नर्सहरु भन्छन् : समाजले हामीलाई माया गरोस्

|

काठमाडौं : नेपालीहरूलाई यतिखेर कोरोना (कोभिड-१९) महामारीले अचेटेर घरभित्रै थन्क्याइदिएको छ। ग्रामीण क्षेत्रमा खेतीपातीका लागि घरबाहिर निस्कनैपर्ने भएपनि शहरी क्षेत्रमा निकै थोरै मानिसहरू मात्र सडकमा देखिएका छन्। 

देशभरका कोरोना अस्पताल कोरोनाका बिरामीले भरिएका छन्‌। कोरोना एक क्षेत्र वा भूगोलमा मात्रै होइन, देशभर भुसको आगो झैँ फैलिरहेको छ। सरकारले देशव्यापी लकडाउन र निषेधाज्ञा लगाएपनि महामारी तत्कालै नियन्त्रणमा आउने छाँटकाँट छैन। आम जनजीवन नराम्ररी प्रभावित बनेको छ, व्यापार-व्यवसाय चौपट भएको छ।

'अब के होला र कसो होला' भन्दै सर्वसाधारणहरू घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरू आफ्नो ज्यू-ज्यानको पर्वाह नगरी कोरोनाविरुद्धको लडाइँमा होमिएका छन्‌। त्यसैले त, मानिस जोगाउने पेशामा लागेका यी पेशाकर्मीहरूलाई अग्रमोर्चाका योद्धा भनिएको छ।

यी स्वास्थ्यकर्मीहरू आम मानिसहरू नै हुन्‌। तर जिम्मेवारी पृथक र विशिष्ठ! महामारीको जोखिम स्वास्थ्यकर्मीहरूलाई पनि छ। संक्रमितको उपचार गर्दागर्दै दर्जनौं स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌, एक जनाको ज्यान नै गएको छ। तर यी योद्धाहरू महामारीविरुद्धको लडाइँमा थाकेका छैनन्‌। बरू अहोरात्र खटिइरहेका छन्‌।​​

हजारौं संक्रमितहरुलाई बचाएर पुनर्जीवन दिँदा यी योद्धाहरूले समाजबाट असीमित प्रेम र सम्मान पाउनुपर्ने हो। तर, नेपालका केही स्थानमा समाजमा बसेका भनिएका मानिसहरू कविलायुगका सिकारी प्रवृत्तिका रहेछन्‌। यस्ता सिकारीहरू : जसले आफैंलाई बचाउनेहरूलाई पनि नराम्रो गर्न बाँकी राख्दैन। मध्यशहरमा आधुनिक सभ्यता अपनाएर बाँचिरहेका भनिएका बानेश्वरवासीले केही समयअघि यस्तै सिकारी व्यवहार देखाए। चिकित्सकहरूलाई होस्टलमा बस्‍न समेत दिएनन्‌।​

अझै पनि महामारीविरुद्धका अग्रपङ्‌तिका योद्धाहरू अपमानित हुने क्रम रोकिएको छैन। दिनहुँ चिकित्सकमाथि दुर्व्यवहार भएका खबरहरू आइरहन्छन्‌। ती चिकित्सकहरू न कुनै निजी अस्पताललाई बिरामीबाट अनेकानेक शीर्षकमा रकम असुल्ने वातावरण बनाइदिन गएका हुन्‌, न त लापरवाही गरेर नागरिकको ज्यु-धन मास्न नै ! ती त जारी महामारीबाट नागरिकलाई जोगाउन खटिएका हुन्‌। 

कोरोनाको कुनै औषधि र भ्याक्सिन बनिसकेको छैन। यस्तो अवस्थामा बिरामीको मनोबल र स्वास्थ्यकर्मीको सहयोग नै संक्रमणलाई जित्‍ने प्रमुख हतियार हुन्। तर यतिखेर कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बहिष्कारदेखि डेरा निकाला भएका घटना सामान्य लाग्‍न थालेका छन्।

देशभर कोरोना भाइरस फैलिरहँदा रूपन्देही पनि हटस्पट बनेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्सहरू कोरोनाविरुद्धका योद्धाका रुपमा मैदानमा छन्। उनीहरु दिनदिनै कोरोनाविरुद्धको यो अभियानमा अस्पताललाई नै घर ठानेर जुटिरहेका छन्।

कोरोना कहरको यो अवधिमा उनीहरुले निकै कठिनाई र चुनौती सामना गर्नुपरिरहेको छ। अहिले उक्त अस्पतालको आइसोलेसनमा ३० जना संक्रमित छन्। १६ जना आइसियु र ४ जना भेन्टिलेटरमा उपचारत छन्।

अस्पतालकी इन्चार्ज ज्योति पौडेलका अनुसार पछिल्लो समय लक्षणसहितका बिरामी थपिँदै गर्दा अनेक चुनौती पनि बढेका छन्। यो सामग्री संक्रमितहरूलाई निको पार्न त्यहाँ खटिएकामध्ये पाँच जना नर्सहरूले महामारीबीच गरिरहेको अनुभवकेन्द्रित छ।

सोफिया काफ्ले

साढे दुई वर्षको नर्सिङ अनुभवमा सबैभन्दा डरको समय नै यही हो। सुरुवाती चरणमा कोरोनाको निकै डर थियो। कोरोनाबारे सुन्‍नु र यसलाई नजिकबाट नियाल्नु फरक कुरा रहेछ। सुरुमा निकै डर लाग्थ्यो। कोरोना लाग्यो भने के गर्ने भन्‍ने सम्झँदा नै मेरो मुटु काँप्थ्यो।

तर, यो महामारीसँग लड्दै जाँदा डराएर भन्दा पनि आत्मबल बलियो बनाएर अघि बढ्न सकेमात्र जित सुनिश्‍चित रहेको बुझेकी छु। नर्सिङ पेशामा आवद्ध भएपछि जुनसुकै रोगसँग लड्नु हाम्रो नैतिक जिम्मेवारी हो। नैतिक जिम्मेवारीबाट हट्नु कायरता होला सायद!

तर, बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूले भोगिरहेका अपहेलनाका समाचार सुन्दा निकै दु:ख लाग्छ। यहाँ स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने समाजको खाँचो छ।

हामीले कार्यरत अस्पतालले हाम्रो जिम्मेवारी लिएको छ। अनि, बिरामीको उपचार गर्नु हाम्रो जिम्मेवारी हो। महामारीका बेला काम गर्न पक्कै सहज छैन। संक्रमितहरूको जीवन र भरोसा हामीले गर्ने सेवामा टिकेको छ।

प्रतिमा न्यौपाने

५ वर्षको नर्सिङ अनुभव छ। जेठदेखि प्रादेशिक अस्पतालमा कार्यरत छु। त्यसअघि अर्को अस्पतालमा आबद्ध थिएँ। जब कोभिड अस्पताल सञ्‍चालनमा आयो : यहाँ काम गर्छु भनेर मैले अभिभावकहरूलाई पनि भनेको थिइनँ। यहाँ काम गर्छु भन्‍ने थाहा पाएपछि आमाबुवा निकै रुनुभयो। 'नजाउ' पनि भन्नुभयो। 

सानैदेखि नर्स भएर सेवा गर्ने उद्देश्य थियो। अन्य समय पनि बिरामी उपचार गरिएको हो। तर, कोरोनाको महामारीमा मलाई कोभिड अस्पताल आउनु नै थियो। किनकी हामीले प्राप्त गरेको योग्यता र अनुभव नै संकटका बेला बिरामीहरूको उपचारमा काम आउनुपर्छ। 

अरू साथीहरूलाई जस्तै मलाई सुरुमा निकै डर लाग्यो। तर, डरको पनि आयु हुँदोरहेछ। त्यसैले अहिले भाग्यो। सायद रोगसँग अभ्यस्त भएर पनि होला। सुरुमा काम गर्न अफ्ठ्यारो थियो। अहिले अरु स्टाफ पनि थपिनुभएको छ।

यो बीचमा धेरै चाडपर्व आए। दुई महिनादेखि लगातार अस्पतालमै बसेको म अस्ति तीजमा पीसीआर रिपोर्ट लिएर घर गएको थिएँ। तर, आफ्नै घर र समाजमा पनि आफू संक्रमणमुक्त रहेको रिपोर्ट हातमा देखाउँदै जानुपर्दा निकै पीडा भएको थियो। एकजना जिम्मेवार स्वास्थ्यकर्मी आफैं संक्रमित भए समुदायमा आउँदैनन्‌, स्वस्थ्य रहेकाले नै आएका हुन्‌ भन्ने कुरा समाजले बुझिरहेको छैन। 

अलि पहिले एक जना कोरोना संक्रमित बिरामी बुबाले भन्‍नुभयो, 'हामी त कोरोनामुक्त भएर छिट्टै घर फर्किने छौं, तपाईंहरु चाहिँ सुरक्षित हुनु है नानी! धेरै बिरामीको जीवन तपाईंहरुको हातमा छ।' बुबाले त्यसो भन्नुभएपछि निकै उत्साह र ऊर्जा थपियो। त्यो दिनदेखि मलाई अस्पताल आफ्नै घर झैं लाग्‍न थालेको छ। समाजले बुझोस्‌ : आफ्नै जीवन जोखिममा पारेर काम गरिरहेका हामीलाई उत्प्रेरणा र हौसला दिनुहोस्‌, न कि आफ्नै घरमा जाँदा पनि अपराधीलाई जस्तो व्यवहार !

आष्मा थापा

अस्पताल जीवन गुमाउने र जीवनको आशा बोकेर फर्किने थलो हो। म ५ वर्षदेखि यसको साक्षी छु। चैतबाट अस्पताल आएपछि कोरोनाको अनुभव अन्य नर्सको भन्दा फरक छैन। तर, पिपिई लगाएर काम गर्नुको अनुभव पक्कै पनि सहज छैन।

कोरोनाका बिरामी हेर्न खटिएपछि हामीले त्यो कर्तव्य पूरा गर्नु नै पर्छ। सामान्यतया पिपिई लगाएपछि केही पनि गर्न पाइँदैन। म ड्युटीका लागि पिपिई लगाउने समयभन्दा केही घण्टा अगाडि नै खाना खाइसक्छु।

पिपिई लगाएपछि सबैकुरा बन्द हुन्छ। बाथरुम जान पनि सकस हुने भएकोले पानी पनि कम खानुपर्ने बाध्यता हुन्छ। कहिलेकाही साथीहरु र आवश्यक पर्दा ७ देखि ८ सम्म लगाउनुपर्ने हुन्छ

 यो ज्यादै सकसको विषय हो। हामीले बिरामीको उपचारका क्रममा यो संघर्ष गर्नुपर्छ। मेरो सुझाव आमजनतालाई के भने कम्तिमा आफू सुरक्षित हुने अभ्यास गर्नुस्। कुनै पनि रोगलाई खेलाँची नगर्नुस्।

अस्पतालमा कोरोनाका बिरामीले ज्यान गुमाएको दृश्य देख्नुपर्दा पीडा त हुन्छ । तर, नियति अरुले भोग्न नपरोस् भन्‍ने मेरो कामना हो। समाजले बुझेको छ। तर, बुझेर पनि नबुझे झै गरिदिन्छ। सुरक्षाका मापदण्ड अपनाउने भए सायद अस्पतालहरू भरिने सम्भावना कम हुने थिए।

चिना गाहा

वैशाखबाट अस्पतालमा आएपछि जेठको १४ गते कोरोनाको पहिलो केश देखेको हुँ। नर्सिङ पेशामा आबद्ध भएपछि रोगसँग लड्नु सामान्य कुरा हो। २ वर्षको नर्सिङमा आवद्ध भएका कारण मेरो हकमा पनि यो सामान्य नै हो।

​स्वास्थ्यकर्मीलाई समाजले अनेक पीडा दिएको समाचार सुन्दै आएकी छु। समाजले रोगलाई बुझेको छैन। जबसम्म रोगलाई पूर्णरुपले बुझ्दैन। त्यस्ता घटना भइरहन्छन्। तर, घरमा बुबा आमाको पूर्ण सहयोग भयो भने समाजले गर्ने व्यवहारले पीडाबोध महसुस हुँदैन।

यहाँ आएपछि कोरोनाका बिरामीलाई उपचारको तालिम पाएको थिएँ। तालिम पाउनु अघिसम्म डर थियो। तालिम लिएपछि आत्मबल थप मजबुत भयो।कोरोनाका बिरामीसँग उठबस पक्कै सहज काम होइन। तर, लक्षण नभएका व्यक्तिहरु समान्य नै लाग्छन्।

कोरोना रोग हो, सुरक्षित भएर आफ्नो ख्याल गर्न सके निको होइन्छ।

जेनिसा राना

 जब अस्पतलामा लक्षणसहितका बिरामीहरु थपिन थाले, तब डर थपिँदै गयो। उपचारमा खटिने व्यक्ती भएपनि डर भने लागिहाल्दो रहेछ। कतिपय बिरामीहरूमा लक्षण नदेखिँदा उहाँहरु आफूलाई कोरोनाको बिरामी मान्‍नु नै हुन्‍न।

दिनहरू उहाँहरुको हेरचाहमा नै बित्ने गर्छन्। यो बेला परिवार र आफन्तको खासै याद पनि आउने रहेनछ। अस्पतालले दिएको जिम्मेवारी बिरामीको हेरचाह हो। यही नै अहिलेलाई हाम्रा लागि सबथोक हो सायद।

नयाँ थपिने र निको हुने बिरामीहरुको बीचमा म/हामी छौं। स्वास्थ्यकर्मीको हिसाबले बिरामी निको भएर घर जाँदा नै धेरै खुसी मिल्ने गर्दो रहेछ।

तर, कहिलेकाहीँ उपचार गरेर सबै कुरा ठीकठाक भइरहेका व्यक्तिले पनि प्राण त्याग्दा असाध्य पीडा हुन्छ। अहिले अस्पतालका बिरामीको हेरचाह हामीले र हाम्रो हेरचाह अस्पतालले गरिरहेकाले संकटबीच काम गर्दा फरक महसुस भएको छैन।

यद्यपि अस्पतालमै हाम्रो समय बितिरहँदा कोरोना संकट छिटो हटेर फेरि नयाँ संसारको कल्पना भने गरिरहेकी छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.