|

पर्वत : पर्वत सदरमुकाम कुश्माबाट गण्डकी प्रदेश राजधानी पोखरासम्मको दूरी ६७ किलोमिटर छ। यस अगाडि ठाउँ-ठाउँमा सडक भत्किएका कारण कालोपत्रे भएपनि ट्याक्सी हाँकेर पोखरा पुग्न बढीमा सवा घण्टा लाग्थ्यो। तर, अहिले सडक झनै बिग्रिएको छ। सवारीसाधन चढेर कुश्माबाट पोखरासम्म साढे २ घण्टासम्म लाग्ने गरेको छ।

सडकको अवस्था सन्तोषजनक हुँदा पोखराबाट कुस्मा आइपुग्न २ घण्टा लाग्‍ने गरेकोमा मालवाहक ट्रकलाई अहिले ४ घण्टासम्म लाग्ने गरेको छ। विभिन्न ठाउँमा सवारीसाधन फस्ने समस्याले घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेको चालकहरू बताउँछन्‌। 

कालोपत्रे गर्नका लागि तयारी अवस्थामा राखिएको सडक बर्खेझरीले बिग्रिएको छ। पानी जमेको सडकमा लगातार सवारीसाधन चलाइएपछि अहिले ठूला-ठूला खाडल बनेका छन्‌। जताततै खाडल परेका कारण कार र ट्याक्सीजस्ता होचा खालका र दुई पाङ्ग्रे सवारीसाधनमा क्षति पुग्‍ने गरेको ट्याक्सी चालक दुर्गा बस्यालले बताउँछन्‌।

‘यो बाटो बनाउन लागेदेखि अहिलेसम्म ३ पटक मेरो ट्याक्सीको च्यासिस नै गयो। सडकमा खाल्डा र ढुङ्गा छन्। त्यहीँ पानी भरिएको छ,’ उनले भने, ‘खाल्डा, डाँडा र ढुङ्गा नभएको ठाउँ नै छैन। जति जोगाएर चलाए पनि तल छोइहाल्छ।’ तत्कालै सडक कालोपत्रे नगरिए पनि सडकमा भएका खाडलहरू मात्रै पुरिदिए सवारी सञ्चालनमा सजिलो हुने बस्यालको भनाई छ।

खाद्यान्न सामग्री ओसार्ने ट्रकका चालक जीवन थापा मगरले मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको फेदीखोला आसपासका ठाउँमा सडकको हिलो र खाडलका कारण सवारी फस्दा घण्टौंसम्म बस्नुपरेको र एक पटक गाडीमा नै सुत्नुपरेको बताए। ‘साना सवारीसाधन त सराङकोटको बाटो भएर पनि पोखरा आउजाउ गर्छन्, ठुला ट्रकहरू त्यताबाट लैजान पाइँदैन। नाउडाँडाबाट फेदी हुँदै जानुपर्छ,’ उनले भने, ‘एकपटक पोखराबाट गुडेको ट्रक फसेको रहेछ। निकाल्न सकिएन, त्यहीँ जङ्गलमा गाडीभित्रै सुतेर रात कटाइयो।’

कोरोना सङ्क्रमणको यो अवस्था आउनुभन्दा पहिले सडकको काम धमाधम भएपनि लकडाउन यता मजदुरलाई सबैभन्दा बढी समस्या परेको छ। निर्माण सामग्री बोकेका सवारीहरू लकडाउनकै अवधिमा पनि सञ्चालनमा रहेका भएपनि कामदारहरू ल्याउन र पठाउन कठिनाइ परेको छ। काम रोकिएको र यही बेलामा वर्षा धेरै भएकोले पनि कालोपत्रे गर्ने तयारीमा पुग्न लागेको सडक बिग्रिएको लोकमार्ग अन्तर्गत पर्वतमा काम गरिरहेको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालको भनाई छ।

यही अवस्था कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले अब जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर काठमाडौंबाट सुपरभाइजर र मेकानिकल टिम बोलाउने तयारी भइरहेको उनले जानकारी दिए। साथै, करिब २० जना मजदुर पनि ल्याउन लागिएको उनको भनाई छ।

‘सुपरभाइजर, मेकानिकल टीम र २० जना मजदुर काठमाडौंबाट हिँड्ने तयारीमा छन्। तर पहिले उहाँहरूको पीसीआर रिपोर्ट चाहियो, त्यही पर्खिएका छौँ,’ भुसालले भने, ‘अब एक हप्तामा नै काम सुरु हुन्छ होला, तर सडकका खाल्डा पुर्न र सडकको स्तरोन्नति गर्न नै २० दिनजति समय लाग्ने देखिन्छ।’ निर्माण कम्पनीले असोजको १०/१२ गते तिरबाट कालोपत्रे गर्न थाल्ने र असोज महिनाभित्र सो काम सकेर कात्तिकबाट कालोपत्रे बाहेकका बाँकी रहेका काम गर्ने उनले जानकारी दिए।

तापक्रम बढी बेला असोजभित्रै कालोपत्रेको काम सक्ने तयारी थालिएको छ। असार मसान्तअघि नै कालोपत्रेको काम सक्ने लक्ष्य राखेर निर्माण कम्पनीले काम थालेपनि कोरोना कहरका कारण त्यो लक्ष्य टरेको छ।

लोकमार्गको पर्वतखण्ड अन्तर्गत रहेको करिब २४ किलोमिटर सडकलाई दुई लेनको बनाउने गरी निर्माण कार्य थालिएको छ। पर्वत सदरमुकाम कुस्मा बजार हुँदै बागलुङ जाने उक्त सडकको कुस्मा खण्डलाई ४ लेन फराकिलो बनाउन लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.