|

पर्वत : पर्वतको जलजला गाउँपालिका २ मल्लाजका सूर्य कार्कीलाई साढे २ वर्षअघि विदेश जाने रहर थियो। उनी वैदेशिक रोजगारीमा जाने तयारी गर्दै थिए। त्यही बेलामा ९ ओटा वडा रहेको गाउँपालिकाको प्रत्येक वडाका युवाले संयुक्त बैठकको आयोजना गरे। त्यसमा समाजसेवी राजुप्रसाद आचार्यले नेतृत्व गरे। 

गाउँका हरेक परिवारले आम्दानी गर्न सक्ने विभिन्न कामबारे छलफल चल्दा सबैको साझा आवाज बन्यो– ‘कृषिमा केही गरौँ’। युवाको भेला पटक पटक हुँदै गयो र अन्ततः तरकारी उत्पादनमा राम्रो रहेको जलजला गाउँपालिकाभरिका कृषकले एकै ठाउँमा काम गर्ने गरी ‘जलजला कृषक समूह’ निर्माण गर्ने निष्कर्ष निस्क्यो। 

गाउँमा उद्योग वा कलकारखाना राख्न सम्भव नहुने ठानेपछि युवाको मन कृषिमा मोडियो। त्यही निष्कर्षको परिणाम अहिले जलजला गाउँपालिका–४ मोहनचोकमा निर्माण भएको जलजला कृषि बजारले पालिकाका धेरै कृषकलाई आम्दानी गर्न सक्ने त बनाएकै छ; त्यसबाहेक बजारमा लगानी गर्न म्याग्दी र बागलुङका कृषकलाई पनि लोभ्याएको छ।

‘अहिले गाउँमै आनन्द लाग्न थाल्यो, विदेश गएको भए यहाँको यो प्रगति मेरो भागमा पर्ने थिएन होला,’ कार्की भन्छन्, ‘तरकारी लगाउने, भैँसी पाल्ने काम भएको छ। जे गर्न सक्यो, त्यसैमा आम्दानी छ। विदेश गएको भए अहिले पछुतो हुने रहेछ।’ 

गाउँपालिका–६ धाइरिङका कृषक भीमप्रसाद आचार्य पनि आफ्ना हरेक उत्पादनले बजार पाउँदा आर्थिक क्रियाकलाप सञ्चालन गर्न सजिलो भएको बताउँछन्। समूहले अफूजस्तै पालिकाका धेरै कृषकलाई आर्थिक रूपमा बलियो बनाउन लागेको भन्दै उनले खुसी व्यक्त गरे। 

समूहका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार अहिलेसम्म ८० लाख रुपैयाँ लगानी भएको कृषि बजारमा गाउँपालिकाका हरेक कृषकले आफूलाई बेच्न मन लागेको कृषि उत्पादन बजारमा लगेर जम्मा गर्छन्। जम्मा भएका तरकारी वा अन्य उत्पादनको बजार मूल्य बुझेपछि समूहले खरिद गरेका तरकारी सदरमुकाम कुस्मा बजारसहित बागलुङ, म्याग्दी र मुस्ताङसम्म पुग्छ। आफूले बेचेको सामानको मूल्य कृषकले तत्कालै प्राप्त गरिहाल्छन्। 

‘कृषि फार्म मोडलमा हामीले बजार निर्माण गरेका छौँ। गाउँपालिकाभरिका कृषकले यहाँ आफ्नो उत्पादन जम्मा गर्नुहुन्छ। बजार खोजेर त्यसको निर्यात गर्ने काम हामीले गरेका छौँ,’ आचार्यले भने, ‘विदेश जान लागेका युवा पनि समूहमै बसेर विदेश जानुभएन, जसले जति फलाउँछ; उसले त्यति नै पैसा पाउँछ। यसो गर्दा पालिकाका हरेक घरमा केही न केही त बेचौँ भन्ने सोच आएको छ।’ 

बजारबाट मौसमी तथा बेमौसमी विभिन्न प्रकारका तरकारीसहित माछामासु, अण्डा, दूध, अन्नबाली पनि निर्यात हुने गरेको छ। तरकारी संकलन गर्ने बजारका लागि भवन निर्माण, २ ओटा जिप खरिद लगायतका काम गर्दा अहिलेसम्म ८० लाख लगानी भइसकेको बजारमा सहभागी हुनका लागि समूहकै नामबाट सेयर आवेदन खुलाइएको छ। 

प्रतिव्यक्ति १० हजारका दरले करिब ५ हजार सेयर सदस्य पु¥याउने लक्ष्य राखिएको र त्यसो गर्न सके धेरै व्यक्तिले संस्थालाई माया गर्दा सबैको आर्थिक प्रगति हुने समूहको लक्ष्य छ। अध्यक्ष आचार्यले आफूहरूले निर्माण गरेको बजारमा सेयर हाल्नका लागि म्याग्दी र बागलुङका लगानीकर्ता र कृषकले पनि इच्छा गरेको बताए।
कृषकहरूलाई कृषिमा प्रेरित गर्न र उनीहरूको उत्पादनलाई बजारीकरण गर्न ९ ओटै वडामा उपसमूह बनाइएको छ। ती उपसमूहले मुख्य समूहसँग सहकार्य गरेर कृषकले उत्पादन गरेका बस्तु लिएर मुख्य बजारमा पठाउने काम गरिरहेका छन्। 

छलफल र निर्माण कार्यले लामो समय लिँदा केही समय अगाडिबाट मात्र कृषि उत्पादन बाहिरको बजारमा पठाउन थालेको समूहले अहिले एक दिनमै १ लाख जतिको कारोबार गरिरहेको छ। 

पालिकाभरको उत्पादन एकै ठाउँमा जम्मा हुने र त्यो सामग्री २ ओटा जिपमार्फत पटक पटक गर्दै बजार पठाउँदा कारोबार बढेको हो। कोरोनाको महामारी सकिएपछि यो क्षेत्रकै ठूलो कृषि उत्पादनको कारोबार गर्ने संस्थाका रूपमा समूहलाई विकास गर्ने कृषकहरूकै योजना छ। वडा नं. १ बाँसखर्कका अगुवा कृषक समबहादुर तिलिजाले कोरोनाका कारण बजार नपाउन सक्ने डरले हरेक कृषकले थोरै मात्रामा उत्पादन गरेकोले अहिलेको अवस्था अन्त्य हुँदासाथ एक दिनमा लाखौँको कारोबार समूहले गर्ने बताए। 

कृषिसम्बन्धी नयाँ तरिका खोजी

जग्गा ‘लिज’ मा लिएर सुरु गरेको फार्मलाई कृषिसम्बन्धी नयाँ तरिका खोजी गर्ने केन्द्रको रूपमा विकास गर्ने समूहको लक्ष्य छ। धेरै जग्गामा समूहले तरकारीहरू लगाउने र त्यसमा बजारमा आएसम्मका आधुनिक प्रविधिहरूको प्रयोग गर्ने समूहका सदस्य रणबहादुर केसीले बताए। विभिन्न ठाउँमा रहेका कृषि बजार र उत्पादन केन्द्रहरूको भ्रमण गरेर आवश्यक सीपसहित काम सुरु गरिएकाले आफूहरूको मिहिनेत सुरक्षित हुनेमा ढुक्क रहेको उनको भनाइ छ।

कृषि सङ्कलन बजारको भवन निर्माणका लागि प्रदेशबाट २७ लाख ६६ हजार रुपैयाँ अनुदानका रूपमा आएको थियो भने जलजला गाउँपालिकाको कृषि र भेटेरिनरी शाखाबाट १५ लाख रुपैयाँ आएको थियो। 

त्यसमा केही ऋणमा र केही सेयरमा गरेर ४० लाख रुपैयाँ कृषकहरूले थपेका छन्। कृषि उपज सङ्कलन र निर्यातका लागि समूहले ६ जनालाई रोजगारी पनि दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.