|

संखुवासभा : संखुवासभास्थित किमाथाङ्का–खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने काम दुई वर्षदेखि रोकिएको छ। खाँदबारीबाट १ सय ३४ किलोमिटरसम्म सडक ट्रयाक खोलिएको, तर चट्टान क्षेत्रमा पर्ने १४ किलोमिटर सडक निर्माण कम्पनीले खोल्न नसकेपछि सेनालाई जिम्मा दिने भनिएपनि हालसम्म काम थालिएको छैन।

च्याम्ताङदेखि घोङगोप्पासम्मको १४ किलोमिटर ट्रयाक खोल्ने कार्यले प्राथमिकता नपाउँदा किमाथाङ्का–जोगवनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक ओझेलमा परेको हो। योजनाले ०६५/६६देखि किमाथाङ्का सडक जोड्न प्याकेजमा काम गरिरहेको सडक हटिया खण्डमा हेलिकप्टरबाट ट्रयाक्टर र स्काभेटर ढुवानी गरिएको थियो।

सेनालाई सडक निर्माण जिम्मा दिएपनि काम सुरु नहुँदा स्थानीयहरू निराश बनेका छन्। त्रिदेशीय लिकंरोड किमाथाङ्का–जोगवनी सडकखण्डको भिर फुटाउने जिम्मा सेनालाई दिने निर्णयपछि १४ किलोमिटर क्षेत्रमा सडक निर्माण गर्ने जिम्मेवारी सेनाकै भएको आयोजना प्रमुख श्रेष्ठले बताए। सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको प्राथमिकतामा राखेको छ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सोझै सेनासँग सम्झौता गरेर काम अगाडि बढाउने भएकाले यसबारे आफूहरुलाई कुनै जानकारी नरहने सडक आयोजनाका प्रमुख श्रेष्ठको भनाई छ। श्रेष्ठका अनुसार भिर फुटाउनका लागि आवश्यक विस्फोटक पदार्थ राख्ने सुरुङ बनाउने काम भने अन्तिम चरणमा पुगेको छ।

दुई वर्षदेखि सडक निर्माण कार्य रोकिँदा पनि सरकारको ध्यान पुग्न सकेको छैन। खाँदबारी–किमाथाङ्का सडकखण्डको एक सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिए। त्यसैगरी, किमाथाङ्का नाकाबाट पनि यस अघि नै १४ किलोमिटर सडकको ट्रयाक खोलि सकिएको छ।

दुई वर्ष पहिले नै घोङ्गोप्पासम्म सडक खुलेपनि मर्मत नहुँदा पहिलेकै अवस्थामा पुग्न लागेको छ। सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथाङ्काबाट १४ किलोमिटर सडक निर्माण भइसकेको आयोजनाका प्रमुख कुमार श्रेष्ठले बताए। शर्मा/एपेक्स/कान्छाराम कम्पनीले ट्रयाक खेल्ने ठेक्का लिएको किमाथाङ्कादेखि १९ किलोमिटर (१६२ देखी १४३ किलोमिटर)सम्मको सडकमध्ये १४ किलोमिटर खण्ड दुई वर्ष पहिले नै सम्पन्न गरेको थियो।

उत्तर दक्षिण (कोसी) सडक कार्यालयले विभिन्न ७ खण्डमा विभाजन गरेर ट्रयाक खोल्ने र स्तरोन्नतीका लागि ठेक्का लगाएको थियो। अझै च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ।

गत २०७६ भदौ २२ गतेको मन्त्रीपरिषदको बैठकले किमाथाङ्का–जोगवनी सडक खण्डको १४ किलोमिटर भिर फुुटाउने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। च्याम्ताङसम्म ट्रयाक खुलेपनि खाँदबारीबाट बरुण दोभानसम्मको (०–८० कि.) सडक खण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ। बर्खायाममा मुस्किलले फ्याक्सीन्दासम्म सवारीसाधन आवागमन हुने गरेको छ। हिउँदको समयमा भोटखोला गाउँपालिकाको केन्द्र हटियासम्म सामान लिएर ट्रयाक्टर पुग्ने गरेको छ।

यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढेपनि किमाथाङ्का नाका भने अझै सञ्चालनमा आउन सकेको छैन। सडकसँगै सीमामा भन्सार कार्यालय समेत स्थापना हुनुपर्ने स्थानीयको माग छ।

नेपालकै दुई मित्रराष्ट्र चीन–भारत जोड्ने छोटो सडकको रुपमा रानी विराटनगरदेखि किमाथाङ्का सडकलाई लिइन्छ। सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउनेछन्। यस सडकले एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। किमाथाङ्का नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका मानिन्छ। 

६५ प्रतिशत काम सम्पन्न 

खाँदबारी–किमाथाङ्का (१६२ किमि) सडक अन्तर्गत ६५ प्रतिश काम सम्पन्न भएको उत्तर-दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिए। ट्रयाक खोल्ने बाहेक सडक स्तरोन्‍नती, चौडा बनाउने, सव-वेस तयार र पुल निर्माणको काम भइरहेको छ। अधिकांश ठेक्काको समय गत आर्थिक वर्षमै सकिइसकेको छ। २ पटकसम्म समय थप गर्दा समेत ठेकेदारले काम सम्पन्न गर्न सकेका छैनन्।

आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरिएको ८४ करोडमध्ये हालसम्म करिब ५४ करोड ५० लाख रुपैयाँमात्र खर्च हुन सकेको आयझनाका सूचना अधिकारी आशिष नेपालले जानकारी दिएका छन्‌। अझै भुक्तानी हुन बाँकी रहेकाले यस महिनाको अन्त्यसम्म बजेट खर्च केही बढ्ने उनको भनाई छ।

यो सडक खण्ड निर्माणका क्रममा ३ अर्ब रुपैयाँ खर्च भईसकेको छ। विराटनगरबाट किमाथाङ्कासम्मको दूरी ३९० किलोमिटर छ। समयमै काम सकिए किमाथाङ्का नाका चीनसँग जोडिने अन्य ६ वटा नाकाभन्दा सहज हुनेछ ।

९ वटा पुल बनाइँदै

यो सडकखण्ड अन्तर्गत नुमदेखि बरुण दोभानसम्म ९ वटा पुल बनाइँदैछ। अधिकांश पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) नगरी ठेक्का लगाएकाले समयमा काम सम्पन्न हुन सकेको छैन।

निकुञ्ज क्षेत्रभन्दा बाहिर रहेको फाक्रे खोला पुलको काम समेत ५० प्रतिशत मात्र सकिएको छ। सबै पुलको काम सम्पन्न गर्नुपर्ने मिति यहि आर्थिक वर्षको अन्त्यसम्ममा रहेको छ।

एकुवा खोला, ठाडो खोला र उवा खेला काम भने हालसम्म पुल निर्माण नै नथालिएको आयोजनाका सूचना अधिकारी नेपालले जानकारी दिए। नाङ, चाङ, जोर, उवाङ् र वाङ् खोलाको पुल निर्माण प्रगति पनि खासै भएको छैन। इआइए नभइ ठेक्का लागेका कारण निकुञ्जले काम गर्न रोकेकाले पुल निर्माणको काम ढिलाई भएको नेपालले बताए।

यस सडक खण्डमा १८ वटा पक्की पुल निर्माण गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.