|

तिमी गाई पालिरहेछौ,
ऊ सर्प पालिरहेछ,

तिमीलाई एक मुठा घाँस दिएर 
उसले एक पाथी दूध लैजानेछ।

यता तिम्रा बच्चाहरु भोकभोकै मर्नेछन्,
उता सर्पहरु मोटाउने छन्।
तिमी उसलाई दूध दिलाउँदैछौ ,
उसले तिमीलाई विष पिलाउनेछ।

तिम्रो भगवानले तिमीलाई सिध्याउने छ,
किन कि, तिमी रहर पालिरहेछौ,
ऊ सर्प पालिरहेछ।

तिमी जबसम्म शान्त छौ, ठीक छौ।
तिमी जब चलमलाउन थाल्छौ, 
उसले  तिमीकहाँ सर्प पठाउने छ।
तिम्रो श्रम-पसिना चुसिरहने छ।
तिमी नतमस्तक रैती झैँ सहिरहने छौ।
ऊ तिम्रा सन्ततिलाई पनि यसरी नै सताउने छ।
तिम्रो भगवानले तिमीलाई सिध्याउने छ।

तिमी रगत बगाएर वीर बनिरहेछौ, 
ऊ तिम्रो रगत पिएर अमर बनिरहेछ,
तिम्रा झुप्राहरू उजाडेर महल बनाइरहेछ।
तिमी भोक र तिर्खाले तड्पिरहँदा,
तिम्रो भाग खोसेर आफ्नो जिउ पोसिरहेछ,
तिमी गुजारा जुटाउने  चक्करमा परदेश भासिरहँदा, 
ऊ साँपहरुलाई आहारा जुटाइरहेछ।

जब तिमी आफ्नो न्यायको निम्ति
आवाज उठाउनेछौ, 
ऊ तिम्रो हातमा बन्दुक थमाउनेछ,
अनि आफ्नै भाइबन्धुहरूसँग लडाउने छ।
तिम्रो भगवानले तिमीलाई सिध्याउने छ।

हे प्राणीजनहरु! तिमीहरु किन यस्तो गरिरहेछौ?
आफ्नो कर्म आफैंले  किन बर्बाद पारिरहेछौ?
कति निदाउँछौ ? कहिले जाग्छौ?
तिम्रा भगवानसँग उसले बाँडेका 
ठूला ठूला सपनाहरुको 
हिसाब कहिले माग्छौ?
ऊ त राहतको नाममा केबल एउटा बोरा पठाउनेवाला छ, 
तिम्रो रेखदेख गर्न एउटा सर्प खटाउने छ,
अनि तिम्रो अबोध समर्पणको फाइदा उठाउने छ,
तिम्रो भगवानले तिमीलाई सिध्याउने छ।

जाग ! जाग ! जाग ! हे जनहरु !! जाग !
भाग ! भाग ! भाग ! भजनबाट भाग !
नत्र...
तिम्रो भगवानले तिमीलाई सिध्याउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.