|

धादिङ : सिस्नेखोलादेखि काठमाडौंको थानकोटको थानकोट नजिकै जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ। 

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम सुरु भएको छ। दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने छ।

प्रमुख थापाका अनुसार निर्माण कार्यमा कुनै बाधा अवरोध नआए अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी सुरुङको प्वाल खोलिने छ। निर्माणाधीन सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटरको हुनेछ। 

सडक विभाग अन्तर्गतको सुरुङमार्ग आयोजनाका अनुसार गत वर्षको तिहारपछि काम हुनुपर्नेमा जग्गा अधिग्रहण, साइट क्लियर, मुआब्जा विवाद, कोरोना त्रास, विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण बढ्न सकेको  थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते शिलान्यास गरेको सो सुरुङ मार्ग साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने बताइएको छ। सुरुङ मार्ग निर्माणका लागि जापानको ‘हाजमा अन्डो कर्पोरेसन’ले नेपाल सरकारसँग १३ अर्ब ५० करोड लागतमा ठेक्का सम्झौता गरेको छ। 

सम्झौता अनुसार कम्पनीले काम सुरु गरेको ४२ महिनाभित्र काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सर्त थियो। सुरुङ मार्गको धादिङतर्फको अधिग्रहण भएका जग्गामा मुआब्जा विवाद भएको थियो।

व्यक्तिका नाममा नभएका तर लामो समयदेखि भोगचलन हुँदै आएका, गुठी र लालपुर्जा नभएका जग्गाको समस्या विषयमा विवाद निस्किएको थियो। सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार धादिङको धुनिबेसी नगरपालिकाभित्र कुल १ सय ९ रोपनी जग्गा अधिग्रहण गरिएको छ। 

महाशाखा प्रमुख थापा अनुसार सतुङगलबाट सुरुङमार्गको प्रवेश मार्गसम्म पुग्न दुईवटा फ्लाई ओभर, सात वटा साना पुल र ११ वटा बक्स कल्भर्ट पनि निर्माण हुने छ। त्यसैगरी सिस्नेखोलातिर ४४ रोपनीमा सर्भिसिङ स्टेसन, चमेना गृह, फ्युल स्टेसन, स्थानीय उत्पादित सामग्री प्रदर्शनीस्थल लगायतका संरचना निर्माण हुनेछन्। 
    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.