकले उक्त निणय गरेको हो।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।
जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल शुक्रबारदेखि भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने छन्। पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरू बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन्। जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको छ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र विन्दुको रुपमा रहेको डडेल्धुरा जिल्ला भएर आउने जाने ढुवानी सवारीसाधनहरूलाई बिना काम जिल्ला सदरमुकाममा पार्किङ गर्न नपाउने र सदरमुकाममा मालसामान लोड/अनलोड समेत बिहान ८ बजेभित्र गराइ गन्तव्य स्थलतर्फ जानुपर्ने डिसिसिएमसीले निर्णय गरेको छ।
निर्णयको उल्लंघन हुने क्रियाकलाप कसैबाट भए गरेमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ३१६ छ। तीमध्ये ३०५ संक्रमित डिस्चार्ज भएका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या ११ छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा ३–३ जना तथा नवदुर्गा गाउँपालिका र अजयमेरुमा २–२ र आलिताल गाउँपालिकामा १ गरी ११ जना सक्रिय संक्रमित छन्।
डोटीमा पनि निषेधाज्ञा
डोटीमा पनि निषेधाज्ञा जारी गरिने भएको छ। भाद्र १४ गते आइतबार राती १२ बजेदेखि २१ गते आइतबार रातीसम्म लागू हुने गरी निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ।
जिल्लाभित्र कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचार सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए।
कैलालीमा निषेधाज्ञा १९ गतेसम्म जारी राख्न सिफारिस
जिल्ला सुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ। यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो। उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले भोलि आदेश जारी गर्नेछन्।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो। लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन। औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाइएको छ भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।
अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ।
अहिले कैलालीमा कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाइने छैन् भने भीडभाड र जुलुस गर्न पनि पाइदैन भने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाइएको छ।
शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लर, स्विमिङ पुल, जिम खाना, पुस्तकालय, सङ्ग्रहालय, सञ्चालन गर्न रोक लगाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।