|

पर्वत : देशका कतिपय ठाउँमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सङ्क्रमितमाथि नै दुर्व्यवहार गरिएका घट्नाहरु बाहिर आइरहेका छन्।

आइसोलेसनमा बसेर गरिएको उपचारपछि निको भएर गाउँमा पुगेकाहरूसँग पनि गाउँलेहरू तर्किने र परिवार नै तर्सिने गरेका समाचार आइरहेको बेलामा कोरोना जितेर गाउँमा पुगेका पर्वतका  सङ्क्रमितले भने समुदाय र परिवारले देखाएको माया र सद्भावले झनै आत्मविश्वास बढाएको बताएका छन्।

पर्वतमा हालसम्म समुदायस्तरमा सङ्क्रमण पुगेको छैन। रोजगारीको सिलसिलामा भारतमा रहेर लकडाउनको अवधिमा जिल्लामा फर्किएका धेरैमा सङ्क्रमणको पुष्टि भयो।

उनीहरू सरासर आफ्नो स्थानीय तहमा जान भने पाएनन्। जिल्लामा भित्रिँदा साथ सदरमुकाम कुस्मामा बनाइएका पुलिङ क्वारेन्टाईनमा १४ दिन बस्नुपर्ने, सङ्क्रमण पुष्टि भए आइसोलेसनमा र रिपोर्ट नेगेटिभ आएमा स्थानीय तहको क्वारेनटाइनमा फेरि १४ दिन बस्नुपर्ने नियम पर्वतमा छ। यही कारण सङ्क्रमितहरूको सम्पर्कमा न कोही पुग्न पाए, न त परीक्षणको रिपोर्ट बिना कोही गाउँमा छिर्न पाए।

यही अवस्थाका कारण पनि सङ्क्रमितहरू गाउँमा पुग्दा पर्वतका विभिन्न ठाउँका स्थानीयले सङ्क्रमितलाई नराम्रो व्यवहार नगरेको पाइएको छ। सङ्क्रमणलाई जितेर गाउँमा पुगेकाहरूलाई सम्पर्क गर्दा उनीहरूले गाउँ र परिवारको मायाले झनै आफूलाई बलियो बनाइदिएको प्रतिक्रिया दिएका छन्।

‘पहिलो पटक सङ्क्रमण भएको खबर सुन्दा त मै डराएको थिएँ। आइसोलेसनमा एउटा कोठामा एक्लै बस्ने होला लागेको थियो। तर त्यहाँ पुग्दा त समूहमा बस्न पाइयो। सङ्क्रमित भएर आएको हुँ भन्ने नै बिर्सियो।’

जिल्लाको फलेवास नगरपालिका १० कुर्घाका सेतु सुवेदीले भने, ‘गाउँमा जाँदा मलाई देखेर अरू आडैमा नपर्ने होलान् भन्ने लागेको थियो। तर गाउँले र परिवार कसैले पनि उपेक्षा गरेनन्। ठिक भएकोमा बधाई दिन र भेट्न बरु घरमै आए।’ रहरले कोरोना लिएर आउने कोही पनि नभएकोले परिबन्धमा पर्दाको अवस्था बुझेर सङ्क्रमितलाई सकारात्मक व्यवहार गर्नुपर्छ भनी गाउँलेहरूले बताउँदा आफूलाई खुसी लागेको उनले बताए।

सोही ठाउँका २१ वर्षीय विनोद क्षेत्रीलाई फोन गरेर तपाईँको नाम समाचारमा गोप्य रहनेछ तपाईँको अनुभव बताउनुहोस् भन्दा उनले नाम गोप्य नराखी खुलेर आफूले जानेको कुरा बताइदिए अन्य सङ्क्रमितहरूलाई निको हुन सजिलो हुने बताए। ‘हामी बुझेका मान्छेले नाम लुकाउने होइन। बरु आइसोलेसनमा बस्दा आफूले भोगेको कुरा समाचारका माध्यमबाट बाँडेर अरूलाई बलियो हुन सिकाउन उपयुक्त हुन्छ।’ उनले भने, ‘समाजमा कुरा नबुझ्ने मान्छे १/२ जना त भाइ हाल्छन्, उनीहरूले गरेको व्यवहारलाई सिङ्गो गाउँलेले गरेको व्यवहारका रूपमा लिन हुँदैन।’

आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीले दिनहुँ फोन गरेर आफ्नो अवस्थाको बारेमा जानकारी लिँदा खुसी लागेको बताउँदै उनले सङ्क्रमणबाट जोगिन चिकित्सकले भने अनुसारका व्यवहार गर्न सुझाए।

सङ्क्रमणलाई जिते पनि गाउँमा गएर कसरी घुलमिल हुने भन्ने बढी चिन्तामा महाशिला गाउँपालिकाका २३ वर्षीय चन्द्रप्रसाद भट्टराई थिए। भारतबाट आएका उनी पर्वतमा सङ्क्रमणको पुष्टि भएकाको सुरुकै लटका व्यक्ति हुन्। सङ्क्रमणलाई जितेर असार ४ गते नै गाउँमा पुगेका उनलाई जिल्लाको सुरुकै सङ्क्रमित भएकोले अरूले फरक व्यवहार गर्न सक्ने शङ्का लागेको भए पनि त्यस्तो व्यवहार भने भोग्नु परेन।

‘म त सुरुकै सङ्क्रमित, म आउने बेलामा यहाँ कोरोनाको ठूलो त्रास थियो, बरु अहिले अवस्था सामान्य बनेको छ। गाउँमा पुग्दा अलिकति समय त डराएको जस्तो लाग्यो तर पछि, पहिले पहिले भारतबाट छुट्टीमा आउँदा जस्तो हुन्थ्यो त्यस्तै भयो।’ उनले भने, ‘बरु हामी सुरुकै भएका कारण गाउँमा बस्ने क्वारेनटाइन व्यवस्थित भइसकेका थिएनन्। शौचालय थिएन, पछि अन्यत्रै सारियो।’ गाउँमा पुगेपछि खाएको हरियो तरकारी, दूध र घ्यूले अहिले झनै बलियो बनेको उनले सुनाए।

पर्वतमा कतै पनि नराम्रो व्‍यवहार छैन

जिल्लाको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले नगरपालिका सङ्क्रमितहरू निको भएर गाउँमा पुगेपछि पनि उनीहरूको अवस्थाको बारेमा जानकारी लिने गरेको बताउँदै पर्वतका कुनै पनि स्थानीय तहमा नराम्रो व्यवहार भएको भनी खबर नआएको बताए।

‘हाम्रो जिल्लाका नागरिकले सङ्क्रमण जितेर गाउँ गएकाहरूप्रति गरेको व्यवहारले हाम्रो पहिचान नै देखाएको छ। तर देशका विभिन्न ठाउँमा सङ्क्रमित तथा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि भएका दुर्व्यवहार खेदजनक छन्।’ उनले भने, ‘कसैले पनि दुर्व्यवहार गर्छ भने त्यो चेतनशील प्राणी होइन। सङ्क्रमित, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सबैभन्दा बढी सम्मान हुनुपर्छ। अरूलाई होच्याउनेलाई कोरोना लाग्यो भने त्यसलाई के गर्ने नि? चिकित्सकले मर्न दिने?’

बाहिरबाट जिल्लामा भित्रिएकाहरूलाई एकद्धार नीति मार्फत सदरमुकाममा राखेर गरिएको परीक्षण र त्यसपछिको प्रक्रियाका कारण पर्वत जिल्लाका ७ ओटै स्थानीय तहको समुदायमा एक जनामा पनि सङ्क्रमण नरहेको भन्दै उनले खुसी प्रकट गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.