|

बागलुङ : जघन्य अपराधका कैयौं घटनाको पर्दा उघार्ने नेपाल प्रहरी बागलुङमा ६ वर्षअघि भएको हत्याको घटनाका विषयमा भने अझै प्रश्नको सामना गरिरहेको छ। जिल्लामा हरेक पटक परिवर्तन हुने प्रहरी प्रमुखले पहिलो प्रश्नको रुपमा सामना गर्ने रुपा गौतम हत्याकाण्डको अनुसन्धान के हुन्छ? अपराधी फेला पर्ला र? भन्ने हो।

तर, यो बीचमा १० जना प्रहरी प्रमुख फेरिए, तत्कालीन जिल्लाको प्रमुख हुन पाउने प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतदेखि अहिलेका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीसम्म १० जनाले घटनाको मिसिल खोले तर दोषी पत्ता लागेर पर्दा उघ्रिने कुरा भने गर्भमै छ।

यो बीचमा प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले अनुसन्धान गरे। उनी बागलुङमै रहँदा प्रहरी उपरीक्षकमा बढुवा भए। त्यसयता प्रहरी उपरीक्षकहरू राजेन्द्र ढकाल, चन्द्रकुवेर खापुङ, हिमालय प्रकाश श्रेष्ठ, दीपक रेग्मी, कृष्णहरि शर्मा पोखरेल र नवराज भट्टले घटना अनुसन्धानको नेतृत्व त गरे तर चुरोकुरो बाहिर आएन। 

जिल्लामा धरै सरोकार राख्नेहरुले तिजको समयमा रुपाको वीभत्स हत्या सम्झिन्छन्। प्रहरी र प्रशासनको ध्यानाकर्षण गराउँछन्। तर, कुन शक्तिको बलमा घटनाको तथ्य लुकेको छ भन्नेमा सबै बेखबर छन्।

प्रहरीको एउटै जवाफ, अनुसन्धान हुँदै छ

२०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै रुपा गौतमको हत्या भएको थियो। प्रहरी अनुसन्धान अहिले सुस्ताएको छ। ६ वर्षको बीचमा यो घटनाको विषयमा कैयौं प्रहरी अधिकृतहरुले अनुसन्धानको जिम्मेवारी पाएका छन्।

पछिल्लो पटक प्रहरी निरीक्षक हेम केसीले अनुसन्धानको जिम्मेवारी पाएका छन्। ‘फाइल खुलेको छ तर घटनाको विषयमा निष्कर्षमा पुग्ने अवस्था छैन’ प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले भने, ‘हामी अनुसन्धानमै छौं।’

काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी वीभत्स हत्या गरिएको थियो। हत्यास्थल बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ।

घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ। हत्यालगत्तै प्रहरीले अनुसन्धान थाले पनि पीडित पक्षले अझै न्याय पाउन सकेको छैन। अपराध अनुसन्धानमा कहलिएका प्रहरी उपरीक्षक दीपक रेग्मी जिल्लाको प्रहरी प्रमुख हुँदासमेत घटनाको रहस्य खुलेन।

दुई वर्षअघि तत्कालीन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान हत्याराको नजिक पुगेको बताएका थिए। उनी बागलुङ नै रहँदा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाको अनुसन्धानमा समेत खटाइएका थिए।

सरुवा हुँदा दु:ख व्‍यक्त गरे, अपराधी पक्रन सकेनन्

कञ्चनपुर पुगेर घटनाको अनुसन्धानको जिम्मेवारी पाउन सक्ने प्रहरी अधिकृतले आफैँले नेतृत्व सम्हालेको जिल्लामा लामो समय पेण्डिङ रहेको घटनाको रहस्य उघार्न भने सकेनन्। उनले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे तर, सरुवापछि जिल्ला छाडेर जाँदा उनले ‘रुपा हत्याकाण्ड’का दोषी पत्ता लगाउन नसकेकामा पत्रकार सम्मेलन नै गरेर दुःख व्यक्त गरे।

त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो। वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेला–बेला प्रहरीको आलोचना हुने गरेको छ। ‘यो घटना बागलुङकै कलंकका रुपमा रहयो’ अधिवक्ता रमेश खड्काले भने ‘अपराधको दुनियाँमा यो लज्जास्पद घटना हो।’ प्रहरीले अनुसन्धान सतही बनाउँदा घटनाको गहिराईमा पुग्न नसकेको खड्काको आरोप छ।

‘हामी गहिरो गरी घटनाको अनुसन्धान गर्नुस् भनेर कयौंपटक प्रहरीमा पुगेका छौं’ खड्का भन्छन्, ‘अनुसन्धान भइरहेको छ भनेर झारा टार्ने काम मात्रै हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.