भन्छिन् : मेरो एउटा अरुण बिते पनि अरु अरुण र अरुणिमा विद्यालयमा छन्

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका १ पाङकी स्वस्थानी रिजालको दैनिकी हिजोआज अलि फरक बनेको छ। उमेरले ४७ वर्ष पुगेकी उनी लकडाउन पूर्वसम्म पोखरा बागलुङ राजमार्ग स्थित सहस्रधारामा रहेको मोडेल डी बटुवा रिसोर्ट सञ्चालन गरिरहेकी हुन्थिन्। आजभोलि उनको समय बालबालिकाहरूलाई निःशुल्क रूपमा पढाउँदैमा बितिरहेको छ।

शिक्षाप्रेमी उनले लकडाउन सुरु भएपछि रिसोर्टमा एक जना कामदारलाई कुरुवामा राखेर श्रीमानसहित पुरानो घर रहेको गाउँ पाङ पुगिन्। स्थानीय पाङ धैरेनी माविको विद्यालय व्यवस्थापन समितिको पुनर्गठनको बेला भएको थियो, त्यही बेला उनको काँधमा विद्यालय अध्यक्षको जिम्मेवारी आयो।  

प्रमाणपत्र तह सम्मको अध्ययन पूरा गरेकी उनलाई पहिले पनि बालबालिकालाई जम्मा पारेर पढाउन मन लाग्थ्यो, तर विद्यालयसँग जोडिएको कुनै साइनो नभएका कारण कसैले केही भन्ने हुन कि भन्ने लाग्यो। भदौ १ गते व्यवस्थापन समितिको अध्यक्ष नै बनेपछि भने ४ गतेबाट उनले गाउँमा रहेका श्रमिकका बालबालिकासहित, अन्य सबै विद्यार्थीलाई बिहान र बेलुकामा सिकाइ सहजीकरण गर्न थालिन्। अब त उनको घरमा सामुदायिक विद्यालयका मात्रै होइन, निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउन थालेका छन्।

‘पहिले पहिले पनि पढाउन मन लाग्थ्यो, तर विद्यालयसँग साइनो नजोडिएका कारण कसैले केही भन्ने हुन् कि भन्ने लाग्थ्यो। अहिले अध्यक्ष भएपछि विद्यालयका लागि केही गर्छु भनेर लागेकी छु,’ उनले भनिन्, ‘बिहान बेलुका १५÷१६ जना विद्यार्थीहरू जम्मा हुन्छन्। दूरी कायम राखेर पढाउने गरेकी छु।’ उनले विशेष त श्रमिक परिवारका बालबालिकालाई लक्ष्यमा राखेकी छिन्। उनीहरूका बाबुआमाले घरमा धेरै ध्यान दिन नपाउने भएका कारण उनीहरूलाई बढी हेरचाह चाहिने रिजालको भनाइ छ। उनको घरमा सदरमुकाम कुस्मा र गाउँकै निजी विद्यालयमा अध्ययन गर्दै आएका बालबालिका भने अध्ययनका लागि जाने गरेका छन्। विद्यार्थी सबैका साझा र देशका सम्पत्ति भएकाले निजी र सामुदायिक नभनी घरमा आउने जति सबैलाई उनले पढाउने गरेकी छन्। 

स्व अरुणको सम्झनामा अक्षयकोष

आफ्नो ठूलो छोरा अरुण १६ वर्षको हुँदा बितेपछि स्वस्थानीलाई झड्का लाग्यो। विद्यालयको राम्रो र असल विद्यार्थीको रूपमा मानिने अरुण गुमाउँदाको पीडा भुल्न पनि उनलाई विद्याथीरूसँगै खेलिरहन मन लाग्छ। 

जुन ठाउँका जुन विद्यालयमा पढ्ने विद्यार्थी भए पनि सबैमा अरुणको झल्को लाग्ने गरेपछि उनले आफू अहिले अध्यक्ष बनेको पाङ धैरेनी माविमा केही वर्ष अगाडि नै अक्षयकोषको स्थापना गरेकी गरेकी थिइन्। एक त पहिलेबाट नै बालबालिका मन पराउने स्वभाव त्यसमाथि स्व। छोराको सम्झनाले सताउँदा उनलाई बालबालिकालाई आफैले भए पनि पढ्न बोलाउँछिन्। 

‘उनीहरू पढ्न नआए घरमा फोन गरेर पठाइदिन भन्छु, बच्चाहरू पनि खुसी हुँदै आउँछन्। मेरो घरमा मलाई कुरेर बसिरहेका हुन्छन्,’ छोरा सम्झिँदै भनिन्, ‘मेरो एउटा अरुण बिते पनि अरू अरुण र अरुणिमा विद्यालयमा छन्। मैले बच्चाहरूलाई माया मान्दा स्वर्गीय भएको अरुणले पनि माया पाउँछ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.