|

ललितपुर : रातो मत्स्येन्द्रनाथको रज आज (आइतबार) दिउँसो तानिएको छ। रथ राखिएको ललितपुरको पुल्चोकदेखि केही पर सोह्रखुट्टे पाटीसम्म तानिएको हो। परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ। 

तर यस वर्ष कोभिड १९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए। महर्जनले कोभिड-१९ महामारीका कारण रथ यात्रामा परिवर्तन गरिएको बताए। 

रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्‍याई अलिकति तानेर टुङ्ग्याउने योजना अनुसार तानिएको महर्जनले बताए। उनले भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्गमती लगिने कार्यक्रम तय भइसकेको बताए। त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उनले बताए।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन। रथ तान्‍न ४ सय ३४ जना सहभागी भएका थिए। जसमध्ये १ सय ६० जना रथ तान्‍न, १ सय २४ जना स्वयंसेवक, करिब ३० जना बाजागाजा बनाउने र ज्यापू समाजका पदाधिकारीसहित भेला भएका थिए। 

प्रहरीले कार्यक्रमस्थललाई चारैतर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो। गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना रथ तान्‍न थालेपछि विवाद भएको थियो। यस्तै रथ यात्रा गर्न शुक्रबार क्षमा पूजासमेत गरिएको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.