संक्रमण फैलिन नदिन वडा नै सिल
संक्रमण फैलिन नदिन वडा नै सिल
काभ्रे : एउटै टोलमा २५ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन्। धुलिखेल नगरपालिका–९ स्थित काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै हालसम्म धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९१ र जिल्लाभरीमा ३६३ पुगेको छ।
ज्वरो आएर उनीहरुमा देखिएको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएपछि पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए।
‘कोरोना संक्रमित हुनेमा ९ वर्षीय बच्चादेखि ८० वर्षसम्मका बृद्धसमेत रहेका छन्’, उनले भने, ‘संक्रमितको संख्या बढेसँगै संक्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले स्थानीय सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रम अघि बढाउने गरी छलफलको तयारी भइरहेको छ।’
धुलिखेल नगरपालिका मेयर अशोक कुमार व्याञ्जुका अनुसार संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसन लैजाने तयारी भइरहेको छ।
त्यस्तै नगरपालिकाले थप संक्रमण फैलिन नदिन बाँकी सबैको परीक्षणका साथसाथै छलफल र डिसइन्फेक्सन छर्किने भएको छ। यसअघि पनि उक्त ठाउँमा केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो। एउटै टोलमा २५ जना संक्रमित पुष्टि भएसँगै सो वडा सिल गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।