|

म्याग्दी : गए राती परेको भीषण वर्षापछि बाढी आउँदा म्याग्दीको सदरमुकाम बेनीबजारको हिलाम्मे भएको छ।

बजारदेखि माथि रहेको बेनी पाखापानी सडकको अर्थुङ्गे आँपारुख खण्डबाट आएको बाढी बेनीबजारको क्याम्पस चोक,अस्पताल चोक र बसपार्क क्षेत्रमा पसेपछि यहाँको जनजीवन प्रभावित भएको छ। क्याम्पस चोकका एक दर्जनभन्दा धेरै घर र सडकमा लेदो थुप्रिएको छ।​​

सहज निकास नपाउँदा बाढी बजार क्षेत्रमा पसेको हो। पानी निकासका लागि बनाइएको साँघुरो नाली फुट्दा बजार क्षेत्र जलमग्न भएको छ।

ग्रामिण कृषि सडक विस्तार र स्तरोन्‍नतिमा उचित ध्यान नदिने, सडक खण्ड च्यापेर घर बनाउने र नाली फराकिलो नभएको जस्ता कारणले ठूलो बर्खायाम सुरु हुनासाथ बजारका यी क्षेत्रमा बाढीले वितण्डा मच्चाउने गरेको छ। ठूलो पानी पर्दा यहाँका वासिन्दाहरुलाई जाग्राम बसेर रात बिताउनुपर्ने बाध्यता छ।

केही घरहरुमा बाढी पसेको छ। माथिल्लो क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ। त्यहाँबाट जथाभावी फालिएको ढुङ्गा र माटो पानीसँगै बगेर बजारमा क्षति पुर्‍याउने गरेको स्थानीय ताराप्रसाद श्रेष्ठले बताए। ढललाई व्यवस्थित बनाई जथाभावी बनाइएका संरचनाहरु नै फेरबदल गर्नुपर्ने स्थानीयले माग गरेका छन्‌।

बेनीबजारको प्रवेशद्वार कालीपुल बसपार्कमा लेदो थुप्रिएको छ। अस्पताल चोकबाट जामुनाखर्क जोड्ने कच्ची सडकको विस्तारसँगै बस्ती माथिको पाखोमा रहेको खोल्साबाट बाढी आएपछि क्याम्पस चोकमा असर गरेको स्थानीयले बताएका छन्।

लेदो र ढुङ्गासहितको बाढीले बसपार्कमा पार्किङ गरिएका सवारी साधनमा क्षति पुर्‍याएको छ। बेनीबजारको क्याम्पस चोकमा विसं २०६३, २०६९, २०७२ र २०७३ सालमा पनि ठूलो बाढी आएर क्षति पुर्‍याएको थियो।

​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.