|

जाजरकोट : लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ।

यस सडक खण्डको जिरो बिन्दु पासागाडदेखि नलगाड नगरपालिकाको तल्लु सम्म ७ वटा मोटर गुड्ने पुलको लागि बोलपत्र आवह्वान भई महिना दिन भित्र काम सुरु हुँन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार पिप्लेखोला, छर्रेखोला,  नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि काम सुरुको प्रक्रिया अगाडि बढिसकेको छ।

७ वटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए।

त्यस्तै, आइतबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेवल पुल निर्माणका लागि  बोलपत्र आवह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ।

७ करोड लागतमा पुल  निर्माणको ठेक्का खोलिएको छ।  एक वर्षभित्र निर्माण कार्य पूरा हुने उदेश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले भने।  त्यस्तै, छलगाड, छरेबग्रीदेखि त्रिवेणीसम्मको सडकमा २ वटा पुल निर्माणका लागि बोलपत्र आवह्वानको काम अन्तिम चरणमा पुगेको छ। सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो। जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पिचको काम सुरु भएर काम चालु अवस्थामा छ।

यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो। पुल पुलेसा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका र ठाउँ, ठाउँमा यातायातका साधनहरु बदल्ने समस्याको मारमा परेका सर्वसाधारणहरु वर्ष दिनभित्र पुल निर्माण हुँने खवरले खुसी भएको नलगाड नगरपालिका –१२ का वुद्धीबहादुर बस्नेतले बताए। उनले भने, ‘१० ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ, अब राहत मिल्ने खबर सुनेको छु। निकै खुसी लागेको छ।‘

अहिले पासागाडबाट–रिम्नासम्मको सडकमा कालेपत्रेको काम सम्पन्न हुनेबित्तिकै पिचको काम सुरु हुने प्रमुख भट्टले जानकारी दिए। नलगाड जलविद्युत आयोजना निर्माण देखि डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रो सामु अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए।

उनले भने, ‘सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछी परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ। गाउँ, समाज समृद्ध नभई हामी संमृद्ध नहुने निश्चित छ। जनताको विकास प्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ।”

अहिले पुल नहुँदा १३ ठाउँमा सवारीसाधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ। तुइनमा राखेर यातायातका साधनहरु भेरी नदीमा वारपार गरिँदै आएको छ। आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए। 

सडक हस्तान्तरणपछि पुल निर्माण सुरु

भेरी करिडोर भित्रको जाजरकोट – डोल्पा सडक खण्ड एक पर्यटकीय रुटको रुपमा समेत रहेको छ। यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताए। नेपाली सेनाले  झण्डै १० वर्ष भन्दा बढी समय लगाएर ट्याक ओपन गरेको यो सडक अघिल्लो वर्ष मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो।

 ११८ किलोमिटर लम्वाइ रहेको जाजरकोट – डोल्पा सडक खण्डभित्र नलगाड जलविद्युत आयोजना ( ११७ मेघावाट) र जगदुल्ला जलविद्युत आयोजना ( १०६) , ताँसुगाड जलविद्युत आयोजना ( ४.५ मेगावाट) र भेरी ए,वीसी आयोजना निर्माणमा सहज आउने आउने छ।

त्यस्तै जाजरकोट –डोल्पा सडक खण्डमा ३३ केभी विद्युतको केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ। ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.