|

बेनीको बजार, जता माया उतै छ नजर

किरेमिरे जाले रुमाल...

चर्चित यो गीतमा भनिए झैं जता नजर लगाएपनि सुन्दर देखिने बेनीबजार यतिखेर आन्तरिक तथा बाह्य पर्यटकहरूको अभावमा सुनसान बनेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण नियन्त्रण गर्न गत चैतदेखि लकडाउन गरिएसँगै बेनीबजारमा मानवीय चहलपहल निकै कम भएको छ। यहाँ यतिखेर न पर्यटक देखिन्छन्, न त बेनीबासीले नै ढुक्क भएर साविकमा झैं दैनन्दिन चलाउन सकिरहेका छन्‌। 

प्राकृतिक सुन्दरता हेर्दा बेनीले पर्यटकहरूलाई साँच्चै सम्मोहित पार्छ। ऐतिहासिक द‌ृष्ट्रिले समेत यो क्षेत्र निकै महत्वपूर्ण छ। नेपाल एकीकरणका क्रममा गोर्खा राज्यले कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएन।

वि.सं. १८४३ सालपछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालिन समयमा भोट-तिब्बत-मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो। त्यो नाकामा पछि हाट बजार हुँदै अहिलेको बेनी बजार विस्तार भएको हो।

बेनी क्षेत्रको प्राकृतिक स्वरूप अत्यन्त सुन्दर छ। पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दीको प्रवेशद्वार नै बेनी बजार हो। कोरोना महामारीअघि यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल हुने गर्थ्यो।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्ध गल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीय स्थलहरू रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार अहिले पर्यटक विहीन हुँदा नरमाइलो लाग्न थालेको म्याग्दीका पत्रकार प्रताप बनियाँले बताए।

कोरोना त्रासका कारण पर्यटकहरू आउन सक्ने वातावरण नभएपछि अहिले म्याग्दीका पर्यटकीय स्थानहरू सुनसान छन्। बेनी बजारमा मायालुहरूको जोडी देखिन छोडेको छ। व्यापार व्यवसाय ठप्प छ। पर्यटकीय स्थलहरू पर्यटकको प्रतिक्षामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.