जिसस प्रमुख ढुंगाना भन्छन् : लडाइँ जितेर छिट्टै काममा फर्किन्छु

|

बागलुङ : तत्कालीन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको जिल्ला कमाण्ड पोष्टको काममा रुष्ट थिए जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना।

कोरोना संक्रमितको व्यवस्थापन र सूचना प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा थियो उनको। त्यो भूमिकामा कमाण्ड पोष्टको काम चित्त नबुझेर उनले जिल्लाका सबै स्थानीय तहलाई एकै ठाउँमा भेला गरे। आइसोलेसन र प्री–आइसोलनको व्यवस्थापन गर्ने कामको नेतृत्व आफैँ गरे।

सबैलाई सचेत रहन आग्रह गरे। स्थानीय सरकारको अनुभूति जनतालाई दिलाउन स्थानीय तहलाई निर्देशन गरिरहे। बागलुङका सबै स्थानीय तहले कोरोना रोकथामका लागि सञ्‍चालन गरेका गतिविधि बुझ्न उनी कुना–कन्दरा आफैँ पुगे।

कोरोना संक्रमण नियन्त्रण बढ्दै जाँदा जिल्लाबासीको समस्या समाधानका लागि नेतृत्व गर्न कस्सिएका ढुंगाना यतिबेला भने धौलागिरि अस्पतालको आइसोलेसन कक्षमा स्वास्थ्य लाभ गरिरहेका छन्। कोरोना कहरको लहर चलेपछि ढुंगाना पनि त्यो लहरबाट बँच्न सकेनन्।

जिल्लामा तीन सयको हाराहारीमा संक्रमितको संख्या पुग्दा उनी त्यसको एक हिस्सेदार बने। आइसोलेसन र क्वारेन्टाइनस्थलमा समेत निर्धक्क पुग्ने उनी अहिले संक्रमित बनेर अस्पतालमा छन्। भन्छन, ‘सबै सचेत र सजग नबनेसम्म कोरोनाबाट मुक्ति पाउन कठिन छ।‘

सुरु सुरुमा कमाण्ड पोष्टले कोरोना संक्रमण पुष्टि भएकालाई कहाँ राख्‍ने भन्ने विषयमा जिम्मेवारीबोध नगर्दा विकटका स्थानीय तह अलमलमा थिए। सबैलाई पायक पर्ने क्षेत्रमा आइसोलेसन र प्री–आइसोलन बनाउने काममा ढुंगानाले नै नेतृत्वदायी भूमिका खेले। कोरोना संक्रमितलाई क्षेत्रगत व्यवस्थापन गर्न प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, निजीभुजी जनता क्याम्पस बुर्तिवाङ, नरेठाँटी स्वास्थ्य चौकी गलकोट र धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा आइसोलेसन र प्री–आइसोलेन निर्माणको कामले पूर्णता पाए।

कसरी भेट्यो भन्‍ने चालै पाइनँ

कोरोनाको कहर बढेसँगै हरेक पालिकाका क्वारेन्टाइन, स्वास्थ्य संस्थादेखि आइसोलनसम्म पुगेर गतिविधि बुझेका ढुंगाना, आफूमा कसरी कोरोना संक्रमण भयो भन्ने चालै पाएका छैनन्। ‘म एकदम चनाखो मान्छे, हरेक क्वारेन्टाइन, स्वास्थ्य संस्था पुग्दा, भेला, बैठक र कार्यक्रममा सहभागी हुँदासमेत सचेतना अपनाउँदै आएको थिएँ, कसरी संक्रमित भए अचम्मित छु,’ उनले भने।

आइसोलेसनमा अत्यास लाग्छ

उनलाई थोरै शंका छ, गत साउन १२ गते दैवी प्रकोप समितिको बैठक सकेर ढुंगाना कामको शिलशिलामा पोखरा, चितवन हुँदै काठमाडौं पुगेका थिए। त्यही ट्राभल हिस्टीको आधारमा परीक्षण गर्दा ढुंगानामा कोरोना पोजेटिभ देखिएको हो कि!  गत साउन ३० गते कोरोना पुष्टि भएसँगै ढुंगाना १३ दिनदेखि धौलागिरि अस्पतालको आइसोलेसनमा छन्।

समय–समयमा तातोपानी पिउने, पत्रपत्रिका र छोटा पुस्तक पढ्ने, अनलाइनका समाचार हेरेर ढुंगानाका दिन गुज्रन्छन्। ‘साथीभाइसँग हाई–हेल्लोदेखि कार्यक्रममा दौडधुप गर्नुपर्ने दैनिकी आइसोलेसनमा सीमित हुँदा कतिबेला त अत्यासै लाग्छ, यद्यपि साथीभाई र शुभचिन्तकको फोन आउँदा सबै कुरा नर्मल भदिन्छ।’

साथीभाईले कोरोना जित्नुपर्छ, आत्मबल बढाउनु पर्छ भन्दै सुझाव दिइरहँदा ढुंगाना ढुक्क छन्। चिन्ता केही छैन्, बरु जिल्लामा संक्रमण समुदायमा फैलिदा अरुलाई के के हुने हो भन्ने पो चिन्ता छ, उनी भन्छन्।

अफिस र अड्डाको चिन्ता

उनी आइसोलेसनमा रहँदा उनलाई बाहिरी आफ्नो अड्डाको कामको पनि चिन्ता छ। ‘नयाँ आर्थिक वर्ष सुरु भएसँगै जिल्ला समन्वयमा नयाँ कार्यक्रम आउँछन्, त्यसको विषयमा छलफल गर्नुपर्ने हो, म नभए पनि साथीहरुले गर्नुभएको छ।’ उनले आफ्नो काम र जिम्मेवारी सम्झिए, ‘मैले फोनबाट सुझाव, सल्लाह र हुने काम गर्दै आएको छु।’ ढुंगानाले ढोरपाटनसँग टेलिफोनमा भने, ‘अधुरा योजनाको म्याद थपदेखि फिल्डमा जाने काम पछि धकेलिएका छन्। विस्तारै गर्दै जानुपर्ला।’

कोरोनाको लडाइँ जित्‍नेमा ढुक्क

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउने समन्वय प्रमुख ढुंगानाले कोरोना जित्नेमा आफू ढुक्क रहेको बताए। ‘ढिलोचाँडो कोरोना जित्नेमा म ढुक्क छु’ उनले भने। बागलुङमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको छ, जनजीवन आतंकित बनेको छ। नागरिक सचेतनाबिना कोरोना संक्रमण नियन्त्रण गर्न असम्‍भव रहेको उनले दोहोराईरहे। नागरिक जागरूक भई स्वास्थ्यका मापदण्ड पालना गर्नु विकल्प छैन, ढुंगानाको सुझाव छ, ‘सवैले यसलाई व्‍यवहारमा कार्यान्यन गरौं।’

अस्पतालमा स्वास्थ्यकर्मीको व्यवहार र त्यहाँको व्यवस्थापनमा उनी सन्तुष्ट छन्। विहानदेखि रातीसम्म चिकित्सकदेखि स्वास्थ्यकर्मीसम्मले प्रभावकारी रुपमा आफ्नो ड्युटी निभाएकै छन्। बाहिर रहेकालाई उनको पालना गर्नैपर्ने सुझाव पनि छ, ‘म सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित भए, हजुरहरुले अझ बढी सजगता अपनाउनुहोला। कोरोनासँग कसैले पनि खेलवाड गर्न मिल्दैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.