विधान र निष्पक्ष निर्वाचनका मान्यताको पालना नगरे नैतिक बल गुम्छ

|

काठमाडाैं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथापूर्वमन्त्री महेश आचार्यले सभापति शेरबहादुर देउवालाई पत्र पठाएर अहिले भइरहेका अनियमित र अवैधानिक काम रोक्न माग गरेका छन्। उनले आफ्नो पत्रमा पार्टी एकता नखल्बल्याउन आग्रह  गरेका छन्। 

महाधिवेशनको प्रक्रिया सुरु भएपछि  विधानले गर्न रोकेका काम, विभिन्न निकायको कार्यकालसम्बन्धी व्यवस्था र निष्पक्ष निर्वाचनका मान्यताको पालना हामीले आफ्नै पार्टीभित्र गर्न सकेनौं भने हामीले वर्तमान कम्युनिष्ट सरकारको स्वेच्छाचारीविरुद्ध जनता परिचालन गर्ने नैतिक बल गुमाउने पनि उल्लेख गरेका छन्। इतिहास, विधान र भावना समेटेर पत्र लेखिएको छ।

पत्रको पूर्ण व्यहोरा जस्ताको त्यस्तै

आदरणीय सभापतिजी,
तपाईंबाट गरिएका विभाग गठन लगायतका पार्टीको समायोजन,क्रियाशील सदस्यता सम्बन्धी पछिल्ला केहि निर्णयहरु पार्टी विधान विपरीत र गम्भीर विवाद सिर्जना गर्ने ढंगका देखिए। यिनलाई सच्याएर सम्पुर्ण पार्टीपङ्क्ति एकताबद्ध गराएर महाधिवेशनतर्फ लैजाने दायित्व निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु।

१ हाम्रो विधानको दफा ६० ले पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग / समिति / विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिना भित्र गठन गरि सक्नु पर्नेछ भन्ने समयको बाध्यकारी व्यवस्था गरेको छ। आफ्नो ४ बर्षको कार्यकालमा गठन नगरिएको विभाग विशेष परिस्थिति देखाइ महाधिवेशन सम्पन्न गर्न थपिएको एक बर्षको पनि आधा अवधि गुजारेर महाधिवेशनको मुखमा गठन गर्नु विधानको भावना र मर्मको गम्भीर उलंघन हो।

२ विधानको दफा ३७(१) ञ ले विभागले प्रत्येक ६ महिनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्ने छ भनेको छ। ६ महिनाको कार्यकाल पनि बाँकी नहुने अहिले गठन गरिएका विभागले महाधिवेशनको तीब्र चटारोमा कहिले आफ्ना कार्ययोजना बनाउलान्, कहिले देशको समसामयिक मुद्दामा छलफल गर्लान्, कहिले आफ्ना सुझाव र प्रगति प्रतिवेदन केन्द्रीय समितिलाई देलान् अनि म्याद गुज्रिएको केन्द्रीय समितिले कहिले सुझाव कार्यान्वयन गर्ला ?

यो कुराको हेक्का नराखी गठन हुने विभागले संगठन बलियो हैन, पार्टीभित्र विवाद र गुटबन्दीलाई उत्कर्षमा पुर्याउँछ। हाम्रो पार्टीका हज्जारौं साथीलाई र तिनको प्रतिभालाई गुटबन्दीको स्वार्थ र दलदलमा नचाहँदा नचाहँदै फसाउनेछ।

३ विधानको दफा २४(३)ले विभागको कामको समीक्षा गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाई दिएको छ। तर दुर्भाग्यबस सभापतिजी ले कार्य सम्पादन समिति समेत बनाउन सक्नु भएको छैन। विभाग गठन हुने तर विभागको कामको समीक्षा गर्ने अधिकार पाएको समिति नहुने अवस्था के संगठन बलियो बनाउने संकल्प मान्न सकिन्छ र ?

४ विधानको दफा ४(१०)ञ ले महाधिवेशनको ६ महिना अघि क्रियाशील सदस्यता पाएको र नवीकरण गरेको सदस्यले मात्र महाधिवेशनमा मतदान र उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ। विधानको दफा ५०(६)मा पनि महाधिवेशन भन्दा ६ महिना अघि नै क्रियाशील सदस्यता र नवीकरण गरेकाले मात्र उम्मेदवार हुन पाउने कुरा संगै महाधिवेशनको ६ महिना अघि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम बन्द गर्ने व्यवस्था गरेको छ। यी दुबै व्यवस्था द्वारा विधानले पार्टी पदाधिकारीलाई महाधिवेशनको मुखमा आफु खुसी सदस्यता वितरण र नवीकरण गरी महाधिवेशनलाई प्रभावित पार्न सक्ने सम्भावनाबाट रोकेको छ।

विधानमा यो व्यवस्था त्यसै आएको होइन पुराना अनुभवका कारणबाट आएको हो। यसरी विधानले महाधिवेशनको मुखमा क्रियाशील वितरण र नवीकरण जस्ता संगठनका आधारभूत कार्यलाई समेत रोकेर महाधिवेशनको निष्पक्षता प्रत्याभूत गर्न चाहेको मर्म विपरीत तोकिएको काम गर्ने समय र सम्भावना नै नभएको अवस्थामा हज्जारौंको संख्यामा साथीहरुलाई विभाग र समितिमा गरिएको नियुक्तिको वैधता र औचित्य कसरी पुष्टि हुन सक्छ ?

आदरणीय सभापतिजी,

यस बाहेक जुन महाधिवेशनले तपाईंलाई सभापतिमा निर्वाचित गर्यो त्यही महाधिवेशनले निर्वाचित गरेको महामन्त्री, कोषाध्यक्ष र ठुलो संख्यामा केन्द्रीय सदस्य असहमत हुदा हुदै गरिएको निर्णयको साङ्गठानिक महत्व र प्रभावकारिता कति होला ?

५ हाम्रो विधानको दफा ५१(१)ले महाधिवेशनमा निर्वाचित सभापतिले ४० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था छ। तर विचारणीय कुरा के छ भने यहि दफाले यस्ता प्रतिनिधिको कार्यकाल नया महाधिवेशनको प्रक्रिया प्रारम्भ भए पछि स्वत: समाप्त हुने व्यवस्था गरेको छ। यो प्रावधानको आशय पनि सभापतिद्वारा मनोनित प्रतिनिधिबाट निर्वाचन प्रभावित नहोस भन्ने नै हो।

६ पार्टी विधानको दफा ५०(८) का अनुसार पार्टीको कुनै पनि तहको सभापतिको मृत्यु भई वा राजीनामाका कारण पद रिक्त भएमा कार्यवाहक सभापति बनाउने र ६ महिना भित्र अधिवेशन द्वारा सभापति चयन गर्ने विधि छ। तर महाधिवेशनको प्रक्रिया प्रारम्भ भएको अवस्थामा भने सभापतिको चुनाव समेत गर्नु पर्दैन,गर्न मिल्दैन र नयाँ महाधिवेशनले नै सभापति चुन्छ।

आदरणीय सभापतिजी,

महाधिवेशनको प्रक्रिया सुरु भए पछि माथी उल्लेखित विधानले गर्न रोकेका काम, विभिन्न निकायको कार्यकाल सम्वन्धी व्यवस्था र निष्पक्ष निर्वाचनका मान्यताहरुको पालना हामीले आफ्नै पार्टी भित्र गर्न सकेनौं भने हामीले वर्तमान कम्युनिष्ट सरकारको स्वेच्छाचारीताका विरुध्द जनता परिचालन गर्ने नैतिक बल गुमाउनेछोें। महाधिवेशनमा दिशाहिनता , चरम गुटबन्दी र अनुशासनहिनताले प्रश्रय पायो भने संघर्ष, समर्पण र शहादतबाट बनेको हाम्रो पार्टी र साथीहरुको विशाल पङ्क्तिका सामु हामी अपराधी प्रमाणित हुनेछौं। सभापतिजी मैले भरसक आफूलाई र आफ्नो विवेकलाई कहिल्यै गुटको बन्दी बनाइन, अपमान र उपेक्षा मञ्जुर गरे तर सधैं पार्टी हित र एकताको पक्षमा काम गरे।

यहि नैतिक बलमा उभिएर सार्वजनिक रुपमा तपाईलाई सम्बोधन गर्दै यो पत्र लेख्दैछु।यो पत्र लेख्न बस्दा तपाई प्रति मेरो कुनै दुर्भावना छैन केवल हाम्रो पार्टीको भविष्य,भूमिका र एकता प्रतिको मेरो चिन्ता अभिव्यक्त छ जुन पार्टी बनाउन तपाई स्वयंको जीवन र जवानी समर्पित रह्यो।
जय नेपाल !

महेश आचार्य
केन्द्रीय सदस्य / नेपाली कांग्रेस
२१ भाद्र २०७७

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.