दलित भएकै कारण बुवाको किरियाबाट वञ्चित

|

इलाम : नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १ दशक बिते पनि अझै छुवाछुतको घटनामा कमी आउन सकेको छैन। जनआन्दोलनको सफलतासँगै अन्तरिम व्यवस्थापिका संसदले नेपाललाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको थियो। 

०६३ जेठ २१ गते भएको घोषणाले विषेश गरी जातीय विभेद तथा छुवाछुतको मारमा परेका लाखौँ दलित समुदायलाई ठूलो राहत पुग्ने आशा गरिएको थियो। तर एक दशक बिते पनि अझै पनि छुवाछुत र जातीय विभेद अवस्था उही छ। कीर्तिमानी खेलाडीदेखि न्यायिक समितिका संयोजकको परिवारका सदस्य नै जातीय विभेदको मारमा परेका छन्। 

एथ्लेटिककी कीर्तिमानी गर्भवती खेलाडीमाथि निर्घात कुटपिट

गत भदौ ८ गते झापाको चारालीमा एथ्लेटिक खेलाडी चन्द्रकला लाम्गादे र उनका श्रीमान सुमन खातीमाथि कुटपिट भयो। जातीय विभेद सहितको गाली गर्दै पूर्वनेपाली सेनाका दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुबाट लखेटिएका राजन दर्जीलाई बचाउने क्रममा चारालीमा चिया पसल सञ्चालन गर्दै आएकी चन्द्रकलामाथी ‘तँ पनि तल्लो जातकी रैछेस्’ भन्दै आक्रमण गरे। 

श्रेष्ठ दम्पतीले बेल्ट र लाती चन्द्रकलामाथि बजारे। नेपाल प्रहरीकी खेलाडीसमेत रहेकी चन्द्रकला ७ महिनाको गर्भवती थिइन्। स्थानीय मनकामना अस्पतालमा सामान्य उपचारपछि उनको बिएन्डसी अस्पताल झापामा उपचार भइरहेको छ। अहिले कुटपिट गर्ने श्रेष्ठ दम्पती प्रहरी नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता आधारमा उनीहरु पक्राउ परेका हुन्। कोरोना महामारीका कारण चैतमा देशव्यापी लकडाउन भएसँगै चन्द्रकला झापा आएकी थिइन्। नौ महिनाअघि विवाह गरेकी चन्द्रकलाको श्रीमान सुमन लकडाउनका कारण बेरोजगार बनेपछि झापामा राजन दर्जीकै जग्गामा रहेको घुम्तीमा चिया पसल सुरु गरेका थिए।  गर्भवती चन्द्रकला श्रीमानलाई सहयोग पु¥याउँदै आएकी थिइन्।

सोमबार राति पनि गुम्तीमै खाना खाइरहेकी उनीमाथि आक्रमण भएको थियो। सुमनलाई खेदाउँदै पुगेको श्रेष्ठ दम्पतीलाई चन्द्रकलाले ‘जातीय भेदभावका कुरा गर्दै विभेद नगर्नुस्’ भनेर रोक्न खोज्दा ‘तँ कोरोना बोकेर आएकी छेस्’ भन्दै उनीमाथि पनि बेल्टले निर्घात कुटपिट गरेको चन्द्रकलाका श्रीमान सुमनले बताए। श्रीमतीलाई बचाउने क्रममा सुमनमाथि समेत कुटपिट भएको थियो। उनको जिउमा निलडाम छ। ‘श्रीमतीलाई बचाउने क्रममा ममाथि समेत कुटपिट भयो। पछि श्रीमतीलाई हस्पिटल लगेपछि दुई जिउकी नभएको भए एकै घुस्सीमा मारिदिन्थें भन्ने सम्मको धम्की दिए,’ सुमनले भने। 

गर्भवती श्रीमतीलाई अहिले हस्पिटलबाटै डिस्चार्ज गर्न आर्थिक अभाव भएको सुमनले बताए। ‘आज डिस्चार्ज दिने भनेको थियो। ५० हजारको बिल आएको छ। निकाल्न लागि ८÷१० हजार अभाव छ। उहाँहरुबाट उपचार खर्च दिने भन्ने केही कुरा आएको छैन। केही दिन बेड रेस्ट गर्नुभनेको छ डाक्टरले।’ 

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा सहभागी चन्द्रकलाले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा आफैँले यसअघि बनाएको रेकर्ड तोड्दै कीर्तिमान राख्दै २÷२ वटा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। आठौँ राष्ट्रिय खेलकुदमा आफ्नै रेकर्डलाई सुधार्दै सटपुटमा १२ दशमलव ०४ मिटरको नयाँ कीर्तिमानी बनाएकी थइिन्। ज्याभलिन थ्रोमा यसअघि आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै ४४ दशमलव ०४ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन्।

न्यायिक समितिकी संयोजककै भतिजिमाथि विभेद

दलित समुदायका युवकसँग बिहे गरेकै कारण माई नगरपालिका–२ की यामकला आचार्य विकले आफ्ना बाबुको अन्तिम काजक्रिया सामूहिक रुपमा गर्न पाइनन्। गत साउन २० गते मृत्य भएका बाबुको अन्तिम पटक मुख हेर्न जाँदा ३ सय मिटर नजिकै रहेको माइतीघरमा विभेद भोग्नुप¥यो। विवाहपछि पहिलोपटक माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए । स्थानीय लक्ष्मी दंगालले ‘तँलाई बाँचुञ्जेल चाहिएन, अहिले के हेर्न आइस् ? आँगन नटेक् भन्दै झपारिन्।’ माइती घरमा मात्र होइन, बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग विवाह गरेकै कारण यामकलाले विभेदको सिकार बन्नुपर्यो। 

उनले आफ्नै सहोदर भाइ टीकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका–३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई गत भदौ ५ गते जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन अनुसार कारबाहीको लागि प्रहरीमा मुद्दा दर्ता गरिन्। अहिले जातीय विभेद गर्ने तीनै जना जिल्ला अदातलबाट म्याद थप गरेर प्रहरी अनुसन्धानमा छन्। 

अन्तिम संस्कामा सहभागी हुन नदिने पक्राउ परेपछि यामकला भनिन्, ‘मलाई काजकिरिया गर्नबाट समेत वञ्चित गरियो। उनीहरुलाई पक्राउ गरेपछि न्याय पाउँछु कि जस्तो लागेको छ। मेरो भावी पुस्ताले यस्तो विभेद र अपमान भोग्नु नपरोस् भनेर नै न्याय माग्न प्रहरी प्रशासनसम्म पुगेकी हुँ।’ 

विवाहपछि माइती पक्षबाट पटक–पटक विभेद र अपमान सहनुपरेको यामकला बताउँछिन्। ‘माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहारसमेत हेर्न दिएनन्। २१औं शताब्दीको युगमा पनि दलितसँग विवाह गरेकै कारण मैले जे सहनु र भोग्नुपर्यो त्यो भावी पुस्ताले नपरोस्।’

माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्य यामकलाको सहोदर काकी हुन्। त्यसैले उनको काकीसँग पनि दुखेसो छ। ‘काकी त कम्युनिस्ट पार्टीको नेता। उहाँ दलितका पक्षमा बोल्दै हिँडेको सुनेको थिएँ। तर, उहाँले ममाथि भएको विभेदमा केही बोल्नुभएन,’ यामकलाले भनिन्। उनीहरूको परिवार वर्षौंअघि नै छुट्टाछुट्टै बसिरहेका छन्। उपप्रमुखको घर र यामकलाको माइतीघरबीचको दूरी ५ सय मिटर मात्रै छ। 

दलितसँग बिहे गरेकै कारण बाबुको सामूहिक किरिया गर्न पाएनन्

ताप्लेजुङमा गत साउनमा जातीय विभेदको घटना भयो। दलित महिलासँग विवाह गरेपछि ताप्लेजुङको सिदिंवा गाउँपालिका–४ का साब्लाखु साल्बाटे टोलका राजिन्द्र बुढाक्षत्रीलाई काजक्रिया गर्नबाट काका र दाजुभाइले विभेद गरे। २०६० सालमा फूलमाया विश्वकर्मासँग विवाह गरेका राजिन्द्रलाई गत साउन १८ गते बाबु कुलप्रसादको बैतर्नीका लागि जाँदा माइलो दाजु प्रेम बुढाक्षत्रीले ‘तिमीहरु र तिमीहरुको परिवार छोराछोरीसमेत लिई घर जानू, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ तिमीहरु अछुत कामी जातका मान्छे हौ। तिमीहरुलाई हाम्रो बुढाक्षत्री कुल परिवारबाट हामीले बहिष्कार गरेका छौं,’ भन्दै विभेद गरे। 

सोही दिन कुलबहादुरको मृत्यु भएपछि सामूहिक काजक्रियाका लागि गएका राजिन्द्रलाई आफ्नै काका रामबहादुर, बडाबाका छोरा खड्कबहादुर र बुद्धिप्रसाद बुढाथोकीले विभेद गरे। ‘तिमीहरु कामी जातीका मान्छे हौ। बुढाक्षेत्री वंशसंग बसेर बाबु तथा ससुराको काजक्रिया तथा दाहसंस्कार गर्न पाउँदैनौ भन्दै हेलाँ गरे। मलाई दलितकी छोरीसँग बिहे गरेकै कारण २०६० सालबाट दलित बनाए,’ राजिन्द्रले भने, ‘तिमीहरुले बुढाक्षत्री थर लेख्न पाउँदैनौ, अब उप्रान्त तिमीहरु कामी जातको सेन्चुरी थर लेख्नुपर्छ भन्दै बाबुको लाससम्म छुन दिएनन्। १३ दिनको काम आफ्नै घरमा गरे। त्यसपछि विभेदबारे चुप लाग्नु हुन्न भनेर प्रहरीमा उजुरी दिएको हुँ।’ 

राजिन्द्रले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा भदौ १० गते सिदिङ्वा गाउँपालिका–४ घर भई हाल इटहरी बस्ने ४६ वर्षीय प्रेम बुढाक्षत्री, स्थानीय ७२ वर्षीय रामबहादुर बुढाथोकी, ५१ वर्षीय बुद्धिप्रसाद बुढाथोकी र ५३ वर्षीय  खड्क बुढाथोकीलाई तत्काल पक्राउ गरी जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ को दफा ७ बमोजिम हदैसम्म सजाय गरी दफा ९ बमोजिम क्षतिपुर्ति समेत दिलाउन माग गरेका छन्। 

कसुदारमध्ये बुद्धिप्रसाद सिदिङवा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत सामाजिक पद धारण गरेका व्यक्ति भएकाले ऐनअनुसार थप सजाय हुनुपर्ने राजिन्द्रले माग गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी मोहन पोखरेलले राजिन्द्रको जाहेरीलाई २५ नम्बरमा दर्ता गरेका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालयबाट वारेन्ट जारी भएर कसुदारहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक महेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए। ‘हामीले पक्राउ गर्न वारेन्ट जारी गरेका छौं। कुनै हालतमा पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौं।’ उपरीक्षक श्रेष्ठले भने। 

के भन्छन् दलित अधिकारकर्मी ?

दलित अधिकारकर्मी नवराज शंकरले आजसम्म दलित समुदायले विभेद र अपमान सहिदिएका कारण सामाजिक सद्भाव कायम भएको बताउँछन्। तर अब सद्भाव खल्बलिने नाममा विभेद र अपमान सहेर बस्नु नहुने उनको धारणा छ। ‘मान्छे एक पटक मर्दछ, तर दलित समुदाय विभेद, छुवाछूत र अपमान सहेर दिनहुँ जिउँदै मरिरहेको छ।’ उनले भने ‘समाजमा विभेद ज्यूँका त्यूँ छ, फरक यति हो कि हिजो भएका र आज हुने विभेदका स्वरुपमा भिन्नता आएका छन्।’ 

जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीले विभेद अन्त्यका लागि सबैभन्दा बढी राज्यका निकायहरु जिम्मेवार बन्नुपर्ने बताउँछिन्। ‘जातीय विभेदका घटनाहरुमा राज्यका निकायहरुको भूमिका प्रभावकारी नभएकै कारण पींडितहरुले न्याय पाउन सकस छ।’ उनले भनिन्, ‘दलित समुदायलाई आर्थिक, शैक्षिक, राजनीतिकलगायत सबै हिसाबले माथि नउठाइकन समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान समेत सफल हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.