|

हेटौंडाः  मकवानपुर जिल्लामा बनेको कमाण्ड पोष्टको निर्णयहरू कार्यान्वय भएको देखिँदैन।  विभिन्न समयमा गरेको निर्णयहरु हेर्दा निर्णय बलियो र कठोर रुपमा गरेता पनि कार्यान्वयन फितलो देखिएको हो।

कमाण्ड पोष्टले कार्यान्वयन गर्न नसक्ने निर्णयहरु गरेको देखिन्छ। 

मकवानपुरमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तीव्रता दिन गत चैत १४मा कमाण्ड पोष्ट गठन भयो।  मकवानपुरका सर्वदलीय बैठकले विश्वव्यापी रुपमा देखिएको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कमाण्ड पोष्ट गठन गरेको हो।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतमा बसेको बैठकले कमाण्ड पोष्ट गठन गरेको हो। समितिमा जिल्ला समन्वय समितिका अधिकृत, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक, जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपेरीटेन्डेड र उद्योग वाणिज्यसंघका अध्यक्ष सदस्य रहेका छन्। बैठकले सबै सदस्यहरुलाई विशेष जिम्मेवारी समेत तोकिएका बताइएको छ।

हेटौंडामा दशैंको जस्तो भिड

हेटौंडामा शुक्रबारदेखि ३ बजेसम्मका लागि बजारहरु खोल्ने निर्णय भएसँगै बजारमा दशैंको झल्को देखिएको छ। बजारहरु अधिकांश खुलेका छन्। मानिसहरुको भिडभाड त्यस्तै बढेको छ। बजार आउनेहरुको हातमा ठूला झोलाहरु देखिन्छन्।

कपडा पसल, जुत्ता पसलदेखि फर्निचरसम्म घुइँचो छ।  मकवानपुरको सदरमुकाम हेटौंडा बजारबाट दुई चरणमा खुलेका छन्। कमाण्ड पोष्टको बैठकले हेटौंडा बजार दुईचरणमा खोल्ने निर्णय गरे तापनि बिहान खुलेका पसलहरू  दिउँसो पनि खुलिरहेका भेटिन्छन्। 

यसअघि बिहीबारसम्म बिहान ५ बजेबाट १० बजेसम्म बजार खुल्दै आएकोमा  शुक्रबारबाट बिहान र दिउँसो गरी २ समयमा मकवानपुरमा व्यवसायहरु खुलेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दाबी गरे।

उनले  बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय मात्रै खुलेको दाबी गरेका छन्। उनले भिड नहुने गरी बजार खुलेको बताए। उनले भने, ‘बिहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुलेका छन्  बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछन।‘ तर, खाद्यान्न पसलहरु ३ बजे सम्म खुलिरहेका छन्। 

जोर-बिजोर प्रणाली :  चेकिङ गर्दैन प्रहरी

कमाण्ड पोष्टले  निजी सवारीलाई जोर-बिजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ। यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागू हुने बताइएको छ।

तर, यसको हेटौंडाको मुख्यबजारमै कार्यान्वयन भएको पाइएको छैन। जसले गर्दा बजारमा भिड समेत बढेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही क्षेत्र भने अर्को सूचना नभएसम्म सञ्चालन नहुने प्रशासनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.