राजीतिक दबाबकै आधारमा  भुक्तानी दिन सक्दैनौँ : लेखा प्रमुख

|

सिमरा : जितपुर सिमरा उपमहानगरले गत आर्थिक वर्ष अन्तमा कार्यादेश दिएर उपभोक्ता समितिमार्फत हतारमा काम भएका १ सय २३ वटा ‘बर्खे’ योजनाको १४ करोड भुक्तानी  दिन बाँकी पाइएको छ।

नगरपालिकाले जेठ १५ पछि कार्यदेश दिएका वडागत, नगरपालिकाअन्‍तर्गत र प्रदेशको सशर्त अनुदानको रकमवाट भएका कामको  १४ करोड भुक्तान गर्न बाँकी रहेको पाइएको हो। नगरपालिकाले कोरोना कहर, लगातारको वर्षा र झरीकै बीचमा उपभोक्ता समिति गठन गरेर २४ वटै वडाहरूमा १ लाखदेखि १ करोडसम्मका योजनाहरु हतारहतारमा कार्यान्वयन गरेको थियो।

जसअन्‍तर्गत अधिकांश वडामा बाटो ढलान, नाली निर्माण, भवन निर्माण, मठ मन्दिर निर्माणलगायत काम भएको छ। उपभोक्ता समितिमार्फत भएका ती योजना छिटफुटबाहेक अधिकांशको अनुगमन भइसकेको योजना अनुगमन समिति संयोजक तथा उपप्रमुख सरस्वती चौधरीले जनाएकी छिन्।

‘केही योजनाहरुको अनुगमन बाँकी छ, उहाँहरूले काम सम्पन्न भएको निवेदनका आधारमा अनुगमनपश्चात् भुक्तानी प्रकिया अगाडि बढ्छ’ चौधरीले भनिन्। नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा कार्यनवयन भएका ‘बर्खे’ योजनाहरु मध्ये  सबैभन्दा धेै वडा नं १ मा १७ वटा योजनाहरुको  २ करोड ६६ लाख, वडा नं ५ मा ६ वटा योजनाहरुको  १ करोड ५९ लाख, वडा नं ७ मा ९ वटा योजनाहरुको १ करोड ३५ लाख  भुक्तानी हुन बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी छरामप्रसाद पौडेलले जनाएका छन्।  अन्य वडाको हकमा भने भुत्तानी दिनुपर्ने रकम १ करोडभन्दा कम  रहेको छ।

भुक्तानीको लागि नगरसभाले निर्णय गरिसकेको छ  भने अन्य कानुनी प्रकिया शुरु भइसकेको अधिकारीले जनाएका छन्। कानुनी रुपमा जेठ मसान्तभित्र योजना कार्यन्वयन भइसक्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि यसवर्ष कोरोनाको कारण देखाउँदै उपमहानगरले असार १५ पछि कार्यदेश दिएर साउन तेस्रो सातासम्म बर्खामा छाता ओढेरै भए पनि काम गराएको थियो।

‘उहाँहरुले गत आर्थिक वर्षको योजनाहरुको  भुक्तानी गत वर्ष नै गनुपर्थ्यो, अब अहिले आएर राजीतिक दबाबकै आधारमा हामीले भुक्तानी दिन सक्दैनौँ’ लेखाप्रमुख गौतमले भने, ‘यदि विधि विधान पुर्‍याएर काम भएको छ भने नियमविपरीत दबाब नदिए पनि भुक्तानी हुन्छ।’

गत आर्थिक वर्षमा प्रदेश-२ सरकारले जितपुर सिमराको लागि २ करोड सशर्त अनुदान दिएको थियो। सो बजेटरबाट नगरपालिकाले वडा नं १ र १४ मा बाटो ढलान, कालोपत्रे गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.