|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले धमाधम विस्तार गरेका विभागलगायत सबै मनोनयन खारेज गर्न भन्दै संस्थापन इतरका नेताहरु एकजुट भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले १४ औँ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभागहरु विस्तार गरेको भन्दै उक्त विभागहरु खारेजीको माग राखेका हुन्। देउवाले अहिलेसम्म एकलौटी ढंगबाटै पार्टीका २० वटा विभाग विस्तार गरिसकेका छन्। 

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभाग विस्तार गरिसक्नुपर्ने उल्लेख छ। तर, देउवाले आफ्नो नियमित कार्यकाल सकिएर विधानअनुसार ६ महिना थप भएको समयमा विभाग गठन र शुभेच्छुक संस्थामा मनोनयन गरिरहेका छन्।

देउवाका यी कदमको प्रतिवाद गर्न शनिबार हालको संस्थापन (देउवा) इतरका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो। सो बैठकमा देउवालाई पछिल्लो समय विस्तार भएका विभाग खारेज गर्न दबाब दिने, नमाने घेर्ने र अनसन बस्‍ने निर्णय केन्द्रीय सदस्यहरूले गरेका छन्‌। 

सभापति देउवाले ४७ विभागमध्ये २० भन्दा बढीमा संयोजक, उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरिसकेका छन्। विभागमा बस्नेहरूको नाम दिन पौडेललाई आग्रह गरे पनि नदिएकोले विधानअनुसार नै विभाग गठन गरेको देउवाको दावी छ।

‘सभापतिले जसरी विधान मिचेर गइराख्नु भएको छ, त्यसको विरोधमा हामी एक भएका हौँ,’ बैठकमा सहभागी गुरुराज घिमिरेले भने, ‘उहाँ नसच्चिने हो भने विरोधका कार्यक्रमहरु पनि तय भएका छन्, हामी त्यसैअनुसार अघि बढ्छौं।’ अब फेरि देउवालाई एकपटक ध्यानाकर्षण गराउने, यति हुँदा पनि विभागमा गरिएका मनोनयन खारेजी र अरु गलत काम नसच्याउने हो भने दबाबका लागि घेराउ र अनसनसम्मको कार्यक्रम तय भएको उनले जानकारी दिए।​

पछिल्‍लो छलफलमा वरिष्ठ नेता पौडेल, पार्टी महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, धनराज गुरूङ, बद्री पाण्डे, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, कमला पन्त र जीवन परियारलगायतका नेता सहभागी थिए। 

यसअघिको बैठकमा सभापति देउवाले अहिलेसम्म विधान विपरीत के-कस्ता काम गरेका छन् भनेर विवरण उतार्ने जिम्मा केन्द्रीय सदस्यहरु घिमिरे, बद्री पाण्डे र जीवन परियारले पाएका थिए। शनिबारको बैठकमा उनीहरुले देउवाले विधान मिचेर के-के काम गरे, त्यो उल्लेख प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले विधान विपरीत विभाग गठन तथा मनोनयन गरेपछि अहिलेका सभापति देउवाले नै विरोध गरेका थिए। देउवा पक्षको विरोधपछि कोइरालाले ती विभाग र मनोनयन खारेज गरेका थिए।

तर, अहिले उनै देउवाले विधान विपरीत गठन र मनोनयन गरेपछि संस्थापन इतरले त्यसलाई खारेजीको माग गरेको हो।  संस्थापन इतर समूहले अहिले पनि मनोनयन जारी राखेकाले १४ औँ महाधिवेशन निष्पक्ष हुनेमा शंका गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.