पहिरोले बगाएको बाटो अझै बनेन

|

म्याग्दी : गत असार २५ गते पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक बगाएपछि ती दुई गाउँपालिकाका हजारौं मानिसहरु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पहिरोले धौलागिरि र मालिकाका डेढ दर्जनभन्दा बढी ठाउँमा बाटो बगाएको छ। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङदेखि बिम, मराङ, मुना, मलम्पार, मल्काबाङलगायत गाउँमा जाने सडक पहिरोले बगाएको हो।

बाटो नहुँदा मानिसहरु खाद्यान्नको भारी बोकेर भीरमा झुन्डिँदै सास्तीपूर्ण यात्रा गर्न बाध्य छन्। मालिका गाउँपालिका ७ बिमको तल्लो गाउँदेखि मराङको बेसी हुँदै मलम्पार, बेसी, मल्कावाङ पुग्ने सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको मलम्पारबाट दरबाङ आउँदै गरेका डेकबहादुर छन्त्यालले बताए।

उनका अनुसार मलम्पारका १ सय ७० घरका मानिसले ज्यान हत्केलामा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरिरेहका छन्। ‘तलतरि बर्खेखोला र माथिपट्टि डरलाग्दो भीरको बीचमा पैताला अड्याउँदै, बुट्यान समातेर हिँड्नुपर्ने अवस्था छ। मलम्पारबाट खच्चड लिएर दरवाङमा खाद्यान्न लिन जाँदै गरेका  बेगबहादुर विकले भने, ‘मर्ने बाँच्ने ठेगान नै हुँदैन, एक ठाउँमा होइन दर्जनौं ठाउँमा बाटै छैन।’

तल्लो बिमको ठाडोखोलादेखि मराङको बेसीपारिसम्मको करिब १५ किलोमिटर सडक पहिरोले छियाछिया बनाएको छ। त्यहाँ सामान्य मर्मत गरेर सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको धौलागिरिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए।

सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै प्रदेश सरकारसंग अनुरोध गरिएको जानकारी दिए। ‘तै पनि मानिस र डोजर लगाएर मर्मतको काम गरिरहेका छौं, गाडी गुड्न सक्ने नभए पनि मानिस हिँड्न सक्ने बनाउन सकिन्छ कि,’ उनले भने। 

उनका अनुसार बाटो पैदल हिँड्न लायक बनाउन वडा कार्यालयको तर्फबाट मानिस र मेसिन लगाएर मर्मतको काम भइरहे पनि ठुल्ठूला पहरा र भीरमा काम गर्न सम्भव नभएकोले समस्या उत्पन्न भएको छ।

ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नु पर्ने अवस्था रहेको पहिरो पीडितहरुका लागि म्याग्दी समाज न्युयोर्क अमेरिकाले पठाएको सहयोग रकम हस्तान्तरण गर्न मराङ पुगेका म्याग्दी समाज न्युयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए।

‘ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नुपर्ने अवस्था रहेछ’, मराङका पहिरो पीडितहरुलाई ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम प्रदान गर्दै पुनले भने, ‘हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ, सधैंभरि ओहोरदोहोर गरिरहनुपर्ने यहाँका स्थानीयलाई कति समस्या होला?’ 

सडक मर्मत भैरहेको विमका वडाध्यक्ष रेशम जुग्जालीले बताए। उनका अनुसार १०÷१५ दिनभित्र सडक मर्मतको काम सम्पन्न हुने छ। असार २५ गते राति गएको पहिरोले मराङमा १९ जनाको ज्यान गएको छ भने २ जना अझै बेपत्ता छन्। त्यसैगरी विममा सोही राती आएको पहिरोमा परि ९ जनाको ज्यान गएको छ। 

असार २५ गते म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा मराङ र बिमका साथै धारापानी, ताकम, देवीस्थान, कल्लेनीलगायत धेरै ठाउँमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.