एकपटक सबैसँग छलफल गर्छु : मन्त्री रावल

|

डोल्पा : सदरमुकाम दुनैमा अस्पताल निर्माणका लागि तयार पारिएको पुरानो विस्तृत योजना प्रतिवेदन (डिपिआर) को मुद्दा पेचिलो बनेको छ।

पुरानो डिपिआर सच्याउनुपर्ने भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। अस्पतालको पुरानो डिपिआर नेपाल सरकार स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा विभाग ब्यवस्थापन शाखा, स्वास्थ्य भवन पूर्वाधार निर्माण मापदण्ड २०७३ अनुसार नभएको भन्दै चर्को विरोध भएको छ।

पुरानै शैलीको डिपिआर अमान्य भएको भन्दै सच्याउन माग गरेर दुनैमा प्रत्येक दिन जिल्लाका सरोकारवाला निकायहरु भेला हुने र समस्या सामाधानका विषयमा खोजी गर्ने गरेका छन्।

अहिलेको आधुनिक समयमा अस्पताल निर्माणमा खेलाँची गरेर २०–३० वर्षअघि बनाइएको जस्तो अस्पताल बनाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन्।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अनुरोधमा संघिय स्वास्थ्य मन्त्रालयको नेपाल स्वास्थ क्षेत्र सहयोग कार्यक्रम (डि.एफ.ए.आई.डी )ले डिपिआर तयार पारेको हो।

हाल भएको पन्ध्र शैय्‍याको जिल्ला अस्पताललाई स्तरोन्नति गरेर ५० शैय्‍याको बनाउने गरि २९ करोड रकमको स्टमेट गरिएकोमा आव ०७७/०७८ मा १० करोड बजेट बिनियोजन गरिएको हो।

के छ पुरानो डिपिआरमा?

नयाँ बन्ने अस्पतालको संरचनामा स्थानीय सामग्री तथा जस्ता पाता प्रयोग गरेर पुरानै शैलीको एक तले बन्ने गरी डिपिआर तयार पारिएको छ।

पुरानो डिपिआरमा आरसिसी ढलानयुक्त बहुतले नभएको, आवाश्यक उपकरण जोड्न न्यूनतम संरचना नभएको, मुर्दाघर र फोहोर व्‍यवस्थापन संरचना बस्तीनजिक बनाइएको, नयाँ बन्ने संरचना छरिएर रहेकाले कर्मचारी,स्रोत साधन र सुरक्षाको दृष्टिकोणले अनुपयुक्त रहेको,सार्वजानिक डिपिआरको थ्री डी र साईट प्लानअनुसार मेल नखाएको, जिल्लाका सरोकारवाला निकायसँग छलफलनै नगरि एकतर्फी रुपमा डिपिआर तयार पारिएको लगाएतका रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए।

दुई वर्षअघि तयार पारिएको डिपिआरअनुसार काम अघि बढाइए कुनै हालतमा निर्माणकार्य अवरुद्ध गरिने उनले चेतावनी दिए। अस्पतालको डिपिआरमा सच्याई आरसिसी ढलानसहितको पिल्लरवाला बहुतले बन्नेगरि पुनःतयार पार्न मन्त्रालयलाई उनले आग्रह गरेका छन्।

पुरानो डिपिआरको विरोध अस्पताल व्यवस्थापन समिति, निर्वाचित सांसद विद्यार्थी नेता, स्वास्थ्यकर्मी, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीविलगायत सरोकारवाला पक्षले गरेका छन्।

चिकित्सकको चर्को विरोध

पुरानो डिपिआरको विरोधमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु समेत उत्रिएका छन्। पुरानो डिपिआरको भवन बनाई बिरामिमैत्री नहुने उनिहरुको दाबी छ।

‘घरीघरी अस्पताल निर्माण हुने होइन, ५० वर्षपछिको अवस्था सोचेर अस्पताल निर्माण गरिनुपर्छ’ डाक्टर मच्छिन्द्र बडुवालले भने।

‘जिल्ला अस्पतामा तीन जना स्थानीय डाक्टर कार्यरत छौँ,हाम्रै पालामा कुनै पनि हालतमा यस्तो पुरानो अस्पताल निर्माण हुन दिँदैनौँ,यदि पुरानै शैलीको भवन निर्माण गरिए डाक्टरहरु समेत आन्दोलनमा उत्रिने पक्का छ’ उनले थपे।

स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख डाक्टर सिजन रावलले पुरानो डिपिआरमा हस्पिटलमा चाहिने टिकट काउन्टर, ल्याब, बहिरंग सेवा,ओपिडि काउन्टर,फामेर्सी लगायतका दजर्नौ संरचनाहरु नसमेटिएको बताए।

त्यसैगरी, अस्पताल व्‍यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रबहादुर रोकायले अस्पताल निर्माणका लागि बजेट छुट्याइएकोमा सामाजिक विकास मन्त्रालयलाई धन्यवाद दिँदै पुरानो डिपिआरमा भएका त्रुटिहरू सच्याउन माग गरेका छन्।

सरकारको करोडौँ रुपैयाँ रकम खर्च गरेर बनाउन लागेको अस्पताल आधुनिक बन्नुपर्ने ठुलिभेरी नगरपालिका ३ का समाजसेवी ओमेन्द्र केसीले बताए।

डोल्पासम्म बाटो पुगिसकेकाले निर्माण सामग्री नपाइने बहानामा  पुरानौ डिपिआरमा टेकेर निर्माण प्रक्रिया अगाडि बढाए आन्दोलनमा समेत उत्रिने उनले चेतावनी दिए।

के भन्छन् डोल्पाको जनप्रतिनिधि?

डोल्पा प्रदेश ‘क’ बाट निर्वाचित सांसद तथा प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले अहिलेको अवस्थामा बनाएको संरचना ५० वर्ष पछिसम्म धान्ने हुनुपर्ने  बताए।

हरेक विकास जनताको मन जितेर गनुपर्ने भएकाले संरचना निर्माणका लागि बजेट आएर मात्र नहुने र दिगो लक्ष्यसमेत लिनुपर्ने उनको भनाइ छ।

मन्त्री बुढाले पहिले जस्तो डोल्पा नभएको बताउँदै अहिले सहज रुपमै निर्माण सामग्रीहरु पुग्ने भएकाले डिपिआर सच्याएर आधुनिक संरचना निर्माण गरिनुपर्ने  बताए। पुनः डिपिआर तयार पार्ने विषयमा प्रदेश र केन्द्रमा लागिरहेको बताए।

प्रदेश ‘ख’ बाट निर्वाचित सांसद वीरबहादुर शाहीले पुरानो डिपिआर कुनै पनि हालतमा मान्य नहुने बताए। अस्पताल निर्माणका लागि बजेट पर्नु सकारात्मक कुरा भएको बताउँदै समय सापेक्ष दिगो एवं भरपर्दो विकासगर्नु पर्ने उनको भनाइ छ।

पुरानो डिपिआर सच्याउने विषयमा आफू जोडदार हिसाबमा लागि रहेकाले  फेरि पनि सामाजिका विकास मन्त्री र प्राविधिकहरु बसेर सँग छलफल गर्ने बताए।

के भन्छन मन्त्री रावल?

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले डिपिआर परिवर्तन गर्न धेरै समय लाग्ने भएकाले बजेट फ्रिज पनि जानसक्ने बताए।

‘जिल्ला अस्पताल भवनको नाजुक अवस्था देखेर बहु वर्षीय आयोजनाको रुपमा बजेट छुट्याइएको हो,देशभरका अस्पताल बनाउने सरकारी कन्सलटेन्सीले डिपिआर तयार पारेको हो,कसरी विरोध भयो अचम्ममा परेको छु’ मन्त्री रावलले भने।

‘डोल्पाको भौगोलिक अवस्था,जनघनत्व सबै सोचेर डिपिआर तयार पारिएको हो, चौतर्फी विरोध नै हुन्छ भने यो विषयमा एकपटक छलफल गरौँला’ उनले थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.