|

जाजरकोट : अघिल्लो वर्षको खाद्यान्न ढुवानी नहुँदा र यो आर्थिक वर्षको चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय निकायले छिटो हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न माग गरेका छन्।

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चिठी लेख्दै डोल्पो बुद्ध गाउँपालिकाले तत्काल हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न आग्रह गरेको हो।

उपल्लो डोल्पाको मरिम्ला र तिन्जीसम्म खाद्यान्न ढुवानी गर्न आग्रह गरिएको छ। स्थानीय उत्पादन आलु र उवामा सहल र असिनाले क्षति बनाएपछि समस्या परेको भन्दै तत्काल खाद्यान्नको व्यवस्थापन गर्न आग्रह गरिएको डोल्पो बुद्ध गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत भीमराज खड्काले जानकारी दिए।

गाउँ कार्यपालिका बैठकबाट माथिल्लो डोल्पामा भोकमरी सुरु भएको निष्कर्षसहित चामल ढुवानीको व्यवस्थापन गरिदिन माग गरिएको चिठी आपूर्ति मन्त्रीलाई लेखिएको छ। घोडा, खच्चड र आफैँले बोकेर लिएको अन्न रित्तिएपछि उपल्लो डोल्पामा  तीनवटा स्थानीय निकाय संकटमा परेको फोक्सुण्डो गाउँपलिका ४ का पसी गुरुङले बताए।

कोरोना भाइरसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा चामल पनि पुर्‍याउन नसक्दा खाद्यान्न आपूर्तीमा समस्या भएको थियो।

उपल्लो डोल्पामा असोज भित्र खाद्यान्न ढुवानी गर्न नसके भयाभह अवस्था आउन सक्ने शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए।

स्थानीयबासीले स्थानीय निकाय हुँदै जिल्लासम्म समस्याको बारेमा जानकारी गराएका छन्। उपल्लो डोल्पाका लागि निर्धारित गरिएको  चामल नपुग्दा सर्वसाधारणहरु हैरान भएका हुन्। आफ्नो उत्पादनले थोरै मात्र खाना पुग्ने र आयतित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारणहरु यो पटक भने थप समस्यामा परेको बताएका छन्।

‘माथिल्लो डोल्पाका तीन स्थानीय तहमध्ये केही ठाउँमा गहुँ उत्पादन हुन्छ भने धेरै ठाउँमा उवा र आलुको खेती गरिन्छ’ प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

केरुङ नाका बन्द भएपछि चामल ढुवानी रोकियो

उपल्लो डोल्पाको लागि काठमाडौंबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गर्ने गरिन्छ। कोरोनाको कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन। चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गर्दथ्यो। त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन।

डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा ३ स्थानीय निकाय छन्। 

माथिल्लो डोल्पा अन्तरगत पर्ने छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि सरकारी अनुदानको चामल पाएका छैनन्। तिन्जे विक्रीकेन्द्रबाट गाउँपालिकाका नागरिकले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुवानीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नपाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माथिल्लो डोल्पाको तिन्जे डिपोको लागि ४५ सय क्न्टिल चामल ढुवानीका लागि कोठा स्वीकृत गर्दै आएको छ।  माथिल्लो डोल्पाका लागि अघिल्लो आर्थिक वर्षमा ४हजार ५ सय क्विन्टल चामल ढुवानी भएन भने यस वर्ष पनि ३ हजार क्विन्टल चामल छुट्टयाएको छ। डोल्पा जिल्लामा १८ हजारको कोटा छ।

हाल दुनै शाखामा ६५९, जुफाल डिपोमा ७२१, काईगाउँ डिपोमा ८२१ र सर्मि डिपोमा २९० किलो चामल मौजदात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए।

असोजसम्म ढुवानी नभए हिमपातको अवरोध

अघिल्लो वर्षको चामल ढुवानी लिएको हिमाली ढुवानी सेवाले वातावरण अनुकूल भएमा तत्काल चामल ढुवानी गर्न सकिने बताएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए।

चीनको बाटो खुल्ला नभएसम्म चामल ढुवानीको विकल्प नभएको उनको भनाइ छ। सदरमुकाम दुनैबाट उपल्लो डोल्पामा प्रतिकेजी रु ५५ मा चामल ढुवानी गर्न व्यवसायी तयार भएपनि केन्द्रीय कार्यालयले ढुवानीको अनुमति नदिँदा स्थलमार्गबाट ढुवानी हुने कार्य रोकिएको छ। डोल्पाका सांसद धनबहादुर बुढाको हिमाली सेवाले स्थलमार्गबाट चामल लिने अनुमति दिए तत्काल लिन सकिने बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.