‘सीमा क्षेत्रबाट भित्रिनेको व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्छ’

|

कञ्चनपुर : ‘हिलाम्मे सडकमा हिँडन तयार छौं। हामी बाँचे पो विकास चाहिने हो। भारतबाट फर्कनेलाई होम क्‍वारेन्टाइनमा नपठाइदिनोस्।’ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आयोजना गरिएको सर्वपक्षीय छलफल कार्यक्रममा स्थानीय देवदत्त भट्टले भने, ‘ठूलो बजेट कोरोना भाइरस नियन्त्रणमा खर्च भइसकेको छ। भारतबाट फर्कनेलाई अलपत्र छाड्ने कार्य नगरिदिनोस्।’  

नगरपालिकाले भारतलगायत क्षेत्रबाट फर्कनेलाई होम क्‍वारेन्टाइनमा पठाउन थालेपछि स्थानीयले सुरक्षित क्वारेन्टाइनको व्यवस्था गरी राख्न नगर प्रमुखसँग आग्रह गरेका हुन्।  भारतबाट फर्कनेहरु सीधै सीमा क्षेत्रबाट सवारीका साधन चढेर घर पुग्न थालेपछि कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै स्थानीय चिन्तित हुन थालेका छन्। 

होम क्‍वारेन्टाइनमा बस्न पठाइएकाहरु गाउँघरमा घुम्ने, जुवातास खेल्ने र मदिरा सेवन गरी होहल्ला गर्न थालेपछि स्वास्थ्य सुरक्षा चुनौती थपिएको छ।

नेकपा शुक्लाफाँटा नगर इन्चार्ज रनसिंह सुनार भारतबाट फर्कनेहरु सीमाबाट सोझै घर आउन थालेपछि स्थानीय तहसँग समेत लेखाजोखा नहुँदा कोरोना संक्रमण बढ्न सक्ने बताउँछन्। 

‘सीमा क्षेत्रबाट आउने व्यक्तिले स्थानीय तहलाई स्थानीय प्रशासनले जानकारी गराइसकेपछि मात्रै पठाउनुपर्नेमा कुनै जानकारी नगराई घर पठाउँदा गाउँका बासिन्दा निकै आत्तिएका छन्,’ उनले भने, ‘स्थानीय तहले भरपर्दो क्‍वारेन्टाइन व्यवस्था गरी भारतबाट फर्कनेहरुलाई राख्ने व्यवस्था गरिनु पर्छ। 

नेपाली कांग्रेसका तेज बहादुर शाहले भारतबाट फर्किएकालाइ होम क्‍वारेन्टाइनमा राख्नु नहुने बताए। ‘भारतबाट फर्कनेहरुकै कारण समाज निकै त्रसित छ’ उनले भने, ‘स्थानीय तहले ठूलै रकम कोरोना नियन्त्रणका नाममा खर्च गरिसकेका छन्। अब अलपत्र पार्ने कार्य रोक्नु पर्छ।’ 

सीमा क्षेत्रबाट सोझै घर पठाउँदा भारतबाट फर्केको व्यक्ति आएको खबर एक सातापछि मात्रै थाहा हुने गरेको वडाध्यक्ष हरिश विष्टले बताए।  नगरपालिकाको न्यायिक समितिका सदस्य उत्तरदेव भट्टले नगरपालिकाको वडा नं २ मा भारतबाट फर्केका दुई जनाको एक महिनापछि पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएको बताए। 

‘एक महिना अवधिमा दुवै जनाले पूरै गाँउ घुमिसकेका छन्’, उनले भने, ‘जसका कारण समाज त्रसित मात्रै छैन। गाउँका एक सय ४० जनाको पिसिआर चेकजाँचका लागि नमुना संकलन गरी परीक्षणका लागि पठाउनुपरेको छ।’ 

नगर प्रमुख दिल बहादुर ऐरले भारतबाट फर्केकाका कारण बजारमा भिड बढेको, कोभिड–१९ का सक्रिय केसहरु बढ्न थालेको बताए।

होम क्‍वारेन्टाइन असुरक्षित रहेको गुनासो आएकाले नगरपालिकाका एक दुई ठाउमा पहिलाझैं क्‍वारेन्टाइन राखिने उनले बताए। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले हालसम्म नगरपालिकामा स्थानीय संक्रमण नदेखिएको बताए।
 
दुई दिन अघि मात्रै ५९ जनाको स्वाव परिक्षणका लागि पठाएकोमा १० जनाको नतिजा पोजेटिभ आएको उनले बताए। त्यसको अघिल्लो दिन नगरपालिकाका ८ जनामा कोरोनाको संक्रमण देखिएको थियो। बाह्य मुलुकबाट आएका व्यक्तिहरुमा बढी संक्रमण देखिएको छ। होम क्‍वारेन्टाइनमा असुरक्षित तरिकाले बस्ने बढी जोखिमा छन्।

‘कमाउनका लागि भारत गएका विपन्न परिवारका १० जना बढी व्यक्तिहरुले एउटै कोठामा बस्नु परेको छ। यस्तो अवस्थामा होम क्‍वारेन्टाइन कसरी सुरक्षित हुन सक्छ’, जय बहादुर विष्टले भने, ‘सबैले प्रयोग गर्ने एउटै शौचालय छ। भारतबाट फर्केका परिवारका कुनै व्यक्तिमा संक्रमण भए पूरै परिवार चपेटामा पर्छ नै। छिमेकी र गाउँमा समेत संक्रमण फैलिने जोखिम छ।’ 

भारत कमाउन गएका नगरपालिका क्षेत्रका १५ हजार व्यक्तिमध्ये हालसम्म पाँच हजार मात्रै फर्केका छन्। 

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले होम क्‍वारेन्टाइन सुरक्षित नभएकाले स्थानीय तहले क्‍वारेन्टाइन व्यवस्था मिलाउनुपर्ने बताए। ‘जिल्लाको स्थिति नियन्त्रणबाहिर गएको छैन’, उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरे संक्रमणबाट डराउनु पर्दैन।’ 

कोभिड–१९ का सक्रिय केसहरु बढदै गए पनि उच्च जोखिम भने नभएको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले सीमा क्षेत्रबाट सोझै भारतबाट फर्कनेलाई नपठाइने बताए। सीमा क्षेत्रबाट फर्कनेको रेकर्ड राखेर स्थानीय तहलाई पनि जानकारी दिने कार्य गरिने उनले बताए। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बजार क्षेत्रमा भिडभाड हुन नदिन र सीमा क्षेत्र भएर अवैध रुपमा छिर्न खोज्नेलाई कडाइका साथ नियन्त्रण गरिएको बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले होम क्‍वारेन्टाइनमा राख्न नभनिएको उल्लेख गर्दै तत्काल क्‍वारेन्टाइन व्यवस्था गरी भारतबाट फर्केकालाई कम्तीमा पनि १४ दिन राख्न स्थानीय तहले काम गर्नुपर्ने बताए।

ज्येष्ठ नागरिक, असक्त अपांगता भएका र बालबालिकालाई होम क्‍वारेन्टाइनमा राख्न भनिएको भए पनि सबैलाई होम क्‍वारेन्टाइनमा राख्न नहुने उनले बताए।जिल्लामा संक्रमणको जोखिमको अवस्थालाई निगरानी गरिहेको चर्चा गर्दै उनले अहिलेसम्म गम्भीर किसिमको संक्रमण भएको नपाइएको बताए। राति ७ बजेदेखि बिहान ७ बजेसम्म निषेधाज्ञालाई अझै कडा पारिने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.