|

पर्वत : कास्कीबाट पर्वत जिल्ला छिर्ने नाका डिमुवामा रहेको ट्राफिक चेक पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम थापाले सडकमा गुडिरहेका सवारीका चालकलाई नमस्कार गर्दै थिए।

सवारीको जाँच गर्नु परेमा वा कागजपत्र माग्नुपरेमा उनले पहिले चालकलाई नमस्कार गर्दै नम्र भाषामा कागजात माग्छन्, काम सकिएपछि पुनः नमस्कार गर्दै गन्तव्यमा कुशलतापूर्वक पुग्न शुभकामना दिन्छन्। 

रेसम जस्तै गण्डकी प्रदेशका ११ जिल्लामा कार्यरत ट्राफिक प्रहरीले अहिले सवारी चालकहरूसँग कुरा गर्नु परेमा नमस्कार गर्दै कुरा थालनी गर्छन्। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ‘नमस्कार अभियान’ सुरु गरेपछि ट्राफिक प्रहरीको शैलीमा परिवर्तन आएको हो।

‘हामीले सवारी चालक वा त्यहाँ रहेका यात्रीसँग पनि केही कुरा जाँचबुझका लागि सोध्नु परेमा पहिले नमस्कार गरेर नम्र भाषामा कुरा गर्नुपर्छ।’ डिमुवामा रहेका ट्राफिक प्रहरी थापाले भने, ‘अरूलाई नमस्कार गर्दा कोही पनि सानो हुँदैन। त्यसले त झन् नम्र स्वभाव र व्यवहारको सभ्यता देखाउँछ।’ 

ट्राफिक प्रहरी, सवारी चालक र आम नागरिकको बीचमा सौहार्दपूर्ण अभिवृद्धि गर्न भदौ १४ गतेबाट यो अभियान थालिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

‘तीनै पक्षको बीचमा सौहार्द अभिवृद्धि गर्ने, ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्ट, सभ्य र हार्दिकतालाई अनुशरण गर्दै ट्राफिक सेवालाई सभ्य र सुसंस्कृत बनाउन यो अभियान थालिएको हो,’ उनले भने, ‘अभियानअन्तर्गत चेक पोस्ट, सीमा नाका, कार्यालयमा बसेर सेवा दिने ट्राफिक प्रहरी र कर्मचारीले सेवाग्राहीलाई आदरयुक्त सम्बोधन गर्नेछन्।’ 

कुराकानीको सुरुवातमा नमस्कारसहित नम्र र मिठो बोलीमा कुराकानी गर्ने ट्राफिक प्रहरीले कानुन अनुसार सेवाग्राहीसँगको काम सम्पादन गर्नेछन्। काम सकिएपछि कारबाही नै गर्नुपर्ने भएमा पनि अन्त्यमा धन्यवाद सहित सेवाग्राहीलाई पुन नमस्कार गर्नुपर्ने नियम राखिएको छ।

यो अभियानलाई कार्यान्वयन गरी सफल बनाउन तल्ला पदमा कार्यरत ट्राफिक प्रहरीलाई भन्दा सिनियर प्रहरी अधिकृतहरूबाट भनिए अनुसारका कुराहरू पालना गर्न सुरु गर्ने रणनीति बनाइएको पनि प्रवक्ता कार्की बताउँछन्। 

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रूपमा गत भदौ ११ गतेबाट प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल आएका छन्। उनी आएपछि नै यो अभियानको सुरुवात भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.