मेसिन जडान मात्र बाँकी, छिट्टै सञ्‍चालन गर्ने दाबी

|

बैतडी : बैतडीमा सञ्चालनमा आउने भनिएको कोरोना परीक्षण प्रयोगशाला निर्णय भएको ५ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले गत चैत १५ गते बैतडीसहित डोटी र कैलालीमा प्रयोगशाला स्थापनाको निर्णय गरेको थियो।

डोटी र कैलालीमा प्रयोगशाला सञ्चालनमा आएको भए पनि  बैतडीमा भने अझै पनि सञ्चालनमा आउन सकेको छैन। 

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययनसमेत गरेको थियो। ल्याब स्थापनाका लागि सम्भाव्यता अध्ययन भएको एक महिना बढी भइसके पनि प्रयोगशाला स्थापनाका लागि कुनै तयारी भएको छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रको टोलीले गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो।

यस्तै, गत साउन १६ गते  सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाको लागि निर्माण भइरहेको भौतिक संरचनाको अनुगमन गरेका थिए। गत साउन २१ मा प्रयोगशालाका लागि मेसिन जिल्ला भित्रिएको थियो। 

स्वाब संकलन गरी बाहिर

जिल्ला अस्पताल बैतडीमा  स्थापना हुने प्रयोगशाला स्थापना नहुँदा हाल  स्वाब संकलन गरी परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ।  मेसिन खरिद, भौतिक संरचना निर्माण र जनशक्ति पदपूर्ति गर्दा प्रयोगशाला सञ्चालनमा ढिदाई भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर  डम्बरजंग सिंहले बताए।

उनले भने, ‘सुरुमा मेसिन खरिदमै ढिलाई भयो, जनशक्ति पदपूर्ति र त्यपश्चात् कोरोना कहरका कारण गरिएको लकडाउनले भौतिक संरचना निर्माण प्रभावित भएकोले प्रयोगशाला सञ्चालनमा ढिलाइ भयो।’

छिट्टै सञ्‍चालनमा ल्‍याउने दाबी

प्रयोगशाला अबको केही दिनभित्रै आउने अस्पतालले जनाएको छ।  अबको १ हप्तामा प्रयोगशाला सञ्चालनमा ल्याउने गरी तयारी भएको  निमित्त प्रमुख डाक्टर  सिंहले बताए। उनले भने, ‘प्रयोगशाला स्थापनाका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम सम्पन्न सम्पन्न भएको छ, अबको १ हप्तामा प्रयोगशालाबाट परिक्षणको कार्य थालनी हुन्छ।’

भौतिक संरचनाको काम सम्पन्न भए पनि मेसिन जडानको काम बाँकी रहेको रहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ। मेसिन जडानका लागि प्राविधिक तथा बायोमेडिकल इन्जिनियर चाहिने हुँदा आवश्यक प्राविधिक बोलाएर केही दिनभित्रै मेसिन जडान हुने डाक्टर सिंहले बताए।

उनले भने, ‘प्रयोगशालामा आवश्यक पर्ने जनशक्तिलाई तालिमका लागि पठाएको र उनीहरु आउनेबित्तिकै मेसिन जडान हुने र त्यसपश्चात परीक्षण काम सुरु गर्छौं।’

प्रयोगशालाका लागि बिएमएलटी र सिएमएलटी  दुई/दुई जना र १ जना मेडिकल अधिकृतको पदपूर्ति भइसकेको छ। 

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर चेकजाँचका लागिसमेत सजिलो हुने विश्वास छ। साथै जिल्ला अस्पताल बैतडीको ५० शैय्‍याको भवन निर्माण कार्यसमेत जारी रहेकाले ल्याब स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

बैतडीमा हालसम्म ३ हजार ९ सय ९ जनाको पिसिआर परीक्षण गरिएकोमा ३७५ जनामा संक्रमण पुष्टि  भएको छ।  जसमध्ये हाल १३ जनामात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  बाँकी  ३६२ जना घर फर्किसकेका छन्। 

उनले भने, ‘घर फर्किनेमा अधिकांश पुनः परीक्षण नगरिएका रहेका छन्, उनीहरुलाई १४ दिनसम्म कुनै लक्षण नदेखिदाँ डिस्चार्ज गरेका हौं’ जिल्लामा गत जेठ ९ गते पहिलोपटक  एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.