|
फाइल फोटो

अर्घाखाँची : प्रदेश-५ मा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो समयमा तीव्र गतिमा बढेको छ। हालसम्म प्रदेश ५ मा ३० जना संक्रमितको मृत्यु भइसकेको छ। झन्डै आधाको मृत्यु यही भदौको सुरुवातमै भएको तथ्यांकमा उल्लेख छ।

भदौ लागेपछि १२ दिनमा मात्र १५  जना संक्रमितले ज्यान गुमाइसकेका छन्। त्यसैगरी, पछिल्लो एक हप्ताबीचमा मात्र कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।

अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको हो।

मृत्युको कारण कोरोना, लक्षण अर्कै

हप्ता दिनभित्रै ज्यान गुमाएमध्ये शुक्रबार लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएकामा मुटु रोगको समस्या देखिएको थियो। बाँकी सबै ९ जनामा निमोनियाको लक्षण देखा परेको हो।

सुरुवातमा मृत्यु भएका कोरोना संक्रमितमा अन्य रोगको लक्षणहरु पनि देखिएको थियो।  प्रदेश जनस्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार यही हप्ताका ९ जनासहित मृत्यु भएका १३ जनामा निमोनिया देखिएको छ।

त्यसैगरी, ३ जनामा क्यान्सर, २ जनामा जण्डिस, २ जनामा सुगर, १ जनामा प्यारालाइसिस, १ जनामा पित्तथैलीको अपरेसन र १ जना मुटु रोगी रहेको प्रादेशिक अस्पतालले जनाएको छ। तर, उनीहरूको कोरोना संक्रमितको कारण ज्यान गएको प्राप्त अस्पतालको रिपोर्टमा उल्लेख छ।  ४ जना कोरोना संक्रमितको मृत्युको कारण खुलेको छैन। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा यो हप्ता मात्र ६ जनाले ज्यान गुमाएका छन्। 

मृतक सबैमा निमोनिया थियो : चिकित्सक

ज्यान गुमाएका सबैमा निमोनिया देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

उनीहरू सबैमा निमोनिया थियो उनले भने, खोकी ज्वरो, श्‍वास फेर्न समस्या हुने लक्षण देखा परेको थियो। त्यसैले मृत्युको कारण अरू रोगभन्दा पनि कोरोनाकै कारण हो। कोरोना विशेष अस्पतालमा खोकी र ज्वरो मात्र आएमा आइसियु बाहेकको साधारण आइसोलेसनमै राखेर उपचार गराउने गरिन्छ।

श्‍वास फेर्न अफ्ठ्यारो भए आइसियुमा सारिन्छ। निकै गम्भीर बिरामीलाई भेन्टिलेटरमा राखिन्छ। तर, पछिल्लो समयमा भेन्टिलेटरमा राखिएका बिरामी निको हुने क्रममा कमी आएको डा. सुदर्शन थापाको भनाइ छ।

दीर्घरोगीलाई कोरोनाले आक्रमण गरेपछि उसको रोगको प्रकृतिअनुसार कोरोनासँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएमा ज्यान जाने गरेको पाइएको डा. थापाले बताए। तर, डा. थापाका अनुसार सक्रमित दीर्घरोगी भए पनि प्रतिरोधात्मक क्षमता ऊसँग छ भने कोरोनाबाट बच्न सकिने छ।

खुसी रहन सक्नु नै उत्तम उपचार

कोरोनाको मुख्य उपचार नै मनलाई शान्त खुसी पार्नु, आत्मबल ठूलो बनाउनु, कोरोनालाई हेप्नु, पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनु, दिनहुँ शारिरिक व्यायाम गर्नुनै उत्तम हुने उनको भनाइ छ। 

‘सुरुमा एक दुई जनालाई भेन्टिलेटरमा राखेकालाई पनि निको गराएका थियौं, तर अहिले ज्यान बचाउन सकिएको छैन’ डा थापाले भने।

कोरोना अस्पतालको भेन्टिलेटरमा अहिले पनि २ जना उपचाररत छन्। यो हप्ता ६ जना र साउन महिनामा एक जना सहित बुटवलको कोरोना अस्पतालमा ७ जनाले ज्यान गुमाइसकेका छन्। थप एक जनाको प्रादेशिक अस्पतालमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा वृद्धको संख्या कम

कोरोना संक्रमणले वृद्धलाई बढी प्रभावित गर्दछ भनेर स्वास्थ्य मन्त्रालयदेखि स्वास्थ्यकर्मीहरुले पनि बताउँछन्। तर, प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा वृद्ध उमेरका व्यक्ति थोरै छन्। कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये प्रदेश ५ मा ६० वर्षभन्दा माथिका ११ जना रहेका छन्।

४० देखि ६० वर्षबीचका ९ जना र ४० वर्षभन्दा मुनिका ८ जनाको मृत्यु भएको छ। एक जनाको उमेर खुलेको छैन। संक्रमणबाट मृत्यु हुनेमा   २३ जना  पुरूष र ६ जना महिला रहेका छन्। 

कुन ठाउँमा कति कति मृत्यु?

कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये सबैभन्दा धेरै रुपन्देहीका ७ जना रहेका छन्। त्यसैगरी बाँकेका ६ जना, कपिलवस्तु, अर्घाखाँची र गुल्मीका ३–३ जना, दाङ र पाल्पामा २–२ जना तथा प्युठान, बर्दिया र नवलपरासी पश्चिमका १–१ जना छन्।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा ६ जना संक्रमितको मृत्यु भएको छ। बाँकीको प्रदेशकै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, आइसोलेसन तथा क्वारेन्टिन र काठमाडौ, चितवन र भारत लगायतका अस्पतालमा पनि ५ नम्बर प्रदेशका कोरोना संक्रमितको मृत्य भएको छ। रुकुम पूर्व र रोल्पामा भने कोरोना संक्रमणबाट हालसम्म कसैको मृत्यु भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.