व्यवसायी र मजदुर भन्छन् : सरकारले सुनेन, भोकै मर्ने भइयो

|

काठमाडौं : लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान  सञ्चालनमा नआएको करिब ६ महिना हुन लागेको छ। चैत ११ देखि कोरोना भाइरसको त्रासले लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधनमा खिया लागिसकेको छ। साउन ७ मा लकडाउन खोलिए पनि त्यसयता जारी निषेधाज्ञाले सार्वजनिक यातायात र आन्तरिक उडान दुवै चल्ने मितिको अझै टुंगो छैन। 

मुलुकभर दिनप्रतिदिन कोरोना संक्रमण दर बढदै गएको छ। यातायात व्यवसायीले ग्यारेज र घरमा थन्क्याएर राखेका गाडीमा माकुराले जालो भरेको छ। व्यवसायीले अब बैंकको ऋणको किस्ता तिर्न नसक्ने बताउँदै आएका छन्। संक्रमितको संख्या बढिरहँदा सार्वजनिक लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा अन्योल झन् गहिरिएको छ। 

सरकारले अन्तरजिल्ला,लामो यातायातका साधन र असोज १ देखि सञ्चलन गर्न दिने निर्णय गरिसकेको छ। यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको थियो। 

आन्तरिक उडान लामो समयदेखि हुन सकेको छैन। सरकारले असोज १५ देखि स्वास्थ्य मापदण्ड पूरा गर्नेगरी आन्तरिक उडान खोल्ने तयारी गरिरहेको छ।

नेपालीहरूका मुख्य चाडपर्व नजिकै आइसकेको छ। काठमाडौं उपत्यकाबाट वर्षेनि दशैँ तिहारमा लाखौँ मानिस स्थल र हवाई मार्गबाट बाहिरिने गर्छन्। यसपालि सदाझैँ अवस्था छैन। उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएकोले जिल्ला प्रशासनले कार्यालयले नाकामा थप कडाइ गर्दै आएको छ।

'यातायात क्षेत्र धरापमा पर्‍यो'

नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन्। असोज १ गते देखि लामो र छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने वातावरण मिलाइ दिनको लागि आग्रह गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य ले बताए।

लामो समयदेखि सार्वजनिक यातायातका साधन थन्किएकाले काम गर्न नसक्ने अवस्थामा पुगिसकेको उनले जानकारी दिए।

'सरकारको तर्फबाट व्यवसायीलाई सहयोग नगरेमा व्यवसायीले सवारी साधन सडकमा आफै निकाल्छन्। यातायात क्षेत्रको व्यवसाय धरापमा परिसकेको छ,' उनले भने, 'पछिल्लो अवधिमा सरकारले पनि केही सहयोग गरेको छैन। आश्वासनले मात्रै केही हुँदैन। व्यवहारमा लागू हुनुपर्छ।'

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सरकार समक्ष व्यवसायीको मागलाई उचित ढंगले सम्बोधन हुने गरी प्रस्ताव लाने आश्वासन दिएको उनको भनाइ छ। व्यवसायीको पक्षमा केही निर्णय होला भन्ने आशा राखेको उनले बताए।

'दुई तीन दिनमा केही प्रतिक्रिया न आएमा व्यवसायीले छुट्टै निर्णय गर्छ,' उनले अगाडि थपे। सरकारले भाँडा घटाउन लाई आग्रह नगरेसम्म अहिले कायम गरिएको भाँडामा यातायात चलाउने उनले थाहाखबरलाई प्रस्ट पारे।

'सरकारले तोकेको भाडामा चलाउने'

मन्त्रिपरिषदबाट निर्णय भएमा यातायात व्यवस्था विभागले सवारी सञ्चालन गर्नलाई अनुमति दिने विभागका निर्देशक गोगन बहादुर हमाल बताउँछन्।

व्यवसायीहरु बारम्बार यातायात सञ्चालन गर्न दिने वातावरण बनाइ दिनलाई आग्रह गर्दै आएकोले सम्बन्धित ठाउँमा व्यवसायीको माग पुर्‍याएको उनले जानकारी दिए।

' व्यवसायीलाई संक्रमण नफैलियोस् भन्नको लागि निश्‍चित मापदण्ड बनाएर सञ्चालन गर्न भनिरहेका छौ,' उनले भने,' सरकारले तोकेको भाडामा यातायातको साधनहरु सञ्चालन हुन्छन। अहिलेको भाडादर कायम रहन्छ।'

'मजदुरको हक सुनिश्चितता गर्नुपर्छ'

४५ लाख गरी खाने मजदुरको हकलाई सरकार सुनिश्चिता गरिदिनुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई बताउँछन्। असोज १ गते लामो,छोटो,मध्यम तथा स्थानीय रुटका सवारीसाधनलाई जसरी चल्न दिनुपर्ने उनको भनाइ छ।

काठमाडौं उपत्यकामा जारी गरिएको १६ सिटभन्दा कम क्षमता भएको सवारी साधनलाई सञ्चालन रोक लगाइएको विषयमा उनले आपत्ति प्रकट गरे। २० वर्षे पुरानो सवारी साधनलाई नवीकरण गर्दा लाखौ मजदुरको रोजगार गुमेको उनले प्रस्ट पारे।

विदेशबाट आएका नेपाली नागरिकलाई घर सम्म पुर्‍याउँदा आर्थिक हिनामिना भएको विषयमा छानबिन गर्नलाई पनि सरकारसमक्ष आग्रह गरेको उनको भनाइ छ।

असोजको दोस्रो साता आन्तरिक उडान

आन्तरिक उडानको लागि सरकारले पूर्ण तयारी गरिसकेको पर्यटन तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-प्रवक्ता राजन पौडेलले बताउँछन्। उनका अनुसार सामाजिक भौतिक दूरी, स्यानिटाइजर र तथा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ। पहिलेदेखि तयारी अवस्थामा छ।

भेदौँ दोस्रो साता देखि उडान खोल्ने भनेपनि संक्रमणको दर बढेकाले पुनः मिति सरेको उनले बताए। असोजको दोस्रो सातादेखि उडान हुन सक्ने उनले बताए।

'स्वास्थ्य मापदण्ड अपनाएर विमानस्थलमा आन्तरिक उडान खुलाउने तयारी भइसकेको छ,' पौडेलले भने,' मुख्यतया पहाडी जिल्लालाई प्राथमिकता राखिएको छ। पोखरा, मनाङ र ताप्लेजुङमा उडान हुन सक्छ।' संक्रमणको दरको संख्या घटेमा तराईको जिल्लामा पनि उडान हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.