|

म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा रहेको ऐतिहाँसिक अन्नपूर्ण पुस्तकालय पाठक र मर्मत सम्हारको अवस्थामा जीर्ण बनेको छ।
कठोर पञ्चायती व्यवस्थाका विरुद्ध जनतालाई सचेत बनाउने र प्रजातन्त्र प्राप्तिका लागि उत्साहित गराउने उद्धेश्यले महायज्ञ लगाइ त्यवाट संकलन भएको धान र नगदले विभिन्न क्रान्ति र आध्यात्मिक पुस्तकहरु खरिद गरिएको सो पुस्तकालय अहिले भने वेवारिसे अवस्थामा पुगेको हो।

विसं २०२५ सालमा निकै चुनौतिका साथ सिडिओ कार्यालयमा दर्ता गरी स्थापना गरिएको पुस्तकालय अहिले मुसा र चमेरोको क्रिडास्थल बनेको ताकमका बुद्धिजीवि एवम् सक्रिय युवा गोपाल आचार्यले बताए।

आचार्यका अनुसार तत्कालीन समयमा स्थानीयवासीले राणा शासनको अन्त्य भएपछि पनि पञ्चायती व्यवस्थाले जनताका अधिकारहरु कुंठित गरेकोले जनतालाई सूचित गराई शिक्षाको ज्योति गाउँभरी फैलाउने उदेश्यले पुस्तकबाट सञ्चालन गरिएको थियो।

यसरी संचालन गरिएको पुस्तकालयलाई जिल्लाकै ठूलो र नमुना बनाउन भद्रकला सुबेदीले सञ्चालन गरेको महायज्ञमा संकलन भएको धान र नगदबाट विश्वभरका चर्चित पुस्तक सहित नेपाली राजनीति, सामाजिक सहित विभिन्न पक्षलाई समेटेका पुस्तकहरू राखिएको भएपनि अहिले धेरै पुस्तक चोरी भएका छन्।
तत्कालीन समयमा ठूलो रकम र जनशक्तिको प्रयोग गरी स्थापना गरिएको पुस्तकालय संरक्षण र यूवाहरूको सक्रियता नहुदाँ जीर्ण भएको म्याग्दीका पुराना साहित्यकार बृद्धिप्रसाद सुबेदीले बताए।

पुस्तकालय स्थापनापछि पञ्चायकालमा समेत क्रान्ति र विभिन्न राजनीतिक सम्बन्धित पुस्तकहरु जफत गरिएको थियो भने माओवादी जनयूद्धको क्रममा माओवादी नेताहरूले क्रान्तिकारी सम्बन्धित पुस्तकहरु लैजाने र पुस्तकालयमै पुगेर समेत पढ्ने गरेका सुवेदीले बताए।

मन परेका र बजारमा समेत नपाईने पुस्तकहरु पाठकले लगे पनि फिर्ता नगरेपछि विस्तारै पुस्तकको संख्या समेत घट्दै जान थालेको छ।
पुस्तकालयलाई नियमित बनाउन साहित्य र शैक्षिक क्षेत्रमा सक्रिय रहेका ताकमबासीहरुले चासो देखाएपनि त्यसलाई नियमित सञ्चालन गर्न स्रोत र जनशक्तिको समेत अभाव भएकाले सफल हुन सकेको छैन्। 

गाउँका बुढापाकाले फुर्सतको समयमा पुस्तकालयको प्रयोग गर्ने इच्छा जनाएपनि भवन जीर्ण हुनुका साथै त्यहाँ भित्र रहेका फर्निचर सहित पुस्तक राख्ने ¥याक समेत भाचिँएको अवस्थामा रहेकाले बृद्धबृद्धाहरूको चाहना समेत अधुरो रहेको छ।

यद्यपि नयाँ पुस्तकालय भवन निर्माणका लागि केही युवाहरु भने लागि परेका छन्। युवाहरुकै पहलमा गाउँपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेटको व्यवस्था समेत गर्ने प्रतिवद्धता जनाएपछि पुस्तकालयको जग भने राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.