|

धनगढी : भदौ ३ गते राति अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलामा आएको बाढीले १७ जनालाई बेपत्ता बनायो।

मध्यराति आएको बाढीले सैनी बजारलाई बगरमा परिणत गर्यो। करोडौंको धनजनको क्षति गरेको छ। बाढीले बेपत्ता बनाएका मध्ये ७ जनाको मात्रै शव भेटिएको छ, १० जना अझै बेपत्ता छन्। अछाम यतिबेला शोकमा डुबेको छ।  

गृहमन्त्री रामबहादुर थापा सहितको जम्बो टोली भदौ ५ गते अछामको बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुगेको थियो। उक्त अनुगमन टोलीमा सरकारका उद्योगमन्त्री लेखराज भट्ट, नेकपा नेता भिम रावल लगायत विशिष्ट व्यक्ति सहभागी थिए। 

हेलिकप्टरमा आएको अनुगमन टोलीले पीडितको घाउमा मलम लगाउनु भन्दा पनि तमासा देखाएर फर्किएको भन्दै चर्को आलोचना भयो। उक्त अनुगमन टोली फर्किएको दोस्रो दिन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा रामारोशनको बाढी प्रभावित क्षेत्रमा क्षतिको स्थलगत निरीक्षणमा निस्किए। 

मन्त्री बोहराले बाढीका कारण हिँडडुल नै गर्न नसकिने अवस्थामा पनि जोखिमको यात्रा गरेर प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको, संघीय सरकारबाट आएको टोलीको जस्तो भिआइपी शैली नदेखाएको र वास्तविक जनताको पीडा बुझ्न निस्किएको भन्दै सामाजिक सञ्जालमा निकै समर्थन र चर्चा पाए। 

मन्त्री बोहरा झण्डै ६ दिनको अनुगमन सकेर शनिबार बिहान मात्रै धनगढी पुगेका छन्। यसै सन्दर्भमा मन्त्री बोहोरासँग थाहाखबरले लिएको अन्तर्वार्ताको सम्पादित अंश 

बाढी प्रभावित क्षेत्र पुगेर फर्किनुभएको छ, रामारोशनको अवस्था के के पाउनुभयो ? 

विशेषगरी रामारोशनमा अहिले प्रकृतिले ठूलो क्षति पारेको छ। १७ जनाको ज्यानसमेत गएको छ। गाउँहरूमा भूक्षय भइरहेको र जमिन चिराचिरा परेका छन्। त्यहाँ माथी रहेको रामारोशन ताल फुटेर बाढी आएको देखिन्छ र त्यही बाढीले गर्दा सैनिबजार ध्वस्त पारेको छ। 

कुनै घर टहराहरु केही पनि बाँकी छैनन्। त्यहाँ अहिले बगरमात्रै छ। तत्काल राहत, उद्धार र सडकमार्गको लागि हामीले पहल गर्नुपर्ने देखिएको छ। रामारोशनमा आठ वटा जलविद्युत् बगाएको छ, रामारोशन गाउँपालिकाभित्र चार वटा झोलुंगे पुल बगाएको छ।

कैलाश खोलाको पानीले रोपाइँ भएका सबै खेतीयोग्य जमिन बगरमा परिणत गरेको अवस्था छ। खाद्यान्नको तत्काल मात्रै नभएर दीर्घकालीन समस्या आउन सक्ने देखिन्छ छ। 

तत्काल बाढीपीडितलाई प्रदेश सरकारबाट राहत प्याकेजका कार्यक्रम के छ ? 

पहिलो कुरा त म आफैं प्रभावित क्षेत्रमा जाँदा मैले सात टन खाद्यान्न लिएर गएको थिएँ। बल्ल बाटो खुलेर गाउँपालिकाको कार्यालयसम्म पुगेको छ। यो मेरो व्यक्तिगत तर्फबाट दिएको राहत हो। झण्डै तीन लाख ६२ हजार बराबर खाद्यान्न लिएर वितरण गरेको छु। 

बाढीले बगाएको बगरदेखि सैनी बजारसम्म बाटो निमार्णका लागि मैले २० लाख रुपैयाँ तत्कालै मान्छे हिँड्न अल्पकालीन र सन्दर्भकालीन गोरेटो बाटो निमार्णका लागि गाउँपालिकालाई भनेको छु। खाद्यान्न अभाव हुन नदिन काम गरिरहेका छौं। 

प्रदेश सरकारको तर्फबाट बाढीबाट ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै तत्काल राहत व्यवस्थापनका लागि अछाम, बाजुरा, बझाङ, दार्चुला र कैलालीलगायत अन्य जिल्लामा जहाँ राहतको आवश्यकता छ, त्यस्ता जिल्लामा व्यवस्थापनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरी पठाउने निर्णय गरेको छ। घाइते सबैको उपचार खर्च प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। विज्ञ टोली पठाएर क्षति विवरण संकलन गर्न निर्देशन भएको छ। 

प्रदेश सरकारको दैवी प्रकोपबाट दिने राहत पीडितले समयमा पाउँदैनन्, सधैं किन ढिला हुन्छ?

यस वर्ष तत्काल वितरणका लागि हामीले प्रक्रिया बढाइरहेका छौं। कोरोना र बाढीपहिरोले आवतजावतमा समस्या छ। राहत वितरणका लागि हामी तयार छौं। पीडितले छिट्टै राहत पाउँछन्। 

सुदूरपश्चिमका अन्य जिल्लामा पनि ठूलो क्षति भएको छ, प्रदेश सरकारको मन्त्रीले आफ्नो ठाउँमा मात्रै गएको भन्ने गुनासो र यो त अन्याय भएन र ? 

म त्यहाँ मन्त्रीको हैसियतले गएको हैन, म सासंदको हिसाबले रामारोशन गएको हुँ, मेरो निर्वाचन क्षेत्र हो। अरु ठाउँमा पनि माननीयज्युहरु जानुभएको छ। सबै सांसद मन्त्रीज्युहरु लागिरहेका छन्। एउटै मन्त्रीले प्रदेशका ८८ वटै स्थानीय तह जान सक्के क्षमता रहँदैन। सम्बन्धित निर्वाचन क्षेत्रका माननीयहरु गइरहेका छन्। 

संघीय सरकारको टोलीको निकै आलोचना भयो ? तपाईं खाली खुट्टा अवलोकनमा गएको भनेर निकै चर्चा छ, सचेत भएर जानुभएको ?

मेरो आफ्नो निर्वाचन क्षेत्र भएको कारण मैले धेरै दिन बस्नुपर्ने बाध्यता थियो। त्यसैले म गाडीमै गएको हो। झण्डै ६ दिन लगाएर पीडितको घरदैलोमा पुगेर फर्केको छु। संघीय सरकारको टोलीको सवालमा अन्य कुनै विकल्प नभएको खण्डका हेलिकप्टर प्रयोग गरिएको हो। 

धान खेतमा कार्यक्रम गरिएको भन्ने सवालमा बढाइ चढाइ गरेर लेखिएको हुन सक्छ। अहिलेको अवस्थामा हामीले त्यसतर्फ भन्दा पनि राहत, उद्धार र विपत व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। 

पैदलै अनुगमनमा जानुभयो, यात्रा कतिको जोखिमपूर्ण रह्यो ?

यात्रा त निकै कठिन र जोखिमपूर्ण रह्यो, त्यसै पनि रामारोशन गाउँपालिकाको भूगोलमाथि हिमाल छ, तल पहाड र पूरै भूगोल पहाडै पहाड छ। एकदम जोखिम मोलेर गएँ। 

आगामी दिनमा विपत् व्यवस्थापन र पूर्व तयारीका लागि प्रदेश सरकारका योजना के छन् ? 

जहाँ बस्ती बसाउनुपर्ने हो, त्यहाँ पहिला भूगर्वविद् सहित टोली जानुपर्ने हुन्छ। जहाँ भीरपाखाहरु छन्, त्यहाँ बस्ती नबसाउन सरकारले नीतिगत निणर्य गर्नुपर्ने देखिन्छ। 

खोलाको छेउछाउमा बस्ने, राजमार्गको छेउछाउमा बस्ने त्यस्ता टहरा पसललाई समयमै सर्तक पार्नुपर्छ। विपतबाट बच्न पूर्वतयारी  गर्नुपर्छ।  स्थानीय तहहरुले जथाभावी सडक खनिरहेका छन्। यसले पनि जोखिम बढेको छ। यसको रोकथाम जरुरी छ। 

मन्त्री बोहराको यात्रा क्रममा खिचिएका केही तस्बिर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.