|

काठमाडौं : थानकोट नाका हुँदै काठमाडौं उपत्यकामा दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन्। उपत्यकाको जीवन मार्ग पनि भनिने यो सडक निकै घुमाउरो र साँघुरो हुँदा आवागमन गर्न लामो समय लाग्ने र दुर्घटना हुने गरेको छ।

उपत्यका प्रवेश गर्ने विन्दुमै कायम रहेको यो समस्या हटाउन अहिले थानकोट-नागढुङ्गा-सिस्‍नेखोला सुरुङमार्ग निर्माण सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कार्तिक २४ गते नै करिब २ किलोमिटर ७ सय मिटर लम्बाइ रहने यो सुरुङमार्ग निर्माण शिलान्यास गरेका थिए। तर मुआब्जा विवाद र विस्फोटक पदार्थ व्यवस्थापनमा समय लागेकाले शिलान्यास भएको १० महिनापछि सुरुङमार्ग निर्माण थालिएको हो। 

अहिले सुरुङका दुवै प्रवेश विन्दुबाट निर्माण थालिएको छ। १२ मिटर चौडाइ र ८ मिटर उचाई रहने सुरुङ एक वर्षभित्र खनिसक्ने लक्ष्य राखिएको छ। उपत्यकाबाट बाहिरिँदा यो सुरुङ नागढुङ्गाको सिस्ने खोलाबाट सुरु हुनेछ भने बस्नेत छापमा पुगेर साविककै सडकमा जोडिनेछ।

यहाँ सुरुङ निर्माण गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। नेपाल सरकारले पनि करिब ६ अर्ब रुपैयाँ खर्च गर्नेछ। यो सुरुङ मार्गलाई सरकारले मुलुककै स्वप्न परियोजना (ड्रिम प्रोजेक्ट) उपमा दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.