|

पर्वत : गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २ हजार २ सय ४६ पुगेको छ। मंगलबार साँझसम्म २२ सय १०  जनामा संक्रमणको पुष्टि भएकोमा बुधबार बिहान २० जना नेपाल प्रहरी र १ जना स्वास्थ्यकर्मी सहित ३६ जनामा संक्रमणको पुष्टि गरिएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार ११ जिल्ला रहेको गण्डकीमा मङ्गलबार अपराह्न ४ बजेसम्म ४७ हजार ४ सय २५ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ। तीमध्येका ४५ हजार २ सय १७ जनामा सङ्क्रमण रहेको पाइएको छ। संक्रमितमध्ये १७ सय १२ जनाले कोरोनालाई जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यो अनुसार गण्डकीमा निको हुने दर ७७.४६ प्रतिशत रहेको छ।

१४ जनाको मृत्यु कहिले–कहिले भयो?

प्रदेशमा हालसम्म कोरोना पोजेटिभ रहेको अवस्थामा १४ जनाको मृत्यु भएको छ।

पछिल्लो पटक भदौ १३ गते गोरखाको आरुघाटकी ६५ वर्षीया महिलाको वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा निधन भयो। हाइपोथाईरोडिजम तथा मिर्गौलाको दीर्घ रोगी उनमा पछिल्लो समय सेप्टिक सकको समस्या देखिएको थियो। 

भदौ १३ गते नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो। आन्द्रामा समस्या भएपछि शल्यक्रिया गरिएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो।

भदौ १३ मै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भयो। उनमा एक साता अघिदेखि कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उपचार सुरु गरिएको थियो।

भदौ १२ गते गोरखाको गोरखा नगरपालिका १३ मजुवा घर भएका ३८ वर्षीय पुरुषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भयो।

भदौ १२ मा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका कास्कीको पोखरा महानगरपालिका १६ का ५२ वर्षीय पुरुषको मृत्यु भयो। उनमा हाइपरटेन्सन र डायबेटिजको समस्या रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

भदौ ११ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पोखरा महानगरपालिका-११ की ३२ वर्षीया महिलाको मृत्यु भएको थियो। गण्डकी प्रदेशमा मृत्यु भएका अन्य १३ जनामा कुनै न कुनै दीर्घ रोग रहेको पाइएको भए पनि यी महिलामा भने कुनै पनि दीर्घ रोग नरहेको पाइएको थियो। 

भदौ २ गते कास्कीकै पोखरा महानगरपालिका १६ का ८७ वर्षका पुरुषको कोरोना संक्रमण रहेकै अवस्थामा मृत्यु भयो। श्वासप्रश्वासको समस्यासँगै उच्च ज्वरो देखिएपछि साउन ३२ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनमा हाइपरटेन्सन, डायबेटीज र क्रोनिक किड्नी रोगको समस्या रहेको थियो।

भदौ २ गते नै तनहुँको व्यास नगरपालिका १ की ५० वर्षीया महिलाको पनि उपचारकै क्रममा कास्की सेवा अस्पतालमा मृत्यु भएको थियो। उनमा हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्या रहेको पाइएको थियो।

साउन २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा कोरोना पोजेटिभ रहेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका १९ घर भएका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो। मधुमेहका दीर्घ रोगी रहेका उनलाई साउन १७ गते उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो।

असार २० गते बागलुङको निसीखोला गाउँपालिका २ देवीस्थानका २९ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ७ का एक युवकको मृत्यु भएको गण्डकीमा त्यसअघि असार ११ मा स्याङ्जाको सिरुवारिका ५५ वर्षीय पुरुष उपचारको क्रममा पोखरामा मृत्यु भएको थियो। बागलुङका पुरुषको भने क्वारेन्टीनमा मृत्यु भयो, अन्तिम संस्कार गरेपछि मात्रै सङ्क्रमण रहेको पुष्टि भएको थियो।

असार १७ गते म्याग्दीका ४७ दिने नाबालकको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको थियो। धौलागिरी गाउँपालिका ४ का ती बालकमा मृत्युपछि सङ्क्रमणको पुष्टि भएको थियो।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ २६ गते भएको मृत्यु नै गण्डकीमा कोरोना संक्रमितको पहिलो मृत्यु हो।

आइसोलेसनमा कति?

गण्डकी प्रदेशमा हालसम्म आइसोलेसनमा रहेकाको सङ्ख्या ५ सय २० रहेको छ। यीमध्येका ३८ जना होम आइसोलेसनमा  र आइसियुमा ६ जना रहेका छन्। प्रदेशमा हालसम्म ४२ जना स्वास्थ्यकर्मी सङ्क्रमणको पुष्टि भएकोमा अब १३ जनालाई मात्र निको हुन बाँकी रहेको छ।

प्रदेशभर क्वारेन्टाईनमा बसिरहेकाहरूको सङ्ख्या ६ सय ३ रहेको छ। प्रदेशमा कोरोना संक्रमितको उपचारको लागि १ सय ७५ ओटा आइसियु बेड तयारी अवस्थामा छन् भने भेन्टिलेटरको सङ्ख्या ५७ रहेको छ। गत चैत ११ गते लकडाउन भएपछि मङ्गलवारसम्म प्रदेशभर भारतबाट फर्किएकाहरूको सङ्ख्या १३ हजार ४ सय ३३ जना र तेस्रो मुलुकबाट ६ हजार ४ सय २ जना गरी कुल १९ हजार ८ सय ३८ जना भित्रिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.