बढी प्रभावित कास्की र नवलपरासीपूर्व, प्रभाव शून्य मुस्ताङ

|

पर्वत : पछिल्ला ७ दिनको अवस्था हेर्दा गण्डकी प्रदेशमा आज कोरोना संक्रमण दर र डिस्चार्ज हुने दरमा बढी अन्तर देखिएको छ। ११ जिल्ला रहेको प्रदेशका विभिन्न जिल्लामा गरी पछिल्ला ७ दिनमा मात्र ३ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सोही अवधिमा कोरोना जितेर डिस्चार्ज भएकाको संख्या ८५ छ। भदौ १३ गते २९ जनामा संक्रमण पुष्टि हुँदा ४ जना कोरोनामुक्त भएका थिए। साताको सबैभन्दा सुखद् दिन भदौ १८ गते बन्यो। जुन दिन ३८ जनामा संक्रमणको पुष्टि हुँदा ५४ जनाले कोरोनालाई जितेका थिए। 

थपिएका सङ्क्रमितको संख्यालाई निको भएकाको सङ्ख्याले जितेको सोही दिन बन्यो। साताको दुःखद दिन भदौ १९ अर्थात आज बन्यो। आज ९१ जनामा संक्रमण पुष्टि हुँदा ७ जना मात्र कोरोनामुक्त भएका छन्। 

भदौ १४ मा १ जनालाई निको र ४३ जनामा सङ्क्रमण, भदौ १५ मा ३ जनालाई निको र २८ जनामा सङ्क्रमण, भदौ १६ मा १० जनालाई निको र ४५ जनामा सङ्क्रमण, भदौ १७ मा ६ जनालाई निको र ६३ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा निर्देशक नवराज शर्माले बताए।

कुन जिल्लाको अवस्था के?

गण्डकीमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार साँझसम्मको तथ्याङ्कमा त्यहाँका कुल ५ सय ३१ जनामा सङ्क्रमणको पुष्टि भएको छ। तीमध्येका ३ सय ६५ जनाले सङ्क्रमणलाई जितेका छन् भने १ सय ६४ जनाको आइसोलेसनमा उपचार चलिरहेको छ। नवलपरासी (पूर्व) मा अहिलेसम्म सङ्क्रमितमध्ये २ जनाको मृत्यु भएको छ।

सबैभन्दा कम प्रभावित जिल्ला भने मुस्ताङ रहेको छ। काठमाडाैंबाट मुस्ताङ पुगेका एक वृद्धमा केही समय पहिले सङ्क्रमणको पुष्टि भएको भए पनि उनी निको भएपछि डिस्चार्ज भइसकेका छन्। कोरोना शून्य अवस्थामा रहेको मुस्ताङलाई यही अवस्थामा राखिरहन डिसिसिएमसीको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाकामा आवागमनलाई निकै कडाइ गरिरहेको छ।

सङ्क्रमित २ जनाको मृत्यु भएको स्याङ्जा जिल्लामा शुक्रवारसम्म ३ सय १३ जनामा सङ्क्रमणको पुष्टि भएको छ। तीमध्ये ३ सय ८ जनालाई निको भएको छ भने ३ जनाको आइसोलेसनमा उपचार चलिरहेको छ।

सङ्क्रमितको कुल सङ्ख्या र मृत्युका आधारमा नवलपरासी (पूर्व) प्रभावित भए पनि सक्रिय सङ्क्रमितको सङ्ख्याका आधारमा कास्की जिल्ला प्रभावित छ। हालसम्म ४ सय ४ जनामा सङ्क्रमणको पुष्टि भएको कास्कीमा ५ जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये २ सय २५ जनाले कोरोनालाई जितेका छन् भने १ सय ७३ जना आइसोलेसनमा रहेका छन्।

सङ्क्रमितको कुल सङ्ख्या २ सय ९९ रहेको बागलुङमा २ सय ७२ जनाले कोरोनालाई जितेका छन् भने २६ जना आइसोलेसनमा रहेका छन्। बागलुङमा कोरोना सङ्क्रमण रहेको अवस्थामा एक युवकको मृत्यु भएको छ। यस्तै ३ जनाको मृत्यु भएको तनहुँमा सङ्क्रमितको कुल सङ्ख्या २ सय ८३ रहेको छ भने निको हुनेको सङ्ख्या २ सय १० र आइसोलेसनमा बस्नेको सङ्ख्या ७० रहेको छ।

पछिल्ला केही दिनयता लमजुङमा सङ्क्रमितहरु थपिने क्रम बढेको छ। त्यहाँका २ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएकोमा १ सय २० जनालाई निको भएको छ भने १ सय २४ जना आइसोलेसनमा रहेका छन्। ३ जनाको मृत्यु भएको गोरखामा आइसोलेसनमा ४० जना छन् भने १ सय २० जनालाई निको भएको छ। त्यहाँका कुल १ सय ६३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो।

बागलुङमा सङ्क्रमणको अवस्था केही बढी रहेको भए पनि सिमाना जोडिएका पर्वत र म्याग्दीको अवस्था अहिलेसम्म नियन्त्रित अवस्थामा छ। ५० जनामा सङ्क्रमणको पुष्टि भएको म्याग्दीका ४८ जनालाई निको भएको छ भने आइसोलेसनमा १ जना रहेका छन्। त्यहाँका एक नाबालकको उपचार क्रममा काठमाडाैंमा मृत्यु भएको थियो।

कुल १ सय ९ जनामा सङ्क्रमण रहेको पाइएको पर्वतका १ सय ३ जनाले कोरोनालाई जितेका छन्। अब ६ जना मात्रै आइसोलेसनमा छन्। हिमालपारिको जिल्ला मनाङमा ६ जनामा सङ्क्रमणको पुष्टि भएकोमा १ जनालाई  निको भएको छ भने आइसोलेसनमा ५ जना छन्।

यस्तो छ अन्य अवस्था

कुल सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ३ रहेको गण्डकीमा १ हजार ७ सय ७३ जनालाई निको भएको छ। शुक्रवार साँझसम्म १८ जनाको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको छ भने सक्रिय केसको सङ्ख्या ६ सय १२ रहेको छ। निको हुने दर ७३.७८ प्रतिशत रहेकोमा सक्रिय केस दर २५.४६ प्रतिशत रहेको छ। यस्तै ० दशमलव ७४ प्रतिशत मृत्युदर रहेको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रको प्रयोगशाला गरी २ ठाउँबाट पिसिआर परीक्षण हुने गरेको गण्डकीमा नतिजा आउन बाँकी रहेका स्वाबको सङ्ख्या शून्य रहेको छ। हालसम्म ५० हजार ३ सय ३१ नमुनाको परीक्षण गरिसकिएको छ। प्रदेशमा ५ सय ९४ जना क्वारेन्टाइनमा बसिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.