|

मनाङ : हिमालपारिको जिल्ला मनाङमा करारका एक जना डाक्टरको भरमा चलेको छ। जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ। 

एक जना डाक्टरले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्न त्यसै त समस्या हुन्छ भने मनाङमा कोभिड १९ को संक्रमणको अवस्थामा अझ समस्या थपिएको छ। 

कोरोना संक्रमणको संख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो। तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउनसमेत सकिएको छैन। जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारी मात्रै छन्। 

मनाङमा भएका दक्ष जनशक्तिका रुपमा एक जना डाक्टरलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो।

मनाङ जिल्लाभर अस्पतालमा कार्यरत डाक्टर एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए। 

‘कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो बिरामी हुन्छ, सो अनुसार उपचार गर्नुपर्ने हुन्छ, तर यहाँको अस्पतालमा एक जना मात्रै डाक्टर छन्, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ,’ प्रजिअ गिरी भने, ‘जिल्लाको एक मात्र डाक्टर बिदामा बस्नुपर्ने वा बिरामी भइहाले अझ बढी समस्या थपिन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ।’

अहिले एक जना मात्र डाक्टर अधिकारीले दैनिकी बिरामी र कोरोना संक्रमितलाई सेवा दिन व्यस्त छन्। दुई जना डाक्टरको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका डाक्टर एक जना पनि छैनन्। 

अहिले जिल्लाको अस्पतालबाट सेवा करारका एक जना डाक्टरले मात्रै दिदै आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए। 

उनका अनुसार ४ जना कर्मचारी कार्यरत छन् तर करारका मात्रै। जिल्लामा २ जना डाक्टर, २ स्टाफ नर्स, अहेव, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा करारका डाक्टरले मात्रै स्वास्थ्य सेवा दिइरहेका छन्। 

स्वास्थ्यका प्राय कर्मचारी करारका छन्। उनका अनुसार हाल जिल्ला अस्पतालमा सबै गरी ४ कर्मचारी कार्यरत छन्। डाक्टर सन्तोष अधिकारी, नर्स बिना पौडेल, सिनियर अहेव रहमत अन्सारी र ल्याब टेक्निसियन प्रकाश रोक्का छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.