|

म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङमा २०२७ सालदेखि स्याउ फल्न थालेको हो। त्यसयताका केही वर्ष भरियामार्फत फाट्टफुट्ट शहरका फलफूल पसलहरुमा देख्दै खाउँखाउँ लाग्ने रसीलो स्याउ भेट्न थालेपछि आयातित कास्मिरी र चिनियाँ स्याउको दाँजोमा मुस्ताङी स्याउ ग्राहकको रोजाइमा पर्न थाल्यो।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म सडकमार्ग जोडिएपछि मुस्ताङी स्याउले देशका विभिन्न शहर बजारमा बजार पाउन थाल्यो। आफूले फलाएको स्याउ देशैभरी प्रसिद्ध भएपछि मुस्ताङी किसानहरुमा जाँगर पलायो। आम्दानी बढ्यो र स्याउ खेती विस्तारमा त्यहाँका किसान लागे।

अहिले मुस्ताङको विभिन्न ठाउँमा १२ सय हेक्टर क्षेत्रफलको जमिनमा स्याउ खेती गरिएको छ। स्याउको राजधानी भनेर चिनिने मुस्ताङको स्याउ अहिले शहर पस्ने तयारीमा छ। स्याउ खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङका स्याउ बगैँचामा पुगेर स्याउ टिप्दै छन्।

स्याउ पाक्न थालेपछि अहिले बजार पठाउने तयारीमा त्यहाँका किसानहरु लागिपरेका छन्। पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न स्थानमा उत्पादित स्याउ पाकेपछि किसानहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा जुटेका हुन्। स्याउ टिप्न र बजार लैजानेदेखि अन्य व्यवस्थापनको काममा भने यसपटक स्थानीय कामदार नै खट्नुपर्ने भएको छ। कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष मुस्ताङमा बाहिरी जिल्लाका मजदुरलाई स्याउ टिप्न रोक लगाइएको हो।

विगतमा स्याउ खरिद गर्ने व्यापारीहरुले बाहिरबाटै कामदार लगेर स्याउ टिप्ने गरे पनि यसवर्ष कोभिडको जोखिमलाई मध्यनजर गरी रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मुस्ताङको बैठकले मुस्ताङको स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले सिसिएमसीको वैठकमा स्याउ टिप्नका लागि जिल्ला बाहिरबाट कामदारहरु ल्याउन नपाइने निर्णय गरिएको बताइन्। उनका अनुसार स्याउको बगैंचा हेर्न र ठेक्का लिनका लागि भने एकजना मात्रै ठेकदार आउन पाउने हुँदा कोभिड–१९ को सबै सुरक्षा मापदण्डहरु पालना गर्नुपर्ने निर्णय समेत गरिएको छ। 

स्याउको मूल्यमा बृद्धि 

मुस्ताङमा उत्पादित स्वादिलो स्याउ भनेपछि नेपाली तथा विदेशी बजारमा खुब रुचाउने गरिन्छ। गत वर्षको तुलनामा केही कम फले पनि यस वर्ष स्याउको मूल्य बढी पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङले जनाएको छ। 

गत वर्ष मुस्ताङबाट ५ हजार ५२८ मेट्रिक टन स्याउ निर्यात भएको थियो। मुस्ताङमा गत वर्ष १२ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा घरपझोङ गाउँपालिकामा दुई हजार ६९४, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक हजार ३७०, थासाङ गाउँपालिकामा एक हजार ३६०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १०० र लोमान्थाङ गाउँपालिकामा तीन मेट्रिक टन स्याउ उत्पादन भएको परियोजना कार्यान्वयन इकाइको तथ्यांक छ। 

मुस्ताङमा यस वर्ष कुल १२ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा झण्डै पाँच सय हेक्टरको स्याउले उत्पादन दिने परियोजना कार्यान्वयन इकाइका नायव प्राविधिक सहायक यमुना लामाले बताइन्।

अहिले मुस्ताङको स्याउ खरिद गर्न विभिन्न जिल्लाबाट व्यापारीहरु मुस्ताङ आएर क्वारेन्टाइनमा बसेको हुँदा अबको केही समयमा नै स्याउ बजारमा जाने उनले जानकारी दिइन्। देशैभरी कोभिड १९ को संक्रमण हुने क्रम बढेपछि देशका विभिन्न स्थानबाट स्याउ खरिद गर्न आएका व्यापारीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको हो। 

पहिरोले रोक्यो, चाडपर्वले पर्खाए 

विगतका वर्षहरुमा तीजदेखि नै बजारमा पुग्ने मुस्ताङको स्याउ यस वर्ष भने बेनी–जोमसोम सडक अवरुद्ध हुनु, कोरोनाको जोखिमका कारण मानिसको चहलपहल नहुनु, दशैं तिहारलगायत चाडपर्व ढिलो परेका कारण स्याउ बजारीकरणमा ढिलाइ भएको हो। 

यसपटक हिउँदमा अत्यधिक हिउँ पर्नु र वर्षात्मा वर्षा भैरहेका कारण चिसो बढी भएर स्याउमा ढुसी लागेको हुँदा उत्पादनमा कमी आएको भए पनि गुणस्तरीय स्याउ बजार जाने मार्फाका किसान दिपक लालचनले बताए। बोटमै १०० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने ‘ए’ ग्रेडको स्याउलाई प्रतिकार्टुन २२ सय रुपैयाँ मूल्य तोकिएको उनले बताए।

बेनीहुँदै देशैभरी पुग्छ स्याउ 

मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बाग्लुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित स्वदेश तथा विदेशका बजारमा पुग्ने गरेको छ।

मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। जलवायु परिवर्तनका कारण पछिल्लो समय उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, घमीलगायत क्षेत्रमा समेत स्याउ उत्पादन हुन्छ। 

मार्फा र टुकुचेमा सबैभन्दा धेरै स्याउ फल्ने गरेको कृषि प्राविधिकहरुको भनाइ छ। मार्फालाई स्याउ उत्पादनको राजधानी समेत भनेर चिनिन्छ। समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गर्दछ। मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.