|

अर्घाखाँची : रुपन्देहीको सैनामैनामा एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल नै सिल गरिएको छ। सैनामैना-११ की ७७ वर्षीया महिलाको बिहीबार (आज) बिहान साढे ४ बजे मृत्यु भएको हो। 

बुधबार बेलुका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएकी उनमा ज्वरो र कडा खालको निमोनिया देखिएको थियो। कोरोना संक्रमणका लक्षण देखिएपछि अस्पतालमा जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। 

'अस्पतालमा आउँदा ज्वरो थियो, हामीले जिन एक्सपर्टबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो, त्यसपछि उपचार थालेका थियौं', उनले भने, 'बिहान साढे ४ बजे उहाँको मृत्यु भयो। उहाँ घरबाट आउँदा कमजोर भइसक्नुभएको थियो। निमोनियाँले गलाइसकेको रहेछ।'

उनका अनुसार ती महिला करीब ३-४ दिनदेखि निमोनियाँबाट ग्रस्त थिइन्। उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसोलेसनमा राखी उपचार गरिएको थियो।

उनी केही दिनयता बिरामी थिइन्। घरपरिवारले सामान्य ज्वरो ठानेर घरमै उपचार गराइरहेका थिए। उनको घरमा बुधबार श्राद्ध थियो र श्राद्धपछि स्थानीय मेडिकलमा उपचारमा गएका उनीहरुलाई स्वास्थ्यकर्मीले बुटवल जान सुझाएका थिए। 

उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि उक्त टोलका २५ जना होम आइसोलेशनमा बसेका छन्। उनका छोराले दूध डेरी चलाउँछन्। डेरीमा दूध लिन आउनेहरु र श्राद्धमा सहभागी भएका घरपरिवार आइसोलेशनमा बसेका वडा नं. ११ का अध्यक्ष सुनील मरासिनीले जानकारी दिए।

उनका अनुसार टोल नै सिल गरेर घरबाहिर निस्किन रोक लगाइएको छ। 'उहाँ पहिलेदेखि नै बिरामी हुनुहुँदो रहेछ, हिजो उहाँहरुको घरमा श्राद्ध रहेछ, त्यसपछि चेक गराउनुपर्यो भनेर नजिकै मेडिकलमा जानुभएछ', वडाध्यक्ष मरासिनीले भने, 'त्यहाँबाट बुटवल पठाएपछि उहाँको उपचारका क्रममा मृत्यु भयो। उहाँको  रिपोर्टबाट पनि कोरोना संक्रमण पुष्टि भयो ।' 

त्यस घरमा श्राद्ध गराउन गएका पुरोहितसमेत होम आइसोलेशनमा छन्। अबको ५ दिनपछि २५ जनाकै पिसिआर परीक्षण गरिनेछ। रिपोर्टअनुसार थप परीक्षण गर्ने/नगर्ने टुंगो लगाएर थप निर्णय लिइने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.