|

सोलुखुम्बु : निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद पुनः चौथो पटक थप गरिएको छ। सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरि पहिलोपटक सम्झौता भएको आयोजनाले पुनः चौथो पटक म्याद थप गरेको हो।

सोलुखुम्बुमा उत्पादन भएको विद्युतलाई बाहिर लैजानको लागि १३२ केभी प्रशारण लाइन निर्माण गरिएको भए पनि विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ। सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा सबस्टेशन निर्माण भइसके पनि करिडोरको काम अझै सक्ने छाटकाँट छैन।

        सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भएपनि कोरोनाका कारण समस्या भएको भन्दै पुनः चौथो पटक डिसेम्बर ३१ अर्थात पुस १६ गते सम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमको भनाइ छ।

आयोजनाको काम गर्न समस्या नभए पनि कामदार ल्याउन समस्या भएको उनको भनाइ छ। भारतिय कामदार ल्याएर अहिले पनि काम भईरहेको भएपनि थप कामदार ल्याउन नसक्दा प्रभावित भएको भन्दै म्याद थपिएको समयमा समेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमले बताए। 

सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २८१ वटाको मात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ। अब २१ वटा टावर निर्माण गर्नुपर्ने भए पनि ५ वटामा मात्रै सुस्तगतिमा काम भईरहेको आयोजना प्रमुख गौतमले बताए। तिब्रगतिमा काम गर्न नसक्नुको मुख्य कारण कोरोना महामारीनै रहेको आयोजनाको दाबी छ।

यस्तै, ९० किलोमिटर दुरी रहेको करिडोरमा अहिले सम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ। लामो समय सामुदायिक बनको विवादले गर्दा बन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत खेर गइरहेको छ। अहिले ११ केभि प्रशारण लाइन मार्फत रुमजाटार सब स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएकोपनि अझै तेब्बर विद्युत खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ।

यस्तै, सोलुखोलामै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको समेत काम सुस्त गतिमा भइरहेको छ। सबस्टेशन निर्माण भए पनि करिडोरको काम सम्पन्न नहुँदा सुस्तगतिमा काम गर्नुपर्ने बाध्यता रहेको आयोजनाका जनसम्पर्क अधिकृत कविराज पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.